हत्या गरिएको महिलालाई निजकै श्रीमानले हत्या गरेको खुलासा
८ फागुन, महोत्तरी । गौशालामा हत्या गरिएको महिलालाई निजकै श्रीमानले हत्या गरेको प्रहरीको अनुसन्धानले खुलासा भएको छ।
गत मंगलबार रातिको समयमा दुई नाबालकलाई अलपत्र छाडेर मृत अवस्थामा भेटिएकी भारत सितामढी जिल्ला भैरवकोठी बस्ने राधा भनिने अफसना खातुनलाई उनकै श्रीमानले हत्या गरी फालिएको तथ्य महोत्तरी प्रहरीले पता लगाएको छ।
मृतकका श्रीमान भारत सितामढी घर भई सर्लाहीको मलंगवामा डेरा लिई बस्दै आएका ३७ वर्षीय अजय महतो कोइरीलाई गत फागुन ६ गते नेपाल भारत-सीमा नजिकबाट नियन्त्रणमा लिएको थियो।
प्रहरीले अजयलाई नियन्त्रणमा लिइ सोधपुछ गर्दा आफूले योजना अन्सार बच्चालाई अलपत्र छाडि श्रीमतीको हत्या गरिएको स्वीकार गरेका छन्।
मृतक महिलाका श्रीमान अजय महतोले गत फागुन ३ गतेका दिन मृतक महिलालाई मेला हेर्न जाने भनि निजको श्रीमान अजय महत्तो कोइरी र हालः फरार रहेका अर्का व्यक्ति समेतले विश्वास दिलाइ सर्लाहीको ईश्वरपुर १३ स्थित श्रीनगर आएका थिए।
प्रहरीले दिएको जानकारी अनुसार उनीहरु मृतक महिलाका दुई नाबालक छोराहरुलाई साथमा लिएर १६ सय रुपैँयामा टेम्पो रिजर्भ गरी मेला हेर्नका लागि आएका थिए।
टेम्पु फिर्ता गएपछि प्रमोद राउतले प्रदेश २-०२-००२ प ७९५७ नम्बरको मोटरसाइकलमा सोही स्थानसम्म आइ २ पटक गरी सबै जनालाई पालैपालो बाँके खोलाको ड्याम हुँदै महोत्तरीको गौशला नपा वडा १२ को निर्माणाधीन रेल्वे ट्रयाकमा पुर्याएको थियो।
महिलाका श्रीमान अजय र एक व्यक्तिले निज राधा भन्ने अफ्सना खातुनलाई सोही स्थानमा पर्ने करिब २ सय मिटर जति पश्चिमतर्फ रहेको वारदात स्थल सागरनाथ जंगलतर्फ लगिएको थियो।
यता प्रमोद राउतले मोटरसाइकलमा २ बच्चालाई सो स्थानबाट दक्षिण कान्तिबजारस्थित मैया योन्जनको होटलमा पुर्याई मेरो बच्चा हेरिदिनुस्, म चाउचाउ लिइ आउँछु भनेर हिँडेका थिए।
निज अजय महत्तो कोइरी र अर्का पुरूष व्यक्तिले निज मृतक महिलालाई जंगलमा लगि पछाडिबाट घाँटीमा सलले तीन फन्को बाँधी कसेर लडाइ कञ्चट र अनुहारमा जोडले लातले हानि मृतकको छातिमा समेत बेस्सरी थिची हत्या गरिएको पक्राउ परेकाहरुले प्रहरीसमक्ष बयान दिएका हुन।
महिलाको हत्या गरेपछि सो ठाउँबाट १० मिटर पर जंगलको झाडी नजिकै फाली दुई सय मिटर पूर्व गई सडकको चोकमा प्रमोद राउतलाई भेटर तीनै जना प्रमोद राउतको मोटरसाइकलमा बसी सर्लाही जिल्लाको फुलजोर श्रीनगर हुँदै पुनः मलगंवातर्फ फर्केका थिए।
प्रहरीले अनुसन्धानको क्रममा मृतक राधाको अजय महतोसँग २ वर्ष अगाडि चिनजान भएको थियो। अजय भारतमा गई घर निर्माण गर्ने पेटी ठेकेदारको रुपमा कार्यरत थिए भने मृतक महिला ज्याला मजदुरीको काम गर्दै आएकी थिइन्। सोही क्रममा अजयसँग प्रेम सम्बन्ध स्थापित भएको थियो।
दुई छोराकी आमा रहेकी मृतकको यसभन्दा पहिले भारतको उत्तर प्रदेशमा विवाह भएको थियो। करिब दुई वर्ष अगाडि सम्बन्ध बिग्री निज मृतकले पहिलो श्रीमानलाई छाडी दुई बच्चासहित आफ्नो माइतीघर भारतको सीतामढी, भैरवकोठी, मेहसौल टोलमा बस्दै आएकी थिइन्।
महिलासँग विवाह गरेर अजयले आफ्नो घर लगेपछि खातुनलाई गाँउ समाजले अस्वीकार गरेका थिए। गाँउमा पञ्चायती बसी भारू २५ हजार क्षतिपूर्ति तिर्न लगाएर राधा भन्ने अफ्सना खातुनलाई दिएर छुट्टिन लगाइएको थियो। समाजले ती जरिवानाको रकमबाट भोज खुवाएका थिए।
सहमति भएको करिब १ हप्तापछि निज अफ्सना खातुनले उक्त सहमति नमानेर पुनः अजयसँग बस्न आएपछि उनीहरु छोराहरुलाई लिएर विगत ९ महिनादेखि सर्लाही जिल्लाको मंलगवा न.पा.वडा न.९ मा कोठा भाडा लिई सँगै बस्दै आएकी थिइन्।
पछि गर्भवती अवस्थामा रहेकी महिलाले श्रीमानलाई आर्थिकरुपमा तनाव दिने, कोट म्यारिज गर भन्ने, बच्चा जन्मिएपछि अंश र अधिकार जसरी पनि लिन्छु भनि मानसिक तनाव दिने, अंश र अधिकार नदिए जबरजस्ती करणीमा पुलिस केस गर्छु भनि धाक धम्की दिई लगातार बार्गेनिङ गर्दै आएको मृतकका श्रीमान अजयले प्रहरीसमक्ष बयान दिएका छन्।
तनावमा रहँदै आएका अजयले सँगै काम गर्ने अर्क एक जना पुरूष र प्रमोद राउतसँगको सल्लाहअनुसार राधालाई हत्या गरिने योजना बनाएको थियो।
नभन्दै मेला हेर्ने बहानामा महिलालाई हत्या गरिएको प्रहरीको अनुसन्धानले खुलासा भएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी प्रकाश विष्टले पत्रकारसमक्ष बताएका हुन्।
अनुसन्धानकै क्रममा घटनामा संलग्न मध्येका जिल्ला सर्लाही हरिपूर्वा न.पा.वडा न.९ घर भई हालः ऐ.मलंगवा न.पा.वडा न.९ का बर्ष ३४ को प्रमोद राउतलाई मलंगवाबाटै पक्राउ गरी प्रहरीले अनुसन्धान गरिएको थियो।
पक्राउ परेका दुवै प्रतिवादीहरू उपर ‘कर्तव्य ज्यान’ शीर्षकमा सम्मानित महोत्तरी जिल्ला अदालत, जलेश्वरबाट म्याद लिई इलाका प्रहरी कार्यालय गौशाला, महोत्तरीबाट थप अनुसन्धान भइरहेको डीएसपी विष्टले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्