सशस्त्र प्रहरी बल, रौतहट सीमामा सुरक्षासँगै समाजसेवामा पनि अगाडि
रौतहट, ७ श्रावण । सीमावर्ती क्षेत्रको सुरक्षामा चौबीसै घण्टा तत्पर सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हे.क्वा. रौतहटले सुरक्षा मात्र होइन, मानवसेवा र सामाजिक उत्तरदायित्वमा समेत आफुलाई समर्पित गर्दै आएको छ।
भर्खरैको घटनामा, रौतहट माधवनारायण नपा वडा नं ४ विषनपुरवाकी २८ वर्षीया लक्ष्मीनिया देवीलाई डेलिभरीको समयमा A+ve ब्लडको आपतकालीन आवश्यकता परेको थियो। यस्तो संकटपूर्ण अवस्थामा सशस्त्र प्रहरी बलमा कार्यरत हबल्दार उपेन्द्र मुखियाले प्रादेशिक अस्पताल गौर पुगेर तुरुन्तै रक्तदान गरे।
सामाजिक उत्तरदायित्वमा सक्रिय उक्त गणका प्रहरी उपरीक्षक संतोष बस्नेतका अनुसार, चालु आर्थिक वर्षमा मात्रै गण तथा मातहतका कार्यालयहरूबाट ६३ जना सशस्त्र प्रहरी जवानहरूले बिरामीका लागि स्वेच्छिक रक्तदान गरेका छन्। “हाम्रो टोली मात्र सुरक्षा कार्यमा सीमित छैन, जब समाजलाई रक्तको आवश्यकता पर्छ, हामी त्यहाँ पनि उपस्थित हुन्छौं,” एसपी बस्नेतले बताए।
सामाजिक कार्य र रक्तदानमा अग्रसर यस गणले हरेक वर्ष स्थापना दिवसको अवसरमा पनि सामूहिक रक्तदान गर्दै आएको छ। यस वर्ष वैशाख महिनामा मात्र २४ जना सशस्त्र प्रहरी जवानले रक्तदान गरेका थिए।
एसपी बस्नेतका अनुसार, “प्रादेशिक अस्पताल गौरमा होस् वा पर्सा जिल्लाको वीरगंजमा, जब कहिले रक्तको खाँचो पर्दछ, सिधै हामीलाई सम्झिने चलन बनेको छ। आवश्यकता अनुसार रौतहटबाट प्रहरी जवान पठाएर रक्तदान गराउने काम हामीले गर्दै आएका छौं।”
एसपी बस्नेतले विगत ५ महिनादेखि प्रमुखको जिम्मेवारी सम्हाल्दै गर्दा, सीमावर्ती क्षेत्रदेखि ग्रामीण बस्तीसम्म शान्तिको अनुभूति दिलाउने खालका रणनीतिहरू अपनाएका छन्। सुरक्षा मात्र होइन, समाजप्रति जिम्मेवार अभिव्यक्तिको रूपमा रक्तदान, जनसहभागिता, सहकार्य र मानवता प्राथमिकतामा परेको उनले स्पष्ट पारे।
“हामीले प्रत्येक समस्यालाई राज्यको तर्फबाट सेवा गर्ने अवसरको रूपमा लिन्छौं। रगत होस्, विपत होस्, अपराध नियन्त्रण होस् वा जनताको विश्वास, सशस्त्र प्रहरी बल एक परिवार हो जसले राष्ट्र र जनताको सेवा नै धर्म ठानेको छ,” उनले बताए।
देशको दक्षिणी सीमावर्ती क्षेत्रअन्तर्गत पर्ने रौतहट, जहाँ अवैध क्रियाकलाप, तस्करी, आपराधिक गतिविधिहरूको जोखिम उच्च छ, त्यहाँ सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हे.क्वा. रौतहट कानून पालन, शान्ति सुरक्षा र सीमा निगरानीमा बलियो गढको रूपमा परिचित छ। तर, यति मात्र होइन, यो गण सामाजिक सेवा, सद्भाव र मानवीय भावनामा समेत जिम्मेवार संस्थाको रूपमा स्थापित हुँदै आएको छ।
रक्तदान जस्ता संवेदनशील कार्यमा निरन्तरता दिँदै, संकटमा परेका नागरिकको साहारा बनेको यो गण रौतहट जिल्लामा पहिलो संस्थाको रूपमा यथार्थ सेवाको उदाहरण बनिरहेको छ। यसरी, सुरक्षा र सेवा दुबै मोर्चामा क्रियाशील सशस्त्र प्रहरी बल, नेपाल नं. ११ हे.क्वा. रौतहट आज एक प्रेरणादायी संस्थाको रूपमा जिल्लामा स्थापित बन्दै गएको छ।







प्रतिक्रिया दिनुहोस्