सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत पत्रकारहरूसँग अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

मेवालाल यादव
रौतहट, गौर – वैदेशिक रोजगारमा जाने श्रमिकहरूको अधिकार संरक्षण र सुरक्षित आप्रवासन प्रवर्द्धन गर्न ‘सुरक्षित आप्रवासन (सामी) कार्यक्रम’ अन्तरगत नेपाल पत्रकार महासंघ शाखा कार्यालय गौर आयोजित अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम गौर नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ।




गौर नगरपालिकाको नगर प्रमुख शम्भु साहको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथिका रूपमा शैलकुमारी साहको उपस्थिति थियो। कार्यक्रम संचालन हेमा ढकालले गरेकी थिइन् भने समापन आर्थिक शाखा प्रमुख सरोजलाल दासले गर्नुभएको थियो।
अन्तरक्रियामा बोल्ने वक्ताहरूले वैदेशिक रोजगारमा जाने क्रममा देखिएका प्रमुख चुनौतीहरू, सुरक्षित आप्रवासनका उपाय, सीपमूलक तालिम, श्रम स्वीकृति, भरपाइ तथा प्रमाणपत्र व्यवस्थापन, कागजातको सुरक्षा, नेपालको विमानस्थलको प्रयोग र सहयोगी संस्थाहरूको भूमिकाको विषयमा जानकारी प्रस्तुत गरेका थिए।
कार्यक्रममा ‘स्वदेशमै रोजगारी गरौं, जानै परे सुरक्षितरूपमा जाऔं’ भन्ने नारालाई आत्मसात गर्दै चन्द्रपुर नगरपालिका, गरुडा नगरपालिका, गौर नगरपालिका र दुर्गाभगवती गाउँपालिकाको सहकार्यमा सुरक्षित आप्रवासनको सन्देश फैलाउने प्रतिबद्धता जनाइएको थियो।
कार्यक्रमले वैदेशिक रोजगारमा जाने श्रमिकहरूलाई आवश्यक सूचना र सीपसहित मात्र यात्रा गर्न प्रेरित गर्नुका साथै स्थानीय तह, सञ्चारकर्मी र सरोकारवाला निकायबीच समन्वय बढाउने लक्ष्य लिएको छ।
साथै, श्रम तथा रोजगारसँग सम्बन्धित सम्पूर्ण जिज्ञासा, गुनासा र समस्या समाधानका लागि सरकारले सञ्चालनमा ल्याएको निःशुल्क श्रमाधान कल सेन्टर ११४१ मा सम्पर्क गर्न सकिने जानकारी पनि दिइएको थियो। थप जानकारीका लागि नजिकको जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयमा स्थापना गरिएका आप्रवासी स्रोत केन्द्र वा उपकेन्द्रमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
उक्त कार्यक्रमले सुरक्षित वैदेशिक रोजगारीलाई प्रवर्द्धन गर्दै आप्रवासनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने प्रयासलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रममा रौतहट जिल्लाका विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीमध्ये पत्रकार राकेश यादव, गौतम श्रेष्ठ, शैलेन्द्र गुप्ता, दिनेश यादव, सत्येन्द्र प्रताप सिंह, मेवालाल यादव, बिना श्रीवास्तव, शिवपुरी लगायत नेपाल पत्रकार महासंघ र श्रमजीवी पत्रकार संगठनका सदस्यहरू तथा जिल्ला कार्यक्रम संयोजक बिनय कुमार साह , गौर नगरपालिका सूचना परामर्श पुजा गीरी , सोनु कुमार साह लगायत रौतहट जिल्लाका विभिन्न पत्रपत्रीका तथा अनलाइनका पत्रकारहरुको सहभागी रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्