शहरमा मध्य–दिनमा सधैं हुने सडक जामको अर्थ-राजनीति

मध्य–दिनमा सधैं जस्तो हुने सडक जामभित्र हाम्रा शहरहरूको अर्थ-व्यवस्था र राज्य सञ्चालनका समस्या चित्रित छन्।

दुनियाँमा सडक जाम नहुने ठूला शहर हुँदैनन्। फरक यत्ति हो कि प्रायः ठूला शहरहरूमा कार्यालय जाने र छुट्ने समयमा मात्रै जाम हुन्छ। उनीहरूको र हाम्रो सडकमा हुने जामको भिन्नताभित्र अर्थ–राजनीति लुकेको छ। साथै, त्यहाँका सरकार(हरू), विश्वविद्यालय, थिंकट्यांक र नागरिकहरू जामको बहुआयामिक नकारात्मक प्रभाव र त्यसको न्यूनीकरणको बारेमा सचेत हुन्छन्। समाधानका उपायका बारेमा हर समय चिन्तन, संवाद र सहकार्य गर्छन्।

frontline

सन् २०२१ मा दक्षिण कोरियामा भएको एक अध्ययन अनुसार कोरियामा सडक जामका कारण वार्षिक रूपमा ६४ अर्ब डलर बराबरको आर्थिक घाटा हुने गरेको छ र त्यो कोरियाको कुल जीडीपीको ३.६ प्रतिशत बराबरको रकम हो। यस्तो मूल्य अमेरिकामा पनि जीडीपीको झन्डै १ प्रतिशत, बेलायतमा ०.४ प्रतिशत र जर्मनीमा ०.२ प्रतिशत आसपास छ भन्ने धेरै तथ्यांक पनि भेटिन्छन्।

हाम्रो राजधानीमा मध्य–दिनमा पनि नियमित जस्तै सडक जाम हुन्छ र अन्य शहरका केन्द्रहरूमा पनि यो रोग देखिन सुरु गरेको छ। हामी अरू धेरै अर्थ-सामाजिक मुद्दा जस्तै शहरका र अन्य सडक जामलाई पनि बेला मौकामा एक–अर्कालाई खिसीट्युरी गर्ने राजनीतिक मुद्दा बनाउन मात्रै सीमित छौं भन्दा अत्युक्ति नहोला।

थप व्याख्या गर्नुभन्दा पहिला म प्रष्ट पार्न चाहन्छु, सडक जाम हुनु वा नहुनु सडकको लम्बाइ र सवारी साधनको संख्याको अनुपात, ट्राफिक प्रहरीको क्षमता वा सूचनाप्रविधिको प्रयोगको अवस्थामा मात्रै केन्द्रित वा सीमित व्याख्या पर्याप्त हुँदैन। व्यक्तिगत रूपमा सडकमा अहोरात्र सडक जाम व्यवस्थापनमा खटिनुहुने ट्राफिक प्रहरीहरूप्रति मेरो उच्च सम्मान रहेको छ। उहाँहरू सबैलाई ‘जय नेपाल’।

अहिलेसम्म हामीले सडक जामको प्राविधिक पक्षमा धेरै वा सक्दो ध्यान दियौं, चिन्तन गर्‍यौं। थप छलफल गर्नुपूर्व, हाम्रो प्रयत्नलाई गिज्याइरहेको एउटा तथ्यलाई यहाँ पेश गर्नै पर्दछ।

४० लाखभन्दा धेरै दर्ता भएका सवारी साधन गुड्ने, ७० हजार किलोमिटरभन्दा धेरै सडक सञ्जाल भएको देशमा यातायात व्यवस्थापनलाई बृहत् रूपमा अध्ययन, अध्यापन र अनुसन्धान गराउने डेडिकेटेड शैक्षिक/प्राज्ञिक निकाय छैनन्। हामीले यो विषयलाई कति प्राथमिकता दिएका छौं, त्यसैले नै छर्लङ्ग पार्दछ। सडक जाम मात्रै होइन, राष्ट्रिय प्राथमिकताका अनेकौं त्यसता विषय छन् जसको जनशक्ति र ज्ञान उत्पादन हाम्रो प्राथमिकताको विषय कहिल्यै पनि बनेन। सुन्दा अलि अतिवादी लाग्ला, तर हामी चन्द्रमा वा मंगल ग्रहबाट कोही आएर गरिदिने विकासको प्रतीक्षामा छौं।

नाटक जस्तै देखिने विश्वविद्यालयका नियुक्तिका विषयहरू दैनिकजसो अखबारमा प्रमुख प्राथमिकताका समाचार हुन्छन्। आफूलाई जान्ने–सुन्ने भन्ने जनप्रतिनिधिले अन्य दुई तहका सरकारलाई सत्तो-सराप गरेका समाचारले पनि उत्तिकै प्राथमिकता पाउँछन्। तर सडक जाम, त्यो पनि मध्य–दिनमा शहरको केन्द्रबिन्दुमा हुने जाम; यसका कारण, प्रभाव, समाधान खोज्ने अध्ययन र अनुसन्धानमा सहकार्य गरौं भनेर प्रस्ताव नगरेका होलान् कि त्यस्ता विषय समाचार नबनेका होलान्, हाम्रा मनका स्थायी प्रश्नहरू बनेका छन्।

तमाम अर्थ–राजनीतिक कारण छन् जुन मध्य–दिनमा सडक जामसँग जोडिएका छन्। हामीले पनि अन्य विकसित देशहरू जस्तै सडक जामले सृजित गर्ने आर्थिक, सामाजिक समस्यालाई संख्यामा मापन गर्ने र त्यसको दीर्घकालीन समाधान खोज्न कत्ति पनि ढिलाइ गर्नुहुँदैन

माथि चर्चा गरे जस्तै सडक जामको बारेमा नेपालको वर्तमान बहस मूलतः प्राविधिक विषयमा केन्द्रित छ। सडक निर्माण एवं मर्मतसम्भार, शहरी पूर्वाधार विकास रणनीतिको अभाव (कुन ठाउँमा कस्ता सेवा प्रदायकलाई अनुमति दिने, नदिने), सवारी साधन व्यवस्थापन (खासगरी साना र ठूलाको बहस) ट्राफिक व्यवस्थापन, सार्वजनिक यातायात व्यवस्थापन, जाम हुने स्थानमा प्रवेश शुल्क व्यवस्था, वैकल्पिक सार्वजनिक सवारी साधन (मोनो रेल आदि) को विकास आदि-आदि थुप्रै विषयमा घनीभूत छलफल (संवाद होइन – छलफलमा सूचना मात्रै आदानप्रदान हुन्छ भने संवादमा समस्या समाधानलाई केन्द्रबिन्दुमा राखिएको हुन्छ) हुने गरेको छ। एकाधले सडक जामले सडक प्रयोगकर्तामा पार्ने आर्थिक, सामाजिक जस्तै स्वास्थ्यका विषयमा पार्ने मर्काहरूको बारेमा पनि चर्चा गर्ने गरेको देखिन्छ।

माथिका कारणहरू मध्य–दिनमा हुने सडक जाम सम्बन्धित छन् तर व्याख्या गर्न पर्याप्त छैनन्। मध्य–दिनमा सधैं जस्तो हुने सडक जामभित्र हाम्रा शहरहरूको अर्थ-व्यवस्था र राज्य सञ्चालनका समस्या चित्रित छन्।

मध्य–दिनमा हुने सडक जामलाई प्रष्टसँग बुझ्न विकसित देशमा मध्य–दिनमा सो समयमा किन जाम हुँदैनबाट सुरु गर्दा सहज होला। उक्त समयमा विकसित देशहरूका शहरमा बसोबास गर्ने मानिसहरूमध्ये काम गर्ने उमेरका प्राय: सबै उद्योग वा कार्यालयमा बसेर काम गरिरहेका हुन्छन्। विद्यार्थीहरू विद्यालय र विश्वविद्यालयमा अध्ययन गरिरहेका हुन्छन्। सडक सुनसान हुन्छन्।

त्यसो भए हाम्रो हकमा किन धेरै मानिस सो समयमा सडकमा जानै पर्ने बाध्यतामा छन् त? कुरा प्रष्ट छ। हाम्रा शहरमा कार्यालयमा बसेर मात्रै गर्ने रोजगारीको कमी छ। फेरि, अन्य देशमा कार्यालयमा बसेर गर्न सकिने काम गर्न पनि हाम्रो देशमा सम्बन्धित सरोकारवालालाई प्रत्यक्ष भेट्नै पर्ने हुन्छ। एक पटकमा भेटेर सकिने कामलाई पनि पटक-पटक भेट्नुपर्ने हुन्छ। धेरै व्यक्ति एकअर्कालाई भेट्न, बैठक वा छलफल गर्न भौतिक रूपमा उपस्थित हुनुपर्ने बाध्यताले कार्यालयमा बसेर काम गर्नुपर्ने व्यक्तिहरू पनि मध्य–दिनमै सडकमा ओहोरदोहोर गर्न बाध्य भएका छन्।

समयमा भनेको व्यक्ति नभेटिने हुँदा सबै सेवाग्राही फर्स्ट आवरमा कार्यालय पुग्नुपर्ने बाध्यता हुन्छ। माथि भने झैं, कार्यालयका प्रमुख व्यक्तिहरूले धेरै बैठकमा सहभागी हुनुपर्ने संरचनाले कार्यालय प्रमुखहरू कार्यालयमा धेरै भेटिंदैनन्। सोही समयमा अरू देशमा विश्वविद्यालयमा कक्षा सुरु हुने समयमा हाम्रोमा सकिन्छ। त्यो ठूलो समूह पनि विविध तयारी वा बहानामा फेरि सडकमा नै आउँछ। यसरी शहरका हाम्रा सडकहरू मध्य–दिनमा खचाखच छन्।

यस्ता धेरै कारण र सम्बन्धमध्ये तीन प्रमुख कारणलाई बृहत् रूपमा नियाल्दा हाम्रो वर्तमान बुझ्न सहज हुन्छ। पहिलो, हाम्रो उत्पादकत्व वा कार्य सम्पादनको संस्कार, पद्धतिमा समयानुकूल सुधारको अभाव, सामाजिक सम्बन्धमा बढ्दो विश्वासको संकटका कारण एउटा सानो काम गर्न पनि धेरै प्रयत्न गर्नुपर्ने, अर्को शब्दमा सरोकारवाला धेरै पटक भेट्नुपर्ने अवस्था सिर्जना भएको छ।

विकसित देशमा एउटा सानो इमेल वा म्यासेजमा हुने काम गर्न यहाँ पटक-पटकको छलफल र भेटघाट आवश्यक हुन्छ। धेरै मानिस त्यसमध्ये पनि ठूला सवारी साधन, निजी सवारी साधन प्रयोग गर्ने मानिसहरू कार्यालयमा बस्ने समय भन्दा छलफल र बैठक गर्न बाहिर निस्कनुपर्ने अवस्था भएपछि सडक जाम हुने नै भयो।

यसलाई थप व्याख्या गर्ने हो भने, हामी भौतिक बैठक वा छलफल गरेर निर्णय लिनुपर्ने विषयको दायरालाई घटाउने भन्दा पनि बढाउनेतर्फ उन्मुख छौं। कुनै विषयमा इमेल पठायो भने केही दिनपछि फोन आउँछ र प्रस्ताव गरिन्छ– ‘दुई-चार दिनमा भेटेर सल्लाह गरौंला!’

सिङ्गो अर्थ-व्यवस्था र राजनीतिक प्रणालीमा आमूल सुधार विना दीर्घकालीन हुन कठिन छ भन्ने खतराको घन्टीको रूपमा, हामीले तत्काल सुधार गर्नुपर्ने मार्गचित्र प्रस्तुत गर्ने आधारको रूपमा हेर्नुपर्दछ। हामी सबैले स्वीकार गर्नुपर्दछ, राजधानीमा हरेक दिन जस्तै मध्य–दिनमा सडक जाम हुने देश सजिलै समुन्नत हुन सक्दैन

सानो भन्दा सानो काम गर्न पनि धेरै संवाद गर्नुपर्ने अवस्था हाम्रो आजको वास्तविकता हो। भेटेर, आँखा जुधाएर गफ गरेपछि मात्रै काम अगाडि बढ्ने हाम्रो संस्कार नै भइसकेको छ। त्यसमा पनि कुनै छलफल वा बैठकको पूर्व तयारी अभावका कारण दोहोर्‍याएर, तेहेर्‍याएर भेटेर बैठक वा छलफल गर्नुपर्ने अवस्थाका हामी दिनहुँ जस्तो सिकार बनेका वा अरू कसैलाई सिकार बनाइरहेका हुन्छौं। यसरी कार्यालयमा बसेर काम गर्ने भन्दा छलफल र बैठकमा जानु हाम्रो प्रमुख काम बन्न पुगेको हुन्छ। त्यसैले शहरको सडक दिउँसोको समयमा पनि खचाखच हुन्छ।

दोस्रो, कार्यालयका प्रमुख वा मुख्य मानिसहरू बैठकमा धाउनुपर्ने भएपछि सेवाग्राहीहरूले हाकिम भेट्न मध्य–दिनभन्दा अगाडि नै कार्यालयमा पुगेर कुरेर बस्नुपर्ने बाध्यता सिर्जना भयो। ‘हाकिम साब कति खेर आउनुहुन्छ होला?’ आम नेपालीले सबैभन्दा धेरै गर्ने प्रश्न बनिसकेको छ।

उता माथि उल्लेख गरे जस्तै हाकिम साब एउटा सानो बैठक सकेर आउने सिलसिलामा सडक जाममा हुनुहुन्छ। यस्तो अवस्थाले पनि मानिसहरूलाई एकै समयमा सडकमा ल्याउने काम गरिरहेको छ। एकातिर वास्तविक सत्य नहुँदा नहुँदै पनि सरकारी कार्यालयमा दिनको ११-१२ बजेदेखि खाजा समय अगाडिसम्म मात्रै काम हुन्छ भन्ने डरलाग्दो भाष्यले आम नागरिकको दिमागमा जरा गाडेको छ ।

अर्कोतर्फ बैंक, वित्तीय संस्था, शैक्षिक संस्थाका प्रशासनिक कामकारबाहीहरू पनि २-३ बजे अगाडि नै बन्द हुँदा पनि सबै मानिस ११-१२ बजेदेखि २-३ बजेसम्म काम सक्न हतार-हतार सडकमा कुद्नुपर्ने अवस्था सिर्जना भएको छ। सार्वजनिक सेवा प्राप्त गर्ने कार्यालयमा जुन बेला गए पनि सेवा प्राप्त गर्न सकिने अवस्था भएको भए सेवाग्राहीहरू छरिएर सम्बन्धित कार्यालय जान्थे।

फेरि, कुनै एउटा काम सम्पन्न गर्न भ्रमण गर्नुपर्ने दुई वा सोभन्दा कार्यालय एकै स्थानमा नहुँदा एउटा कार्यालयबाट अर्को कार्यालयमा जान फेरि पनि सडकमा नै आउनुपर्ने अर्को बाध्यता छ। वर्षौंदेखि हरेक दिन जस्तै मध्य–दिनमा शहरमा सडक जाम हुँदा पनि हाम्रा सार्वजनिक कार्यालय, व्यापारिक केन्द्र र कल-कारखानालाई कुन स्थानमा कसरी स्थानान्तरण गर्ने भन्ने बारेमा आम सहमतिको रणनीति, कार्यविधि र सहकार्य अभाव यथावत् छ। यस अर्थमा हाम्रो जाम राजनीतिक वा राज्य सञ्चालनमा हाम्रो परिपक्वताको अभावको कारण सृजित समस्या हो।

तेस्रो, हाम्रो शहरहरू त्यसमा पनि राजधानी काठमाडौंको थोक तथा खुद्रा पसल केन्द्रित अर्थतन्त्रको संरचनालाई माथिको चित्रसँग जोडेर हेर्‍यो भने मध्य–दिनमा शहरको केन्द्रमा किन सधैं जसो जाम हुन्छ छर्लङ्ग हुन्छ। नेपालको अर्थतन्त्रको झन्डै ४० प्रतिशत हिस्सा अनौपचारिक क्षेत्रमा रहेको विषय धेरै अध्ययनले प्रमाणित गरेका छन्।

मूलतः कृषि, घरजग्गा, खाद्य सेवा जस्ता क्षेत्रहरू अनौपचारिक हिस्सा धेरै भएका क्षेत्रमा पर्दछन्। साथै, नेपाल व्यापार सर्वेक्षण, २०७८ अनुसार बागमती प्रदेशमा नेपालमा रहेका थोक तथा खुद्रा व्यापार पसलमध्ये १ लाख ४४ हजार ४४० वटा अर्थात् २९ प्रतिशत पसल रहेका छन्।

यस अर्थमा राजधानी काठमाडौंमा आर्थिक गतिविधिमा संलग्न व्यक्तिहरूमध्ये एउटा ठूलो हिस्सा अनौपचारिक क्षेत्रमा र त्यसमा पनि थोक तथा खुद्रा व्यापारमा संलग्न छ। औपचारिक सम्बन्ध र व्यावसायिक रूपमा एउटा पसललाई एकै ढुवानीकर्ताले सामान पुर्‍याउने संरचना वा पद्धतिको अभावको कारण एउटा कि त पसलको एक जनाले सामान दिनभर जसो सामान संकलन गरिरहनुपर्ने वा एउटा सानो पसलमा दिन भरमा धेरै ढुवानीकर्ताले सेवा दिनुपर्ने अवस्था छ। घर-घरमा रहेका पसलहरू छन्। त्यसता पसलमा सर-सामान पुर्‍याउन धेरै सवारी साधन र व्यक्तिहरूको मिहिनेत खर्च भइरहेको छ। फेरि यसले पनि धेरै व्यक्तिलाई मध्य–दिनमा नै सडकमा ओरालिरहेको छ।

हाम्रो राजनीति वैकल्पिक आर्थिक गतिविधिलाई प्रवर्धन गर्न पनि नराम्रोसँग चुकेको छ। जसरी गाउँमा कृषि गुजाराको सहारा बनिरहेको छ, शहरमा पसल त्यस्तै सहारा मात्रै हो। तर पसलको संख्या जति वृद्धि हुन्छ त्यसले शहरमा हुने जाम बढाउने नै हो।

यस्ता तमाम अर्थ–राजनीतिक कारण छन् जुन मध्य–दिनमा सडक जामसँग जोडिएका छन्। हामीले पनि अन्य विकसित देशहरू जस्तै सडक जामले सृजित गर्ने आर्थिक, सामाजिक समस्यालाई संख्यामा मापन गर्ने र त्यसको दीर्घकालीन समाधान खोज्न कत्ति पनि ढिलाइ गर्नुहुँदैन। मध्य–दिनमा हुने सडक जामले हामीलाई भनिरहेको छ— ‘तिम्रा शहरका धेरै नागरिक सृजनशील काम भन्दा पनि साधारण काममा धेरै समय खर्च गरिरहेका छन्।’

सिङ्गो अर्थ-व्यवस्था र राजनीतिक प्रणालीमा आमूल सुधार विना दीर्घकालीन हुन कठिन छ भन्ने खतराको घन्टीको रूपमा, हामीले तत्काल सुधार गर्नुपर्ने मार्गचित्र प्रस्तुत गर्ने आधारको रूपमा हेर्नुपर्दछ। हामी सबैले स्वीकार गर्नुपर्दछ, राजधानीमा हरेक दिन जस्तै मध्य–दिनमा सडक जाम हुने देश सजिलै समुन्नत हुन सक्दैन। समुन्नतिका लागि शहरका सडक जाम अन्त्य गरौं !

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here