सप्तकोशी बैंक प्रकरण : तत्कालीन सिइओसहित तीन कर्मचारी जेल चलान
१४ फागुन, काठमाडौं । सप्तकोशी बैंकमा भएको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ हिनामिना प्रकरणमा तत्कालीन सिइओसहित तीन जना कर्मचारी जेल चलान भएका छन्।
उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र न्यायाधीश मुरारीबावु श्रेष्ठको संयुक्त वाणिज्य इजालासले शुक्रबार सिइओ नवीन सुवेदीसहित बैंकका लेखा प्रमुख देवीप्रसाद भण्डारी र बैंकका जनरल सर्भिस डिपार्टमेन्ट (जिएसडी) प्रमुख हिमाल भट्टराईलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ।
पक्राउ परेका बैंकका अपरेसन प्रमुख अमित थापा मगरलाई दुई लाख रुपैयाँ धरौटीमा छोडन आदेश दिएको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओमराज सुवेदीले जानकारी दिए।
अदालतको आदेशपछि सुवेदी, भण्डारी र भट्टराई पुर्पक्षको लागि मोरङ कारागार चलान भएको उच्च अदालत विराटनगरले जनाएको छ।
सप्तकोशी बैंकबाट सुवेदीको योजनामा १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ अपचन गरेको आरोपमा बैंकका ९ जना कर्मचारी र ३ जना खातावाला गरी १२ जनालाई प्रतिवादी बनाएर उच्च अदालत विराटनगरमा मंगलबार मुद्दा दर्ता भएको थियो।
जिल्ला सरकारी वकिलको कार्यालय मोरङले ‘बैकिङ कसुर’ मुद्दामा सुवेदीसहित ९ जना कर्मचारी र तीन जना खातावालालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो।
प्रतिक्रिया दिनुहोस्