विद्यार्थीको भविष्यमाथि गम्भीर खेलबाड,एसईईको नतिजामा के कारणले भयो त्रुटि ?
काठमाडौँ । गत असार १३ गते माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भयो । नतिजा प्रकाशन भएसँगै रूपन्देहीको एशियन लाइट इंग्लिस बोर्डिङ स्कूलका दुई जना छात्राले आत्महत्या गरे । एसईईमा ‘नन ग्रेडेड’ (एनजी) आएपछि पूजा न्यौपाने र श्रृष्टि गुप्ताले आत्महत्या गरेका थिए । दुवै जनाको गणित र विज्ञानमा ‘एनजी’ आएको थियो ।
एक विषयमा पनि ‘एनजी’ आएको खण्डमा नतिजामा ‘एनजी’ देखाउँछ । विस्तृतमा नतिजा हेर्दामात्रै कुनकुन विषयमा ‘एनजी’ आएको भनेर देखाउँछ । उनीहरू दुवै जनाको नतिजा सुरूमा ‘एनजी’ देखायो । त्यसपछि विस्तृतमा हेर्दा गणित र विज्ञानमा ‘एनजी’ देखायो ।
स्कूलका प्रिन्सिपल केशव खनालले नतिजा सार्वजनिक भएको भोलिपल्ट दुवै जनाले आत्महत्या गरेको बताए ।
त्यस्तै दोलखामा समेत एसईईको नतिजा सार्वजनिक भएसँगै एक छात्राले आत्महत्या गरिन् । गौरीशंकर गाउँपालिका–२ जुँगुकी १६ वर्षीया जेनिसा बुढाथोकीले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी थिइन् ।
निलकण्ठेश्वर माविबाट परीक्षा दिएकी जेनिसाको गणित, विज्ञान र कम्प्युटर गरी तीन विषयमा ‘एनजी’ आएको थियो । आफ्नो नतिजा राम्रो नआएको भन्दै सुसाइट नोट लेखेर आफ्नै घरको माथिल्लो तलामा झुण्डिएर उनले आत्महत्या गरेकी थिइन् ।
विद्यालयका प्रधानाध्यापक शान्त लामा शेर्पाका अनुसार नतिजा आएपछि आफूले पढ्न नपाउने भएँ भन्दै जेनिसाले आमाबुबासँग कुरा गरेकी थिइन् । नतिजा सार्वजनिक भएको दिन खेतबारीमा आमाबुबासँगै काम गरिरहेकी उनी एकछिन टिभी हेर्न घर जान्छु भन्दै हिँडेकी थिइन् । लामो समयसम्म पनि खेतमा नआएपछि हेर्न जाँदा उनी झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।
निलकण्ठेश्वर माविबाट २०८० सालको एसईईमा ४५ जना विद्यार्थी सहभागी भएकोमा ११ जना विद्यार्थीले मात्रै जीपीए (उत्तीर्ण) प्राप्त गरेका थिए । नतिजा सार्वजनिक भएसँगै राष्ट्रिय परीक्षा बोर्डले दुई विषयमा एनजी आएकालाई मात्रै मौका परीक्षाको व्यवस्था गरेको थियो । तर, नतिजा सार्वजनिक भएको भोलिपल्ट (असार १४ गते) शिक्षा मन्त्रालयले एनजी आएका सबैले मौका परीक्षा दिन पाउने निर्णय गरेको थियो ।
‘तीन विषयमा एनजी आएपछि मेरो यो वर्ष खेर जाने भयो । अर्को वर्ष सबै परीक्षा दिनुपर्ने भयो भनिरहेकी थिइन रे । तर, एनजी आएका सबैले मौका परीक्षा दिन पाउने निर्णय गरिदिएको भए सायद त्यस्तो दुःखद् घटना हुँदैनथियो होला,’ प्रधानाध्याक शेर्पाले भने ।
त्यस्तै संखुवासभाको खाँदबारी नगरपालिका– ३ का १७ वर्षीय आशिष घिमिरेले समेत नतिजा सार्वजनिक भएकै राति कम ग्रेड आएको भन्दै आत्महत्या गरेका थिए । तीन तले घरको दोस्रो तलाको बरन्डामा झुण्डिएको अवस्थामा उनको शव फेला परेको थियो ।
हरेक वर्ष एसईईको नतिजापछि आत्महत्याका घटना हुने गरेका छन् । तर कतिपय विद्यार्थीको भने सार्वजनिक भएको नतिजा परिवर्तन समेत हुने गरेको छ ।
नतिजामा खेलबाड
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईईको नतिजामा चित्त नबुझे पुनर्योग (रि–टोटलिङ) को व्यवस्था गरेको छ । पुनर्योगका लागि १८ हजार ६१२ जनाले आवेदन दिएकोमा ११ हजार ४२६ जनाको नतिजा पुनः हेर्दा ६२१ जनाको नतिजा परिवर्तन भएको बोर्डले जनाएको छ । सार्वजनिक भएको पुनर्योगको नतिजा अनुसार हालसम ५.४३ प्रतिशत विद्यार्थीको नतिजा परिवर्तन भएको छ । जसमा एनजी आएका १० जना विद्यार्थीको पुनर्योगपछि चार जीपीए आएको छ । तर, राम्रो ग्रेड आएर पुनर्योग गराउँदा कम ग्रेड भने आएको देखिँदैन । १०५ जना विद्यार्थीको पुनर्योगपछि चार जीपीए आएको छ ।
- रि–टोटलिङको लागि आवेदन सङ्ख्या – १८,६१२ जना ।
- हालसम्म रि–टोटलिङ गरिएको सङ्ख्या – ११,४२६ जना ।
- हालसम्म नतिजा परिवर्तन – ६२१ जना ।
- चार जीपीए ल्याउने विद्यार्थी सङ्ख्या – १०५ जना ।
- एनजी आएर चार जीपीए ल्याउने सङ्ख्या – १० जना ।
- एनजी आएर परिवर्तन भएको नतिजा –
के कारणले नतिजामा त्रुटि भयो ?
विगतका वर्षहरूमा थोरै सङ्ख्यामा पुनर्योगका लागि आवेदन दिने गरेका थिए । तर, २०८० सालको नतिजामा धेरै सङ्ख्यामा आवेदन परेका हुन् । पुनर्योगका लागि आएका आवेदनहरूमा त्रुटिसमेत भेटिने गरेको छ ।
आखिर किन धेरै त्रुटि भयो ? राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को परीक्षा नियन्त्रक नन्दलाल पौडेलले विभिन्न खालका त्रुटि हुने गरेको बताए । त्रुटि हुनुमा विभिन्न फ्याक्टरले काम गर्ने उनको भनाइ छ ।
‘कापी परीक्षणदेखि नम्बर कम्प्युटरमा राख्दासम्म त्रुटि हुन्छन् । यसमा विद्यार्थीका गल्ती, शिक्षकका गल्ती, कर्मचारीका गल्ती देखिन्छन् । लामो प्रक्रिया भएकाले समस्या हुने हो,’ उनले भने ।
ठुलो सङ्ख्यामा काम गर्दा १/÷२ अङ्कले पनि फरक पर्ने भन्दै उनले बाहिर भने धेरै समस्यै भयो जस्तो गरी कुरा उठ्ने गरेको बताए । पुनः चेकको काम भइरहेको र के कस्तो त्रुटि भेटिन्छन्, त्यसमा पहिचान गर्दै आएको उनको भनाइ छ । पुरक परीक्षा अगावै पुनर्योगको नतिजा सक्नेगरी काम गरिरहेको उनले प्रस्ट पारे ।
उत्तरपुस्तिका परीक्षणमा कमजोरी देखियो, अनुसन्धान गर्छौं : शिक्षामन्त्री
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले एसईईको उत्तरपुस्तिका परीक्षणमा कमजोरी भएको बताएकी छन् । बुधबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले बोर्डसँग छलफल गर्दा परीक्षण तथा अङ्क चढाउने गर्दा समस्या हुने गरेको बताइन् ।
अब पूरक परीक्षापछि बोर्डको लापरवाहीबारे अध्ययन गरिने उनको भनाइ थियो ।
‘चेकिङमा इरर छ । पोष्टिङ गर्दा, इण्ट्री गर्दा इरर देखियो । पूरक परीक्षापछि बोर्डसँग बसेर कसको कमजोरीले यसरी विद्यार्थीको नतिजा लापरवाही भएको हो ? पत्ता लगाउन भनिसकेको छ,’ उनले भनिन्, ‘कारबाही गर्नुपर्ने हो कि के गर्नुपर्ने हो गर्छौँ । बोर्डलाई नै पुनसंरचना गर्नुपर्ने हो कि, त्यहाँ अपर्याप्त भएका कुराहरू के के हुन्, जसले गर्दा यस्ता इरर आउने स्थिति बन्यो । त्यसमा रिभ्यू गरेर जाने भन्ने हिसाबले केही निर्णय गरेका छौँ ।’
यो विषयमा मन्त्रालय गम्भीरताका साथ लागिरहेको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्