लोकतन्त्र नै समाप्त पार्ने चलखेल भइरहेको छ : ओली
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र समाप्त पार्नेगरी राजनीतिक चलखेल भइरहेको बताएका छन् । सिंहदरबारमा जारी एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दावी गरेका हुन् ।
अहिले देशको अवस्था अत्यन्तै खराब रहेको उनको भनाइ छ । अध्यक्ष ओलीले सत्तारुढ दल नेपाली कांग्रेसका एकजना उच्च पदाधिकारीले स्वतन्त्र सांसदलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको समेत दाबी गरे ।
उनले भने, ‘अहिले देशको अवस्था नराम्रो छ । राजनीतिक हिसाबले गैरजिम्मेवार चलखेल भइरहेको छ । लोकतन्त्रको औचित्य नै समाप्त पार्ने गरी चलखेल भइरहेको छ । नेपाली कांग्रेसका एकजना उच्चस्तरीय पदाधिकारीले स्वतन्त्र हैसियतको सांसदलाई प्रधानमन्त्री बनाउनपर्छ भन्नुभयो । देश कहाँ पुग्यो ?’
संघीय संसदको तेस्रो अधिवेशन सुरु हुन दुई दिनअघि एमालेले संसदीय दलको बैठक बसेको हो । संसदको अधिवेशन सोमबार सुरु हुँदैछ ।
आज र भोलि दुई दिनका लागि दलको बैठक बस्दैछ । बैठकमा अध्यक्ष ओलीले पछिल्लो राजनीतिक अवस्थाका साथै एमाले सांसदहरूले संसद्मा खेल्नुपर्ने भूमिकाका बारेमा ब्रिफिङ गर्ने भएका छन् ।
प्रतिक्रिया दिनुहोस्