सुरक्षा व्यवस्था चुस्त पारिएकाले निर्धक्क भएर मतदान गर्न सरकारको आग्रह

३ मंसिर, काठमाडौं । सरकारले मंसिर ४ गते आइतबार (भोलि) हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा अवरोध सिर्जना हुन नदिन सुरक्षा व्यवस्था कडा पारेको बताएको छ । गृहमन्त्रालयले निर्वाचनका लागि देशभर आवश्यक तयारी सकिएको र सुरक्षा व्यवस्थालाई पनि कडा पारिएको बताएको हो ।

गृह मन्त्रालयको सचिव विनोदप्रकाश सिंहले नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र म्यादी प्रहरी निर्वाचन सुरक्षाको लागि तैनाथ रहेको बताए ।

frontline

उनले निर्वाचनलाई कुनैपनि किसिमको अवरोध हुन नदिनको लागि सम्पूर्ण निर्वाचन क्षेत्रमा सुरक्षाकर्मीहरु परिचालन गरेको बताए । उनले सरकारले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, भयरहीत र विश्वसनीय बनाउन सबै सुरक्षा व्यवस्था चुस्त पारिएकाले निर्धक्क भएर मतदान गर्न आग्रह गरे ।

उनले भने, ‘मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भइसकेका छन् । सुरक्षा व्यवस्थालाई पनि चुस्तदुरुस्त राखिएको छ ।

सम्पूर्ण सुरक्षा भरपर्दो, चुस्त दुरुस्त पारिएको छ । सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरु निर्वाचनको लागि सम्पूर्ण रुपमा निर्वाचन क्षेत्रमा खटिसक्नुभएको छ ।’

उनाले थपे, ‘सबै ठाउँमा निर्वाचनलाई कुनैपनि किसिमको अवरोध नहुने गरी र निर्वाचन सहज हुनेगरी सुरक्षा व्यवस्था मिलाइएको छ । मतदातालाई बिहान ७ बजेदेखि ५ बजेसम्म देशभरका विभिन्न मतदान केन्द्रमा हुने मतदान ढुक्क भएर गर्न आग्रह गर्दछु ।’

गृह मन्त्रालयले आज काभ्रेपलाञ्चोक, दोलखा र रामेछाप जिल्लाका अति संवेदनशील मतदान केन्द्रको अवलोकन एवं निरीक्षण गरेको थियो । आइतबार (भोलि) देशभर एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here