सबै मत गणनास्थलमा सीसी क्यामेराको व्यवस्था गर्न मतदान अधिकृतलाई निर्देशन
२ मंसिर, काठमाडौं । निर्वाचन आयोगले यही मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको सबै मत गणनास्थलमा सीसी क्यामेराको व्यवस्था गर्न मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ ।
मत गणना हुँदा हुनसक्ने सम्भावित दुर्घटना रोक्न भन्दै मत गणनास्थलको सुरक्षाका लागि यस्तो निर्देशन दिइएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मतदानस्थलमा सीसी क्यामेरा अनिवार्य रूपमा जडान गर्न मतदान अधिकृतलाई निर्देशन दिइएको हो ।
साथै केही मतदान स्थलमा तारजालीको समेत व्यवस्था गरिएको छ । आयोगले तारजालीका विषयमा केही नभने पनि स्थानीय स्तरमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै तारजाली लगाएका हुन् ।
गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनालाई सुरक्षित बनाउन पनि सरकारले मतगणना स्थलमा कतै तारजाली र कतै सीसी क्यामेराको व्यवस्था गरेको थियो ।
यसअघि मतपत्र च्यात्ने र गणनाका क्रममा धाँधली हुने भएकाले तारजाली लगाएमा सुरक्षित हुने भन्दै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत गणना स्थलमा पनि तार जालीको व्यवस्था गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ ।
२०७४ मा भएको स्थानीय तहको निर्वाचनपछि भएको ‘भरतपुर काण्ड’ पछि मतगणना स्थलमा तार जालीको व्यवस्था सुरु भएको हो ।
भरतपुरको मतगणना हुने क्रममा एमालेका देवी ज्ञवाली र माओवादीकी रेणु दाहालबीचको मतगणना हुँदै गर्दा माओवादीका कार्यकर्ताले मतपत्र च्यातेर चपाएपछि पुनः मतदान गर्नु परेको थियो ।
त्यसयता निर्वाचन आयोगले देशैभरका मतगणना स्थलमा सुरक्षाका लागि सीसी क्यामेरासहित फलामे बार वा तारजाली राख्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्