सर्लाहीका एसपीलाई अपशब्द प्रयोग गर्ने जसपा नेताविरुद्ध मुद्दैमुद्दा
समाचार सारांश
- सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई अपशब्द प्रयोग गरेको आरोपमा जसपा नेता अशोक कुमार यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
- यादवमाथि चोरी, अभद्र व्यवहार, र ज्यान मार्ने उद्योग जस्ता गम्भीर आपराधिक मुद्दा दर्ता रहेको प्रहरीले जनाएको छ।
- प्रहरी र स्थानीयबीच झडप हुँदा डीएसपीको गाडीमा क्षति पुगेको र यादवमाथि मुद्दा चलाउने तयारी भइरहेको छ।
सर्लाही । सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्कालाई अपशब्द प्रयोग गरेपछि पक्राउ पुर्जी जारी भएका अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का मधेस प्रदेश नेता तथा पूर्व प्रदेशसभा सदस्य अशोक कुमार यादवको लामो आपराधिक पृष्ठभूमि रहेको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले शनिबार सार्वजनिक गरेको विवरणअनुसार, यादव पटक–पटक आपराधिक गतिविधिमा संलग्न भएको देखिएको हो । प्रहरीले दिएको जानकारीअनुसार, यादवमाथि चोरी, अभद्र व्यवहार, र ज्यान मार्ने उद्योग जस्ता गम्भीर आपराधिक मुद्दा दर्ता छन् ।
मुद्दाहरूको विस्तृत विवरण:
- २०५७ पुस ८ गते: मलंगवा नगरपालिका-१० स्थित जिल्ला कृषि विकास कार्यालयमा कार्यरत नथुनी साहमाथि गालीगलौज र हातपात।
- २०६६ असोज १० गते: सलेमपुर, सर्लाहीस्थित जिल्ला शिक्षा कार्यालयको गाडी रोकी, सिसा फुटाई १ लाख ५० हजार ४०० रुपैयाँ नगद लुटिएको आरोप।
- २०७२ पुस ५ गते: जिल्ला प्रशासन कार्यालय, सर्लाहीको नागरिकता तथा राहदानी फाँटमा कम्प्युटर, प्रिन्टर तोडफोड र कर्मचारीमाथि हुलहुज्जत गरी अभद्र व्यवहार गरेको।
- २०७२ फागुन ५ गते: मादक पदार्थ सेवन गरी ड्युटीमा खटिएको प्रहरी टोलीमाथि गालीगलौज गरेको। (मुद्दा: अभद्र व्यवहार)
- २०७३ साउन १३ गते: सिँचाइ विकास डिभिजन कार्यालय, मलंगवाका कर्मचारीलाई फोनमार्फत ज्यान मार्ने धम्की दिएको। (मुद्दा: अभद्र व्यवहार)
- २०७३ मंसिर २९ गते: सलेमपुर, सर्लाहीमा प्रहरी चेकजाँचमा अवरोध, गालीगलौज र हातपातको प्रयास।
- २०७७ जेठ २७ गते: चक्रघट्टा, सर्लाही सडक जग्गा सम्बन्धी विवादमा राज नारायण रायमाथि कुटपिट गरेको (मुद्दा : ज्यान मार्ने उद्योग) ।
पछिल्लो घटना र पक्राउ पुर्जी:
सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमा ‘अपशब्द’ प्रयोग गरेको घटनामा यादवविरुद्ध सर्लाही जिल्ला अदालतबाट शुक्रबार पक्राउ पुर्जी जारी भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, उनीविरुद्ध आपराधिक उपद्रव सम्बन्धी कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी भएको हो।
बिहीबार राति सर्लाहीका एसपी खड्का र जसपाका प्रदेश अध्यक्ष यादवबिच फोनमा गालीगलौज भएको अडियो सामाजिक सञ्जालमा भाइरल भएको हो।
यादवका अनुसार, बिहीबार राति ९ बजे भौतिक पूर्वाधार विकास कार्यालय मलंगवा, सर्लाहीमा कर्मचारीहरू कार्यालय बाहिर ताल्चा लगाएर काम गरिरहेका थिए। उनले जिल्लामा भौतिक कार्यालयबाट भएको विभिन्न कामको भुक्तानी दिने काम भइरहेको र त्यहाँ कमिसन उठाएर खाने खेल भइरहेको आरोप लगाएका छन्।
‘यही सूचना पाएर म कार्यालय पुगेको थिएँ, जहाँ प्रहरी राखेर कमिसन सङ्कलनको काम भइरहेको थियो। त्यो देखेर मैले सुरुमा प्रहरी प्रमुख खड्कालाई फोन गरेँ, त्यसपछि सबै विवाद भएको हो,’ यादवले भने। उनका अनुसार, भौतिक पूर्वाधार कार्यालय सर्लाहीका प्रमुख विजय यादवले प्रहरीको मिलेमतोमा पैसा उठाउने खेल गरिरहेका थिए, जसकै कारण विवाद चर्किएको हो।
विवाद चर्केपछि प्रहरीले भौतिक पूर्वाधार कार्यालयमा असुरक्षा बढेको भन्दै जसपा नेता यादवलाई राति नियन्त्रणमा लिन प्रहरी परिचालन गरेको सर्लाही प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी सरोज राईका अनुसार, असार १३ गते पूर्वाधार कार्यालयले शान्ति सुरक्षाको प्रबन्ध गर्न निवेदन दिएको थियो। सोही निवेदन अनुसार प्रहरीले सुरक्षा दिँदा यो विवाद भएको उनको दाबी छ।
प्रहरीले यादवलाई नियन्त्रणमा लिन उनको गाउँ कबिलासी नगरपालिका–१० मा प्रहरी पठाउँदा प्रहरी र स्थानीयबिच झडप भएको थियो। डीएसपी राईका अनुसार, सोही क्रममा स्थानीयले प्रहार गरेको ढुङ्गामुढाले डीएसपी चढ्ने ना १ झ १२८१ नम्बरको गाडीमा क्षति पुगेको छ। प्रहरीको गाडीमा क्षति भएपछि अहिले यादवमाथि मुद्दा चलाउने तयारी भइरहेको सर्लाही प्रहरीले जनाएको छ।






प्रतिक्रिया दिनुहोस्