रौतहटको गरुडा नगरपालिकामा हाकिम नीलमको दादागिरी
रौतहट : रौतहटको गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव नीलम कुमार न्यौपानेको हैकमवादी, मनपरी तथा विवादास्पद कार्यशैलीका कारण नगरपालिकाको समग्र कामकाज अस्तव्यस्त बन्दै गएको भन्दै जनस्तरमा तीव्र असन्तुष्टि बढ्न थालेको छ ।
हाकिम न्यौपानेको बदमासीका कारण नगरपालिकाभित्र विकास निर्माण, प्रशासनिक सेवा प्रवाहदेखि दैनिक कामकाजसम्म प्रभावित बनेको आरोप लागिरहेको छ । जनप्रतिनिधि, सेवाग्राही तथा स्थानीयवासीहरूले प्रमुख प्रशासकीय अधिकृत न्यौपानेको कार्यशैलीका कारण नगरपालिकाको वातावरण बिग्रँदै गएको बताएका छन् ।
नगर प्रमुख कन्थमणि प्रसाद जैसवालले समेत प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले समन्वयविहीन, एकलौटी तथा मनपरी ढंगले काम गरिरहेको आरोप लगाएका छन् ।
मेयर जैसवालका अनुसार न्यौपानेले आफूलाई जानकारी नदिई, कुनै छलफल तथा समन्वय नगरी हरेक काम आफुखुसी मनलाग्दी गर्ने गरेका छन । मेयर जैसवालले प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले आफ्नो फोनसमेत नउठाउने, बोलाउँदा उपस्थित नहुने तथा संवादबाट टाढा भाग्ने गरेको दुखेसो गरेका छन् । उनले आफूलाई बाइपास गर्दै विपक्षीसँग मिलेर नगरपालिकाको कामकाज प्रभावित पार्ने काम गरिरहेको आरोपसमेत लगाएका छन् ।
त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत न्यौपाने नियमित रूपमा समयमा कार्यालयमा उपस्थित नहुने, मनलाग्दी रूपमा आउने र छोटो समयमै फर्किने गरेकाले सेवाग्राहीहरूले सास्ती भोग्नुपरेको गुनासो बढेको छ ।
नीलम कुमारले नगरपालिकाभित्र जनप्रतिनिधिबीच अविश्वास, विवाद र गुटबन्दी सिर्जना गरेर प्रशासनिक संयन्त्रलाई नै अस्तव्यस्त बनाएको आरोपसमेत लागिरहेको छ । वडा अध्यक्षहरूले भनेका काम गर्ने तर मेयरले कानुनअनुसार अघि बढाउन खोजेका योजना रोक्ने गरिएको आरोप पनि उठेको छ । आर्थिक वर्ष समाप्त हुन लाग्दासमेत धेरै विकास योजना अघि नबढ्दा करोडौं रुपैयाँ फ्रिज हुने जोखिम बढेको बताइएको छ । नगरस्तरीय देखि लिएर अन्य बिकास निर्माणका योजनाहरू रोकिएपछि स्थानीयवासीहरू थप आक्रोशित बनेका छन् ।
अफिसको काम छाडेर उनले जनप्रतिनिधीहरु लाई जुधाउने, झग्डा लगाउने, उचाल्ने जस्ता गतिबिधी गरिरहेको आरोप लागेको छ ।
स्थानीयस्तरमा अब प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले आफ्नो बदमासी, हैकमवादी प्रवृत्ति र मनपरी शैली तत्काल सुधार नगरे कडा आन्दोलन सुरु हुने चेतावनीसमेत आउन थालेको छ ।
गरुडा नगरपालिकाको बिग्रँदो अवस्था सुधार गर्न सम्बन्धित निकायले समयमै ध्यान दिनुपर्ने मागसमेत उठ्न थालेको छ ।






प्रतिक्रिया दिनुहोस्