सेनाको पूर्वी कमाण्ड संरचनाको झण्डा तयार

झण्डामा बाैद्ध धर्मको शक्तिशाली निशानी(बज्र)

आफ्नाे १००० दिनकाे सुअवसर पारेर प्रधानसेनापति पूर्णचन्द्र थापाद्वारा सार्वजनिक

काठमाडौं । नेपाली सेनाको पूर्वी कमाण्ड संरचनाको झण्डा तयार भएको छ ।

आगामी २०७८ साउन १ गतेबाट औपचारिक रूपमा नयाँ कमाण्ड संरचनामा जान लागेको नेपाली सेनाले त्यसको पूर्वसन्ध्यामा पूर्वी कमाण्ड संरचनालगायतको झण्डा तयार पारेको हो ।

frontline

जसलाई ०७८ जेठ २३ गते आफ्नाे १००० दिनकाे सुअवसर पारेर प्रधानसेनापति पूर्णचन्द्र थापाले सार्वजनिक गरेका थिए । सेनाको जनसम्पर्क निर्देशनालयले कमाण्ड संरचनाको झण्डाहरू तयार भएको जनाएको छ । 

कमाण्ड संरचनाको झण्डाहरू डिजाइन गर्दा पूर्वी कमाण्डको झण्डा राष्ट्रिय र आफ्नै संगठनको झण्डालाई समेटेर तयार पारिएको छ । पृष्ठभूमिमा आकासे र बोर्डरमा गाडा रातो रंगको संयोजन मिलाइएको छ ।

यसको मुख्य विशेषताचाहिँ के हो भने यो झण्डामा शान्तिका दूत भगवान् बुद्धको प्रभाव देखिन्छ । ताराभित्र ‘दोर्जी’ ( वैदिक हतियार बज्र/ अनि तन्त्र विद्यामा अति शक्तिशाली मानिने यन्त्र  बज्र) राखेर सेनाले आफूलाई हिंसा होइन, शान्तिको दूत भएको सन्देश प्रवाह गर्न खोजेको यो झण्डाबाट बुझ्न, विश्लेषण गर्न सकिन्छ ।

हिन्दूधर्मबाट बढी नै प्रभावित सेनाले धर्मनिरपेक्षतालाई पनि पछ्याउन खोजेको यसले देखाउँछ । 

‘दोर्जी’ बौद्ध धर्मका गुरुहरूले प्रयोग गर्ने शक्तिशाली पवित्र वस्तु हो ।

दोर्जी शीरमा राखेर बौद्ध धर्माबलम्बी गुरुहरूले आफ्ना अनुयायीहरूलाई दिने आशीर्वादले शक्तिका साथै पुण्य मिल्ने विश्वास बौद्धमार्गीले गर्ने गर्छन् । 

पूर्वी कमाण्डकाे पहिलो कमाण्ड सेनापतिको नेतृत्व उपरथी सन्तोष ढकालले गर्दैछन् । २४ जिल्ला हेर्ने यो कमाण्डको मुख्य  कार्यालय धनकुटाको हिलेमा रहनेछ ।

नेपाली सेना आगामी २०७८ साउन १ गतेबाट पृतनालाई स्तरोन्नति गरेर औपचारिक रूपमा कमाण्ड संरचनाको अभ्यासमा जाँदैछ ।

सेनाको चेन अफ कमाण्डलाई छिटो छरितो पार्न तथा तीन तहको कमाण्डलाई वैज्ञानिक र व्यवस्थित गर्न जंगी अड्डाले कमाण्ड अवधारणा अघि बढाएको हो । 

चारवटै कमाण्डका लागि सेनाले नेतृत्वकाे अर्थात् कमाण्ड सेनापतिकाे जिम्मेवारी समेत तोकिसकेको छ ।

यसको नेतृत्व उपरथी दर्जाका दुई तारे रथीवृन्दले गर्नेछन् भने तिनको पदलाई कमाण्ड सेनापति नामाकरण गरिएको छ । 

 मध्य कमाण्डको कमाण्डर अर्थात् कमाण्ड सेनापति उपरथी विनयविक्रम राणा,  भ्याली कमाण्डर अर्थात् कमाण्ड सेनापति अशोक सिग्देल र कर्णाली र सुदूरपश्चिम क्षेत्र समेटेर बनाइएको पश्चिम कमाण्डर अर्थात् कमाण्ड सेनापतिको नेतृत्व उपरथी प्रेम शाहीले गर्दैछन् ।

२०७८ जेठ १५ गते औपचारिक रूपमा चारै कमाण्डका कमाण्ड सेनापतिलाई जिम्मेवारी दिइएको सैनिक श्राेतले बताएकाे छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here