सर्वदलीय बैठकमा विवाद, मकवानपुरमा मतगणना सुरु हुन सकेन
मकवानपुर । प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनअन्तर्गत मकवानपुरमा मतगणना सुरु हुन सकेको छैन।
मतगणनाको प्रक्रिया सुरु गर्न बसेको सर्वदलीय बैठकमा विवाद भएपछि मत गणना सुरु हुन सकेन । बैठकमा सहभागी दलका प्रतिनिधिहरूले वडा–वडाको मत छुट्टाछुट्टै गणना गर्नुपर्ने माग गरेका छन्।
कुन वडाबाट कति मत आएको भन्ने जानकारी हुनुपर्ने भएकाले वडा अनुसार मतपत्र गन्नुपर्ने उनीहरूको अडान रहेको छ । दलका प्रतिनिधिहरूले सर्वदलीय सहमति बिना मतगणना अगाडि बढाउन नसकिने बताएका छन्।
वडा अनुसार गणना नगरे मतगणना हुन नदिने चेतावनीसमेत दिएका छन्। “यदि हाम्रो कुरा लागू हुँदैन भने सर्वदलीय बैठकको के अर्थ ?” भन्ने प्रश्न पनि उनीहरूले उठाएका छ्न् ।
मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले भने मतदाताको गोपनीयता र सुरक्षालाई ध्यानमा राखेर वडा अनुसार छुट्टै मतगणना गर्न नसकिने बताउनुभयो। निर्वाचन अधिकृत देवेन्द्र आचार्यले पनि निर्वाचनसम्बन्धी प्रावधानअनुसार एकभन्दा बढी वडाका मतपत्र मिसाएर गणना गर्नुपर्ने व्यवस्था रहेको बताए ।
सर्वदलीय सहमति जुटेपछि मात्रै मतगणना सुरु हुने बताइएको छ। मकवानपुरमा प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा ४४ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।






प्रतिक्रिया दिनुहोस्