श्रीमतीले गरिन् श्रीमानको हत्या
२६ मंसिर, अर्घाखाँची । अर्घाखाँचीको छत्रदेवमा श्रीमतीले श्रीमानको हत्या गरेकी छन् । छत्रदेव गाउँपालिका वडा नम्बर–१, चिदिका तुमचौरकी ५५ वर्षकी लक्ष्मी नेपालीले आफ्नो पति ७० वर्षीय बलबहादुर सार्कीको हत्या गरेकी हुन् ।
शनिवार साँझ घरायसी झगडा हुँदा बलबहादुरले लक्ष्मीलाई सामान्य कुटपिट गरेका थिए । रिसको झोकमा लक्ष्मीले आफूले कम्मरमा बाँधेको पटुका निकाली श्रीमानको घाँटी कसेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक कृष्ण घिमिरेले जानकारी दिए ।
लक्ष्मीले बलबहादुरलाई पासो लगाई घरको दोस्रो तलाको दलिनमा झुण्ड्याएर हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेको घिमिरेले जानकारी दिए । हत्या गरेपछि आफूलाई श्रीमानले कुटपिट गरेको भन्दै गाउँमा गुहार मागेकी थिइन् । सार्की दम्पत्तिले झगडा गर्नुपूर्व मदिरा सेवन गरेका थिए ।
‘हत्या गरी झुण्ड्याएर छिमेकीकोमा मलाई श्रीमानले कुटपिट गरे भनेर सहयोग माग्न पुगेकी रहिछन्’, घिमिरेले भने, ‘छिमेकी त्यहाँ पुग्दा बलबहादुर झुण्डिएको अवस्थामा भेटिए । रक्सीको मातमा घटना भएको देखिन्छ । अनुसन्धान गर्दै जाँदा हत्या गरेर झुण्ड्याएको स्वीकार गरिन् ।’
लक्ष्मीलाई पक्राउ गरी अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको अर्घाखाँची प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्