स्थापना दिवसमा नेपाल तरुण दलको देशभर सामाजिक कार्यक्रम, मन्दिर सरसफाइदेखि रक्तदानसम्म
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले आफ्नो ७४ औँ स्थापना दिवसको अवसरमा देशभर विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रमहरू आयोजना गरेको छ।
दिवसका अवसरमा मङ्गलवार देशभरका करिब ३५ जिल्लामा रक्तदान, अस्पतालमा बिरामीलाई फलफूल वितरण, खेलकुद प्रतियोगिता र मन्दिर सरसफाइजस्ता कार्यहरू सञ्चालन गरिएका छन्।
काठमाडौँको सङ्कटा मन्दिर परिसरमा सरसफाइ अभियानको नेतृत्व गर्दै तरुण दलका अध्यक्ष मनिष कोइरालाले संस्थालाई युवाहरूको आवाज र जनतासँग जोडिने माध्यमका रूपमा पुनः परिभाषित गर्ने प्रतिबद्धता व्यक्त गरे। विशेष गरी संस्कृति र परम्परासँग युवा पुस्तालाई जोड्ने उद्देश्यका साथ मन्दिर सरसफाइ अभियानलाई नियमित तालिकामा राखेर अघि बढाउने निर्णय गरिएको उनले बताए। बाँके, वीरगञ्ज र धादिङलगायतका जिल्लाहरूमा यो अभियान प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ।
कार्यक्रमका क्रममा अध्यक्ष कोइरालाले भने, ‘७४ औँ स्थापना दिवसका अवसरमा देशका विभिन्न जिल्लामा रक्तदान, फलफूल वितरण, फुटबल प्रतियोगिता र मन्दिर सरसफाइजस्ता कार्यक्रम भइरहेका छन्। तरुण दललाई युवाको आवाज उठाउने, जनतासँग जोडिने र संस्कृतिको संरक्षण गर्ने संस्थाका रूपमा अगाडि बढाउनेछौँ।’
उनले प्रविधिको विकासलाई आत्मसात् गर्दै आगामी दिनमा कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका क्षेत्रमा समेत काम गर्ने योजना रहेको जानकारी दिए। तरुण दलका बारेमा समाजमा रहेको बुझाइलाई चिर्दै यसलाई सामाजिक रूपान्तरणको संवाहक बनाउने दाबी गर्दै उनले आगामी एक महिनाभित्र युवासँग प्रत्यक्ष जोडिने छ वटा नयाँ कार्यक्रमहरू प्रेस सम्मेलनमार्फत सार्वजनिक गरिने बताए।






प्रतिक्रिया दिनुहोस्