सीता पौड्यालको मृत्यु भएको आठ दिन बित्दा पनि उठेन शव
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ घर भएकी २७ वर्षीय सीता भण्डारी पौड्यालको मृत्यु भएको आठ दिन बित्दा पनि उनको शव उठेको छैन । माइती पक्षले घटनालाई हत्या भन्दै उच्चस्तरीय छानबिनको मागसहित शव बुझ्न अस्वीकार गरेको छ ।
मणिग्रामका ४३ वर्षीय टीका पौड्यालकी पत्नी सीता भदौ २० गते आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । पोष्टमार्टम रिपोर्टमा भने सीताले झुण्डिएर आत्महत्या गरेको देखिएको छ ।
तर माइती पक्षले भने सीता आफ्नै घरको कोठामा मुखबाट रगत बगेको, गला कसिएको र भुइँमा लडेको अवस्थामा मृत फेला पर्नु शंकास्पद भएको छ ।
घटनास्थलको प्रकृति र पृष्ठभूमिले छोरीको हत्या नै भएको भन्दै किटानी जाहेरी दिएका थिए । तर प्रहरीले किटानी जाहेरी लिन मानेन ।
प्रहरीले जाहेरी लिन नमानेपछि माइती पक्ष, आमा समूहलगायतले दिनहुँजसो घर घेराउ, राजमार्गमा चक्काजाम लगायतका आन्दोलन जारी राखेका छन् ।
आन्दोलन नरोकिएपछि प्रहरीले मृतकका श्रीमान् टीका पौड्यालसहित तिलोत्तमा ५ का वडा सदस्य रहेका मृतकका जेठाजु हरि पौडेल र पौडेलकी दिदी (आमाजू) विष्णुलाई नियन्त्रणमा लिएको छ ।
यस्तो छ घटनाको पृष्ठभूमि
मृतकका बुबा हरिप्रसाद भण्डारीका अनुसार भदौ ६ गते तीज मान्न सीतालाई उनका पति टिकाले माइतीमा छोडेका थिए । तर भदौ १९ गते दिउँसो घरमा भतिजीको जन्मदिन मनाउने कार्यक्रम छ भन्दै सीतालाई फोन गरेर घरमा बोलाएका थिए ।
घटना हुनुको केही दिन अघि ज्वाइँ टिकाले फोन गरेर ‘छोरीको भविष्यको आफैं व्यवस्था गर्नु’ भनेका थिए ।
पतिले बोलाएपछि सीता भदौ १९ गते दिउँसो घर पुगेकी थिइन् । २० गते बिहान ५ बजेतिर टिकाले ससुरा हरिप्रसादलाई जरुरी काम छ तुरुन्त आफ्नो घर आउनू भनेर बोलाएका थिए ।
हरिप्रसाद छोरीको घर पुग्दा सीताको मृत्यु भइसकेको थियो । तर टिका घरमा थिएनन् । केही समयपछि उनी मदिरा सेवन गरेर आएको र उनले आफ्नी दिदीका कारण घरका अरु मान्छेको पनि ज्यान खतरामा रहेको बताएको हरिप्रसाद बताउँछन् ।
सीताको घाँटीको पासो काटिएको अवस्थामा थियो । सीताको मृत्युको जानकारी परिवारका अरु सदस्यलाई नहुनु, प्रहरी नआउँदै पासो काटिनु, मुखबाट रगत बगेको, गला कसिएको र भुइँमा लडेको अवस्थामा भेटिनुले आत्महत्या नभई हत्या नै भएको माइती पक्षको दाबी छ ।
माइती पक्षले पोष्टमार्टम रिपोर्टमा आर्थिक चलखेल गरी आत्महत्या बनाइएको आरोप लगाउँदै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट घटनाको छानबिन हुनुपर्ने माग गरेका छन् ।
संयमित हुन तिलोत्तमा नगरपालिकाको आग्रह
घटनाको विषयलाई लिएर नगरपालिका घेराउ, वडा कार्यालयमा तालाबन्दी, राजमार्गमा चक्काजाम जस्ता आन्दोलन दिनहुँ हुन थालेपछि तिलोत्तमा नगरपालिकाले स्थानीयस्तरमा क्रियाशील राजनीतिक दल र जनप्रतिनिधिको संयुक्त बैठक बसी घटनाको छानबिनमा सहयोग गर्ने निर्णय गर्दै संयमता अपनाउन आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्