सिरहामा जग्गा संरक्षण बिबादमा प्रदर्शन, दुई जना पक्राउ
काठमाडौं । वन कार्यालयले जग्गा संरक्षण नगरेको भन्दै सिरहामा प्रदर्शन, दुई जना पक्राउ गरेको हो।
डिभिजन वन कार्यालय लहानले विरुवा खरिदको नाममा व्यापक अनियमितता गरेको र वनका जग्गा संरक्षणमा मौन बसेको भन्दै लहानमा प्रदर्शन भएको छ ।
चुरे तथा वन जंगल अभियन्ताहरूले डिभिजन वन कार्यालयको परिसरमै पुगेर प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा प्रहरीले दुई प्रदर्शनकारीलाई पक्राउ पनि गरेको छ ।
पक्राउ पर्नेमा प्रदर्शनकारीमध्येका गोलबजार ९ का सुरेश महतो र सुरेश सिंह छन् । लहान प्रहरीको हिरासतमा रहेका उनीहरूलाई अझै छाडिएको छैन ।
जिल्ला प्रहरी कार्यालयले वन डिभिजन कार्यालयमा उनीहरूले हुलहुज्जत र ढुङ्गामुढा गरेपछि दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
उनीहरूले गरेको ढुङ्गामुढाबाट कार्यालयको सिसासमेत फुटेपछि प्रहरीले नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता शुभाष बुढाथोकीले जानकारी दिए ।
डिभिजन वन कार्यालयले गत आर्थिक वर्षमा विरुवा खरिदको नाममा व्यापक अनियमितता गरेको र वनको जग्गा संरक्षणमा मौन बसेको उनीहरूको आरोप छ ।
वन कार्यालयले ३० लाख विरुवा खरिद गरेको भने पनि झिनै रकमको विरुवा खरिद भएको तथा बाँकी रकम अनियमितता गरिएको चुरे तथा वन जंगल संरक्षण अभियानका संयोजक सुनिल यादवले बताए ।
खरिद गरेको विरुवा पनिभर्खरै ‘कटिङ’ गरिएको विरुवा रहेको र अनियमितता गर्ने उद्देश्यले सस्तोमा किनिएको यस्ता विरुवामध्ये ७० प्रतिशत विरुवा रोपेको केही समयमै सुक्ने भनाइ उनको छ ।
यस्तै, गोलबाजर नपा ९ मा रहेको वन क्षेत्रको जग्गा मारुती सिमेन्ट उद्योग तथा विभिन्न व्यक्तिले कब्जा गरे पनि वन कार्यालय मौन रहेको उनको आरोप छ ।
सार्वजनिक जग्गा अतिक्रमित हुँदा पनि देखिएको वन कार्यालयको मौनता शंकास्पद रहेको उनले आरोप लगाए ।
यसै विषयमा डिभिजन वन कार्यालय लहानका डेफो सुभाश चन्द्र दाससँग भेट्न गएपछि भेट गर्नसमेत नदिएर कार्यालयका पालेहरूले कुटपिट गरेको र प्रहरी आएर दुई जनालाई समातेर लगेको उनले बताए।
यता, डिभिजन वन कार्यालयका निमीत्त प्रमुख गंगाप्रसाद यादवले डेफो दास अहिले बिदामा रहेको र विरुवा खरिद विषयमा आफूलाई त्यति जानकारी नरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्