रुसले कब्जा गरेको युक्रेनी भू–भागमा सैनिक शासन लागू
२ कार्तिक, एजेन्सी । रुसले युक्रेनको डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिजझिया क्षेत्रमा ‘मार्शल ल’ अर्थात् सैनिक शासन लागू गरेको घोषणा गरेको छ ।
‘मैले रुसी महासङ्घका डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिजझिया गरी चार क्षेत्रमा मार्शल ल लागू गर्ने आदेशमा हस्ताक्षर गरेको छु’, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आज बुधवार टेलिभिजनमार्फत प्रसारण भएको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा भन्नुभयो ।
सम्बोधनपछि क्रेमलिनले एक निर्दैशन जारी गर्दै भोलि बिहीवार बिहानदेखि सैनिक शासन लागू हुने जनाएको छ ।
मस्कोको कब्जामा रहेको क्षेत्रमा महिनौँदेखि युक्रेनी सेना अघि बढिरहेका बेला पुटिनको यो घोषणा आएको हो ।
७० वर्षीय रुसी नेताले भन्नुभयो, ‘किभ सरकारले जनताको इच्छालाई मान्यता दिन अस्वीकार गरेको छ, वार्ताका लागि कुनै पनि प्रस्ताव अस्वीकार गरेको छ, गोली चलिरहेको छ, नागरिकको मृत्यु भइरहेको छ ।’
उहाँले युक्रेनले ‘आतङ्कवादी तरिका’ प्रयोग गरेको आरोप लगाउनुभयो । पुटिनले भन्नुभयो, ‘उनीहरूले हाम्रो भूमिमा विध्वंशकारी समूहहरू पठाउने गरेका छन् । मस्कोले क्रिमिया पुललाई लक्षित गरी भएको पहिलो घटनाबाहेकका अन्य आक्रमणहरूलाई विफल पारेको छ ।’
रुसी कानुनअनुसार सैनिक कानुनले सेनाको सुदृढीकरण, कर्फ्यु, आवागमनको सीमा, सेन्सरसिप र विदेशी नागरिकको नजरबन्दको अनुमति दिन्छ । रुसी राष्ट्रपति पुटिनले भन्नुभयो, ‘हामी सुरक्षा सुनिश्चित गर्न र रुसको भविष्यको रक्षा गर्न धेरै जटिल ठूला कार्यहरू समाधान गर्न काम गरिरहेका छौँ ।’
प्रतिक्रिया दिनुहोस्