सुरुङ निर्माण भएको चार वर्ष पूरा तर बाँध हेडवर्क्स निर्माणमा अझै अन्योल
समाचार सारांश
- भेरी-बबई डाइभर्सन आयोजना सुरु भएको १४ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन, जसले लागत दोब्बर बढाएको छ।
- आयोजनाको हेडवर्क्स निर्माणमा ढिलासुस्ती र जग्गा अधिग्रहणमा समस्याका कारण प्रगति सुस्त देखिएको छ।
- यस आयोजनाले तराई क्षेत्रमा सिँचाइ र जलविद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ, तर विभिन्न कारणले गर्दा लक्ष्य पूरा हुन सकेको छैन।
काठमाडौँ । राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना सुरु भएको १४ वर्ष पूरा भए पनि अझै सम्पन्न हुन सकेको छैन । सरकारले आर्थिक वर्ष २०६८/०६९ मा १६ अर्ब ४३ करोडको अनुमान लागतमा आयोजनाको काम सुरु गरेको थियो ।
तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ चैतमा आयोजना शिलान्यास गरेका थिए । निर्माणको काम सुस्त हुँदा अहिलेसम्म सम्पन्न हुन नसकेको हो । निर्माण सम्पन्न नहुँदा आयोजनाको लागत बढेर दोब्बर पुगेको छ । आयोजनाको अहिले संशोधित लागत अनुमान ३३ अर्ब १९ करोड पुगेको छ ।
भेरी नदीको पानीलाई सुरुङमार्फत बबई नदीमा खसालेर बबई सिँचाइ आयोजनाले बाँके ३६ हजार र बर्दिया जिल्लाको १५ हजार हेक्टर गरी कुल ५१ हजार हेक्टर जमिनमा बाह्रैमास सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित आयोजना अघि बढेको थियो ।

तर आयोजना निर्माणले १४ वर्षसम्म पनि बाँके र बर्दियाको जमिनमा सिँचाइ सुविधा पुर्याउन सकेको छैन । त्यस्तै, भेरी नदीबाट ४० घनमिटर प्रतिसेकेण्ड पानी बबई नदीमा खसालेर ४६.८ मेगावाटको जलविद्युत् उत्पादन गर्ने आयोजनाको उद्देश्य छ । तर यी कुनै पनि काम पूर्ण रूपमा हुन सकेको छैन ।
आयोजनाको सुरुङ निर्माणको कामभन्दा बाहेक अन्य कामले गति लिन नसकेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी जलस्रोत सचिव सरिता दुवाडीले बताइन् । उनले केही दिन अघि संसदीय समितिमा बोल्दै सुरुङ निर्माणको काम सम्पन्न गरी ऐतिहासिक सफलता हासिल गरेको बताइन् । टनेल बोरिङ मेसिन (टीबीएम) जस्तो अत्याधुनिक प्रविधिका कारण निर्माण थालनी गरेको १९ महिनामै सुरुङको काम सम्पन्न गर्न सफल भएको उनको भनाइ थियो ।
सचिव दुवाडीले भनिन्, ‘सुरुङ निर्माण समयमै सम्पन्न भए पनि अन्य महत्त्वपूर्ण संरचनाहरूको निर्माणमा सुस्तता छ । उक्त संरचना निर्माणमा अन्य चुनौती पनि उत्पन्न भएका छन् ।’
सचिव दुवाडीका अनुसार आयोजनाको मुटु मानिने हेडवर्क्स (बाँध) निर्माणमा ठेकदारको चरम ढिलासुस्ती रहेको बताइन । उनले जग्गा अधिग्रहणमा देखिएको अपूर्णता र वातावरणीय स्वीकृतिको प्रक्रियागत अलमलले आयोजना निर्माणमा ढिलाइ भएको स्वीकार गरिन् ।
त्यस्तै, सिँचाइ विभागका महानिर्देशक मित्र बरालले पनि भेरी–बबई सुरुङ निर्माणको काम सम्पन्न भए पनि हेडवर्क्स निर्माणको काम भने निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सोचेअनुसार अघि बढ्न नसकेको बताए ।
उनले भने, ‘हामीले यसलाई गति दिन निरन्तर पहल गरिरहेका छौँ र यो आयोजना सम्पन्न हुँदा तराईको कृषिमा ठुलो परिवर्तन आउनेछ भन्नेमा हामी विश्वस्त छौँ ।’
२०७२ जेठ २१ गते नेपाल सरकारले चाइना ओभरसीज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड (कोभेक) सँग १० अर्ब ५७ करोडमा टीवीएममार्फत सुरुङ निर्माणको सम्झौता गरेको थियो । उक्त सम्झौता बमोजिम निर्माण कम्पनीले २०७७ साउन १७ गते ‘टेकिङ ओभर सर्टिफिकेट’ र २०७८ चैत २४ गते ‘पर्फर्मेन्स सर्टिफिकेट’ समेत जारी भइसकेको छ ।

- अन्य संरचना निर्माणमा कछुवा गति
सुरुङ खन्ने काम सकिए पनि आयोजनाका अन्य अत्यावश्यक संरचनाहरूको निर्माण कार्य अत्यन्तै सुस्त गतिमा अघि बढिरहेको छ, जसले समग्र आयोजनालाई नै पछाडि धकेलिरहेको छ ।
आयोजनाको सिभिल संरचना अन्तर्गत बबईमा विद्युतगृह (पावरहाउस), बाँध (ड्याम) र सर्ज साफ्ट निर्माणको ठेक्का रमण–ग्वाङ्डोन जेभीसँग २०७६ साउन १५ गते ६ अर्ब १६ करोड ५२ लाख १६ हजारमा सम्झौता गरेको छ, तर उक्त कम्पनीले अहिलेसम्म अन्य काम सम्पन्न गर्न सकेको छैन । आयोजनाको अहिलेको भौतिक प्रगति ६० प्रतिशतमात्रै पुगेको मन्त्रालयले जनाएको छ ।
पावरहाउसको जग खनेर २९७.७ मिटरको तहसम्म पुर्याइएको छ र फाउन्डेसन ट्रिटमेन्ट अन्तर्गत इलेक्ट्रिकल अर्थिङ र कन्सोलिडेसन ग्राउटिङको काम सकेर जग ढलानको तयारी भइरहेको छ ।
आयोजनाको हेडवर्क्स निर्माणाधीन अवस्थामा छ । त्यस्तै, पेनस्टकको एलाइनमेन्ट खन्ने काम सुरु भएको छ भने पेनस्टकको बेन्ड–२ र बेलमाउथको पाइप रोलिङ तथा फेब्रिकेसनको काम वर्कसपमा भइरहेको छ ।
जलस्रोत सचिव दुवाडीका अनुसार हेडवर्क्स निर्माणमा ठेकदारको अक्षमताको कारण आयोजना निर्माणमा ढिलाइ भएको हो । आयोजनाको सबैभन्दा ठुलो समस्या हेडवर्क्स अर्थात् भेरी नदीमा पानी थुनेर सुरुङमा पठाउने बाँध निर्माण बनेको उनको भनाइ छ । निर्माण व्यवसायीले स्वीकृत कार्यतालिकाअनुसार स्रोतसाधन परिचालन गर्न नसक्दा र काममा चरम ढिलासुस्ती गर्दा हेडवर्क्सको प्रगति निराशाजनक रहेको उनले बताइन् ।

सचिव दुवाडीले भनिन्, ‘निर्माण व्यवसायीले स्वीकृत कार्यतालिकाअनुसार स्रोतसाधन परिचालन गर्न नसक्दा र काममा चरम ढिलासुस्ती गर्दा हेडवर्क्सको प्रगति निराशाजनक छ । ठेकदारको कार्यशैली राम्रो भएको छैन । तोकिएको समयमा काम सम्पन्न नहुँदा आयोजनाको लागत र समय दुवै बढ्ने निश्चित छ ।’
उनले बबई सिँचाइ आयोजनालाई बाह्रै महिना पानी उपलब्ध गराउने र विद्युत् उत्पादन गर्ने यो आयोजनाको हेडवर्क्स निर्माणलाई तीव्रता दिन मन्त्रालयले आवश्यक पहल गरिरहेको बताइन् । आयोजनाले ठेकदारलाई पटक–पटक निर्देशन दिए पनि कामले गति लिन नसकेको उनको भनाइ छ ।
- पावरहाउस र इलेक्ट्रो–मेकानिकल कार्य
बबई नदीको किनारमा निर्माण भइरहेको ४६.८ मेगावाट क्षमताको पावरहाउसको काम जारी भए पनि अपेक्षित गति छैन ।
पावरहाउसको जग खनेर फाउन्डेसन ट्रीटमेन्टको काम सकिए पनि ढलानको तयारी भइरहेको सिँचाइ विभागका महानिर्देशक बरालले बताए । उनले इलेक्ट्रो–मेकानिकलतर्फ उपकरणहरू उत्पादन र ढुवानीको चरणमा रहेको जानकारी दिए ।
उनले भने, ‘इलेक्ट्रो–मेकानिकलका लागि पावर ट्रान्सफर्मर, जेनेरेटर, टर्बाइनका सामानहरू आयोजना स्थलमा आइपुगेका छन्, तर पनि सबै उपकरण आइनसकेको र जडानको काम सुरु हुन बाँकी नै रहेको अवस्था छ ।’
- जग्गा अधिग्रहण र प्रसारण लाइनको अलमल
आयोजनाका लागि २२.८१ हेक्टर जग्गा चाहिनेमा हालसम्म १५.७९ हेक्टर (करिब ६९ प्रतिशत) मात्र अधिग्रहण भएको सिँचाइ विभागले जनाएको छ ।
जग्गा अधिग्रहणको प्रक्रिया सुस्त हुँदा निर्माण कार्यमा अवरोध सिर्जना भएको महानिर्देशक बरालले बताए । उनले उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रणालीमा जोड्न आवश्यक १.७ किलोमिटर लामो प्रसारण लाइनको काम पनि वातावरणीय प्रभाव मूल्याङ्कनको अन्तिम स्वीकृतिको पर्खाइमा रहेको बताए ।
बरालले भने, ‘ऊर्जा मन्त्रालयले २०८२ वैशाखमा सहमतिका लागि वन तथा वातावरण मन्त्रालयलाई पत्राचार गरे पनि अन्तिम स्वीकृति प्राप्त नहुँदा काम अघि बढ्न सकेको छैन । यो प्रशासनिक ढिलासुस्तीले आयोजनाको ऊर्जा उत्पादनको लक्ष्यलाई पछाडि धकेलिरहेको छ ।’
- प्रणालीगत समस्या र अनुभवको कमी
आयोजनाले सामना गरिरहेका समस्याहरू निर्माण कम्पनीको ढिलासुस्तीमा मात्र सीमित छैनन् । यसले नेपालको पूर्वाधार विकासमा रहेका गहिरो प्रणालीगत कमजोरीहरूलाई पनि सतहमा ल्याएको छ ।
सिँचाइ विभागका महानिर्देशक मित्र बरालले भेरी–बबई सिँचाइ आयोजनालाई गति दिन निरन्तर पहल गरिरहेको बताए ।
महानिर्देशक बरालले ठुला र जटिल आयोजना कार्यान्वयनका लागि आवश्यक संस्थागत अनुभव र जनशक्तिको कमीले पनि चुनौती थपेको बताए । उनले भने, ‘टीबीएमजस्तो नयाँ प्रविधि विदेशी विशेषज्ञ र कडा अनुगमनमा सफल भए पनि हेडवर्क्सजस्तो परम्परागत निर्माण कार्यमा नेपाली पक्षको कमजोर अनुगमन, ठेकदारको लापरबाही र संस्थागत अनुभवको कमी हाबी भएको देखिन्छ ।’
भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना संरचना निर्माणको अनिश्चितता देखिएको छ । राष्ट्रिय गौरवको आयोजनालाई समयमै सम्पन्न गरी यसबाट देशले अपेक्षित लाभ लिन सक्ने बनाउन तत्काल केही कदम चाल्न आवश्यक छ ।






प्रतिक्रिया दिनुहोस्