साहरुख खानका छोरा आर्यन खानको जमानतको निवेदन अदालतद्वारा अस्विकार
४ कार्तिक, मुम्बइ । बलिउड नायक साहरुख खानका छोरा आर्यन खानलाई जमानत दिन मुम्बइको एनडीपीएस अदालतले अस्विकार गरेको छ ।
अदालतले आर्यनसँगै पक्राउ परेका मुनमुन धमीचा र अरबाज मर्चेन्टको जमानतको आग्रहलाई पनि खारेज गरिदिएको छ । आर्यनलाई मुम्बइको आर्थर रोड जेलमा राखिएको छ ।
योसँगै आर्यनलाई अझै केही समय जेलमा नै बिताउनुपर्नेछ । आर्यनको जमानतको निवेदनमाथि आज अदालतमा बहस भएकोे थियो । आर्यनका वकिलका अनुसार, अब उनको जमानतका लागि मुम्बइको उच्च अदालतमा निवेदन दिने तयारी गरिएको छ ।
आर्यनलाई एनसीबीले मुम्बइको एक क्रुज पार्टीबाट गिरफ्तार गरेको थियो । आर्यनमाथि ड्रग्स किनेको र सेवन गरेको आरोप लगाइएको छ । आर्यनको ह्वाट्सअप च्याटमा ड्रग्सको बिषयमा कुराकानी गरेको पाइएको एनसीबीको दाबी छ ।
तर, आर्यनका वकिलले भने उनको साथबाट ड्रग्स नभेटिएको, उनी क्रुज भित्र प्रवेश नै नगरेको, मेडिकल जाँचका क्रममा पनि उनले ड्रग्स सेवन गरेको नदेखिएकोले जमानत दिन आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्