वर्षाले बढ्यो कुलेखानी ड्यामको जलसतह, कस्तो छ जोखिम

जलाधार क्षेत्रमा भइरहेको वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलाशयमा पानीको सतह बढेको छ।

जलाशयमा पानीको सतह बढेर १५२७.५९ मिटर पुगेको कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रल्हाद राउतले जानकारी दिए।

frontline

जलाशयमा पानीको सतह बढे पनि कुलेखानी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन भइरहेको छ।

विद्युत् उत्पादन भइरहेकाले जलाशयमा पानी सञ्चित हुने क्रम केही सन्तुलित रहेको र हाल तत्काल जोखिम बढ्ने अवस्था नरहेको केन्द्र प्रमुख राउतले बताए।

‘अघिल्लो पटकको वर्षाका बेला पानीको सतह १५२७ मिटर पुग्नेबित्तिकै हामीले सबैलाई अलर्टमा राखेका थियौँ,’ राउतले शुक्रबार बिहान नेपालखबरसँग भने, ‘हिजो रातिदेखि परेको पानीले जलाशयको सतह तीव्र रूपमा बढेको छैन। विद्युत् उत्पादन पनि भइरहेको छ। जलाधार क्षेत्रमा भारी वर्षा नभएकाले पानीको सतह बढ्ने क्रम न्यून छ।’

उनका अनुसार हाल पानी थपिने क्रम तीव्र नरहेको र ड्याममा तत्काल कुनै जोखिम वा खतरा देखिएको छैन। कुलेखानी जलाशयको अधिकतम पानी भण्डारण क्षमता १५३० मिटर हो। अहिलेको जलसतह अधिकतम क्षमताभन्दा २.४१ मिटर मात्रै कम छ।

जलाधार क्षेत्रमा थप वर्षा भएमा जलाशयमा पानीको सतह अझै बढ्न सक्ने भएकाले आगामी वर्षाको अवस्थाले जलाशयको जोखिम निर्धारण गर्नेछ। कुलेखानी जलाशयमा पानीको सतह अधिकतम क्षमतानजिक पुग्दा बाँधको अवस्था, पानीको निकास र तल्लो तटीय क्षेत्रको सुरक्षालाई विशेष ध्यान दिनुपर्ने हुन्छ।

आवश्यकताअनुसार बाँधबाट पानी निकास गर्नुपर्ने अवस्था आएमा इन्द्रसरोवरदेखि बागमती नदीको तटीय क्षेत्रसम्मका बस्ती प्रभावित हुन सक्ने जोखिम रहन्छ। त्यसैले जलाशयको जलस्तर र जलाधार क्षेत्रमा हुने वर्षाको नियमित निगरानी महत्त्वपूर्ण मानिन्छ।

कुलेखानी जलाशयमा वर्षायाममा पानी सञ्चित गरी हिउँदमा विद्युत् उत्पादन गरिँदै आएको छ।

जलाशयमा सञ्चित पानीबाट कुलेखानी प्रथम, दोस्रो र तेस्रो जलविद्युत् आयोजना सञ्चालन हुँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here