हत्याको घटनाले जिल्लामा त्रास सिर्जना
झापा, २५ असोज (रासस) : जिल्लामा मासु व्यवसायी इन्द्रकुमार मगरको हत्या घटनापछि त्रास सिर्जना भएको छ ।
अर्जुनधारा नगरपालिका–६ का ५० वर्षीय मगरको आइतबार राति मासु बेचिरहेको अवस्थामा हत्या भएको प्रहरीले जनाएको छ ।
बङ्गुर फ्रेस हाउस चलाउँदै आउनुभएका उहाँको घाटी र हातमा धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताउनुभयो ।
बडादसैंकै बीचमा मगर हत्याको घटनाले जिल्लामा थप त्रास सिर्जना भएको छ । परिवारले उहाँको साथमा रु दुई लाख रकम भएको जनाएको छ ।
परिवारका अनुसार उहाँले सोही दिन मात्र दुईवटा बङ्गुरको मासुसमेत बिक्री गर्नुभएको थियो । सोही पैसा लुट्न उहाँको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
घटनाबारे तालिमप्राप्त कुकुर ल्याएर थप अनुसन्धान भइरहेको प्रवक्ता थापाको भनाइ छ । –––
प्रतिक्रिया दिनुहोस्