सीके राउत नेतृत्वको पार्टीका कार्यकर्ताले जलाए दुई ट्रक, जिल्ला अध्यक्षसहित तीन जना पक्राउ
२० पुस, धनुषा । प्रदेश २ का ६ जिल्लामा अनिश्चितकालीन आमहडतालको घोषणा गरेको सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले दुई वटा ट्रकमा आगजनी गरेका छन्।
सोमबार बिहान सिरहाको मिर्चैया र साँझ धनुषाको गणेशमान चारनाथ नगरपालिकामा राउतका कार्यकर्ताले ट्रकमा आगो लगाएका हुन्।
ठाउँ-ठाउँमा सडक अवरुद्ध गरेर प्रर्दशन गरिरहेका जनमत पार्टीका कार्यकर्ताले पूर्व-पश्चिम राजमार्ग अन्तर्गत गणेशमान चारनाथ नगरपालिका-१ छघरियास्थित ट्रकमा आगजनी गरेको प्रहरीले जनाएको छ।
डिएसपी जितेन्द्र बस्नेतका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना१क ७७६९ नम्बरको ट्रकमा जनमत पार्टीका कार्यकर्ताले आगजनी गरेका थिए।
आगलागीमा संलग्न रहेको आरोपमा प्रहरीले जनमत पार्टीका धनुषा जिल्ला अध्यक्षसहित तीन जनालाई पक्राउ गरेको छ।
अध्यक्ष ओमविक्रम कुशवहा, चन्द्र साह र नवीन पण्डितलाई पक्राउ गरिएको डिएसपी बस्नेतले बताए।
पक्राउ परेका कुशवाहा यसअघि खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहलाई शरीरमा हिलो छ्यापेर जनकपुर परिक्रमा गराएको आरोप छ। उनी धनुषा जिल्ला अदालतबाट धरौटीमा छुटेका थिए।
त्यसैगरी, सिरहाको मिर्चैया बतहाखोलानजिकै हिमालय सुगरमिल्समा उखु पुर्याएर पश्चिमतर्फ जाँदै गरेको ना५ख १००९ नम्बरको ट्रकमा पनि आगजनी गरिएको छ। प्रहरीले जनमत पार्टीकै कार्यकर्ताले आगजनी गरेको आशंका गरिरहे पनि आगो लगाउने व्यक्तिको आधिकारिक पुष्टि भइसकेको छैन।
प्रतिक्रिया दिनुहोस्