सर्बियाको राजधानीमा किन ओर्लिए लाखौँ मानिस ?

बेलग्रेड । लाखौं मानिसहरू शनिबार सर्बियाको राजधानी बेलग्रेडको सडकमा उत्रिए। यी मानिसहरू सरकार विरोधी विरोध प्रदर्शनमा सामेल हुन आएका थिए।
सरकारले शनिबारको विरोध प्रदर्शनमा १ लाख ७ हजारभन्दा बढी मानिसहरू सहभागी भएको बताएको छ। यद्यपि, स्वतन्त्र अनुगमन समूहहरूले शनिबार कम्तीमा ३,२५,००० मानिसहरू सडकमा भेला भएको बताएका छन्।





यसलाई सर्बियामा अहिलेसम्मकै सबैभन्दा ठुलो विरोध प्रदर्शनको रूपमा वर्णन गरिएको छ। गत नोभेम्बर महिनामा, सर्बियाको दोस्रो ठुलो शहर नोभी सादमा रहेको रेलवे स्टेशनको एक भाग भत्किएको थियो। यस दुर्घटनामा १५ जनाको मृत्यु भयो। प्रदर्शनकारीहरूले स्टेशनको छाना भत्किनु रेलवे स्टेशनको निर्माणमा व्यापक भ्रष्टाचार र कमजोर मर्मतसम्भारको उदाहरण भएको आरोप लगाएका छन्।
राष्ट्रपति भुचिकले शनिबार राष्ट्रलाई सम्बोधन गरे। उनले शान्ति कायम राखेकोमा प्रहरीहरूको प्रशंसा गरे। उनले प्रदर्शनकारीहरूको सन्देश ‘बुझेको’ र ’हामीहरूले आफूलाई परिवर्तन गर्नुपर्छ’ भन्ने बताए।
यद्यपि, प्रदर्शनकारीहरू उनीहरूलाई सरकारबाट धेरै अपेक्षा रहेको बताउँछन् । विरोध प्रदर्शनमा भाग लिने एक महिला याना भासिकले भनिन्, ‘हामी केवल देश राम्रोसँग चलोस् भन्ने चाहन्छौँ। हामी संस्थाहरूले आफ्नो काम राम्रोसँग गरून् भन्ने चाहन्छौँ।’
उनी भन्छिन्, ‘हामीलाई कुन पार्टी सत्तामा छ भन्ने कुराले फरक पार्दैन, हामी त्यस्तो देश चाहन्छौँ जहाँ काम होस्, चार महिनासम्म न्याय नपाउने देश होइन।’
प्रतिक्रिया दिनुहोस्