सम्बन्धित पालिकाबाटै राष्ट्रिय परिचयपत्रको अनलाइन फाराम निःशुल्क भर्न सकिने
२२ साउन, बारा । सेवाग्राहीको सहजताका लागि बारा जिल्लामा पनि सम्बन्धित पालिकास्तरबाटै राष्ट्रिय परिचयपत्रको अनलाइन फाराम निःशुल्क रुपमा भर्न सक्ने गरी व्यवस्थापन गरिएको छ ।
राष्ट्रिय परिचयपत्रलाई छिटोछरितो र व्यवस्थित बनाउनका लागि अनलाइन फाराम जिल्लाका सबै पालिकाबाट निःशुल्क रुपमा भर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो ।
सो सेवा लिन सेवाग्राही सम्बन्धित पालिकाबाट परिचयपत्रका लागि अनलाइन फाराम भरेर मात्र जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालय आउनुपर्ने छ । यसो गर्दा कार्यालयमा हुने अनावश्यक भीडमा कमी आउने जनताको समय र पैसा बचत हुने जनाइएको छ ।
परिचयपत्र बनाउन जिल्लाका विभिन्न क्षेत्रबाट जनताहरूले दिनभरिको समय खर्चिएर, आर्थिक खर्च पनि गरेर दुवै जिल्लाका प्रशासन कार्यालयसम्म आउनुपर्ने बाध्यता थियो ।
यस अगावै प्रशासनले पनि राष्ट्रिय परिचयपत्र र ई–पासपोर्ट आवेदनका लागि सेवाग्राहीले सम्बन्धित पालिकाबाटै अनलाइन फाराम निःशुल्क रुपमा भर्ने व्यस्थापन मिलाइसकेको थियो ।
प्रतिक्रिया दिनुहोस्