रुसमा धनाढ्यहरूको रहस्यमय मृत्यु !
२९ भदौ, काठमाडौं । रुसमा विगत केही महिनायता ठूला कम्पनीका शीर्ष अधिकारीहरूको रहस्यमय मृत्युका घटना सार्वजनिक हुन थालेका छन् ।
त्यसक्रममा शनिवार (१० सेप्टेम्बर) इभान पेचोरिनको देहान्त भएको छ । उनी कर्पोरेसन फर द डिभलपमेन्ट अफ दी फार ईस्ट यान्ड दी आर्कटिकका व्यवस्थापक थिए । कम्पनीले बयान जारी गरेर उनको मृत्युको जानकारी दिएको हो । उनी भ्लादिभोस्तोकमा डुंगाबाट समुद्रमा खसेर मरेको बताइएको छ ।
यसअघि विगत ६ महिनाको अवधिमा आठजना अग्रणी रुसी धनाढ्यहरूको आत्महत्या वा दुर्घटनामा मृत्यु भएको छ । सेप्टेम्बर महिनाको आरम्भमा लुकआयल नामक विशाल तेल कम्पनीका अध्यक्ष राभिल मागानोभ मस्कोस्थित अस्पतालको झ्यालबाट खसेर बितेको खबर आएको थियो ।
अनि गत अप्रिल महिनामा नोभाटेक कम्पनीका पूर्व व्यवस्थापक सर्गे प्रोतोसेन्याको शव स्पेनस्थित एक विलासी भिल्लामा फेला परेको थियो । उनकी पत्नी र छोरीको शव पनि सँगै भेटिएको थियो ।
त्यस्तै अप्रिल महिनामै गाजप्रोमबैंकका पूर्व उपाध्यक्ष भ्लादिस्लाभ आभायेभ मस्कोस्थित आफ्नै फ्ल्याटमा मृत अवस्थामा भेटिएका थिए । उनका पत्नी र छोरी पनि उनीसँगै मारिएका थिए ।
अनि मे महिनामा लुकआयलका पूर्व शेयरधनी अलेक्जेन्डर सुब्बोटिन मुटु नचलेपछि बितेका थिए । धामीझाँक्रीबाट उपचार गराउने क्रममा उनको मृत्यु भएको बताइएको थियो ।
उनीहरू बाहेक लियोनिड शुलम्यान, अलेक्जेन्डर ट्युल्याकोभ, मिखाइल वाटफोर्ड, भ्लादिमिर ल्याकिशेभ, युरी भोरोनोभ लगायतका धनाढ्यहरूको पनि रहस्यमय मृत्यु भएको थियो । यसरी एकपछि अर्को गरी रुसी व्यापारीहरूको मृत्यु हुँदा त्यसका लागि को जिम्मेवार छ भनी चर्चा हुन थालेको छ ।
मृत्यु भएकामध्ये चारजना रुसी सरकारी ऊर्जा कम्पनी गाजप्रोममा काम गर्थे । गाजप्रोमले युक्रेनविरुद्ध रुसले चलाएको विशेष सैन्य कारवाहीको विरोध गरिरहेको थियो अनि युक्रेनी पीडितहरूप्रति सहानुभूति पनि दर्साएको थियो । युद्ध चाँडो अन्त्य गर्न पनि उसले आग्रह गरेको थियो ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेन आक्रमण निर्णयको विरोध गर्नेहरू पनि मारिइरहेको देख्दा क्रेमलिन यसका लागि दोषी रहेको निष्कर्ष पश्चिमी सञ्चारमाध्यमहरूले निकालेका छन् । तर यो बाहिर देखिए जति सहज कुरा हैन ।
अझ यो साता बितेका पेचोरिन त पुटिनका निकटवर्ती साझेदार थिए । पुटिनले भ्लादिभोस्तोकमा ऊर्जा र खनिजस्रोत विकसित गर्नका लागि बनाएको कम्पनीका उनी व्यवस्थापक थिए । उनले युक्रेन युद्धको विरोध पनि गरेका थिएनन् ।
त्यसो त हाल मरेका सबै धनाढ्यहरू पुटिनको नजिकैको मानिस भएको बताइन्छ । तर बेलायतको भर्जिनिया वाटरमा बसिरहेका मिखाइल वाटफोर्डले आफू पुटिनको कालो सूचीमा रहेको छिमेकीलाई बताएको भनी द सन पत्रिकाले लेखेको छ ।
रुसमा पारदर्शिताको अभाव भएकाले धनाढ्यहरूको रहस्यमय मृत्युको सत्यतथ्य सार्वजनिक हुने सम्भावना न्यून छ । मृत्यु भएका रुसी धनाढ्यहरूलाई संसारले ओलिगार्क भनी चिन्छ । त्यस्ता ओलिगार्कको कि त आफ्नै विशाल कम्पनीहरू छन् कि त उनीहरू ठूला कम्पनीको शीर्ष पदमा छन् ।
ओलिगार्कहरू र पुटिनको सम्बन्धको रोचक इतिहास छ । मिखाइल जाइगारको ‘अल द क्रेम्लिन्स मेन’, क्याथरिन बेल्टनको ‘पुटिन्स पिपुल’ र फिलिप शर्टले लेखेको बायोग्राफी ‘पुटिन ः हिज लाइफ यान्ड टाइम्स’ लगायतका पुस्तक अध्ययन गर्दा पुटिनले ओलिगार्कहरूसँग गरेको सम्झौताको तस्वीर तयार हुन्छ ।
सन् २००० मा राष्ट्रपति बनेलगत्तै पुटिनले क्रेमलिनमा एउटा बैठक बोलाएका थिए । उक्त बैठकमा उनले ओलिगार्कहरूलाई अकूत पैसा कमाइरहनका लागि अनुमति दिइने तर त्यसको बदलामा उनीहरू पुटिनप्रति बफादार रहनुपर्ने शर्त राखेका थिए ।
सन् १९९० को दशकमा बोरिस येल्तसिनले अमेरिकी निर्देशनमा लागू गरेको निजीकरण तथा उदारवादलाई कायम राख्दै ओलिर्गाकहरूलाई श्रीसम्पत्ति बढाउन पुटिनले छुट दिएका थिए । अनि ओलिर्गाकहरूले आफ्नो नियन्त्रणमा रहेको सञ्चारमाध्यममार्फत वा राजनीतिक प्रभावमार्फत सरकारलाई असहयोग गर्न नपाइने शर्त थियो ।
त्यस शर्तलाई ओलिगार्कहरूले माने अनि दुई दशकसम्म पुटिनप्रति पूर्ण बफादारिता व्यक्त गरिरहे । त्यसपछि पनि रुस सरकार र ओलिगार्कहरूबीच बैठक भइरहन्थ्यो । तर फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गर्दा सरकार र ओलिगार्कहरूले गरेको बैठक महत्त्वपूर्ण थियो ।
त्यस बैठकमा पनि पुटिनले ओलिगार्कहरूसँग बफादारिताको माग गरेका थिए भनी सर्बियाका अन्तर्राष्ट्रिय सम्बन्ध तथा सुरक्षा मामिलाविद् ओर्हान ड्रागास लेख्छन् ।
यसपालि पुटिनले गरेको बफादारिताको माग ओलिगार्कहरूका लागि असहज रह्यो किनकि युक्रेन युद्धपछि पश्चिमले ओलिगार्कहरूमाथि कठोर प्रतिबन्ध लगाउने पक्का थियो । नभन्दै ती ओलिगार्कहरूले पश्चिमी बैंकमा राखेका अर्बौं डलर रोक्का गरियो । उनीहरूको विलासी महल, जहाज र विमान समेत पश्चिमी सरकारहरूले जफत गरे ।
आफ्नो सम्पत्ति यसरी रोक्का भएको ओलिगार्कहरूलाई सहन गाह्रो परिरहेको थियो । त्यसैले लुकआयलका मागानोभले युद्ध रोक्नुपर्ने माग गरेका थिए । उनी अस्पतालको झ्यालबाट लडेर बिते भनिएको छ ।
अनि सन् १९९० मा निजीकरणका प्रखर पैरवीकार एनाटोली चुबाइस पनि युक्रेन युद्ध शुरू भएको एक महिनापछि रुसबाट भागे । उनले पनि युक्रेन युद्धको विरोध गरेका थिए । अहिले उनी युरोपको एक अस्पतालमा उपचार गराइरहेको बताइन्छ । उनी जस्ता अन्य कतिपय धनाढ्यहरू रुस छोडेर भागेका छन् ।
टेलिग्राम च्यानल मोझेम ओब्यास्नितमा रुसी गुप्तचर निकाय एफएसबीका पूर्व कर्मचारी गेन्नाडी गुदकोभले युक्रेन युद्धको विरोध गर्ने अनि रुस छोडेर भाग्ने सबैलाई रुस सरकारले तारो बनाइरहेको दाबी गरेका छन् । उनको भनाइमा विश्वास गर्ने हो भने सोभियत संघमा २९ वर्षसम्म तानाशाहस् शासन चलाएका जोसेफ स्टालिनको जस्तै नीति पुटिनले पनि अपनाइरहेका छन् ।
‘द डान्सर यान्ड द डेभिल : स्टालिन, पाव्लोवा यान्ड द रोड टु द ग्रेट प्यान्डेमिक’ शीर्षकको पुस्तकका लेखक जोन ओ’नील पुटिन युगमा सोभियतकालीन रणनीति अपनाउन थालिएको दाबी गर्छन् ।
स्टालिन युगमा आफ्ना विरोधीहरूलाई राज्यले अनेकौं विधि अपनाएर मार्ने गर्थ्यो । आत्महत्या जस्तो देखिने घटना सबभन्दा बढी प्रचलित थियो । त्यसैको पुनरावृत्ति पुटिनयुगमा भइरहेको हुन सक्छ ।
तर ओ’नीलको कुरा पूरै पत्याउन पनि गाह्रो छ । माथि पनि उल्लेख गरिएअनुसार, मरेका धनाढ्यहरू पुटिनका निकटवर्ती मानिस थिए ।
फाउन्डेसन फर डिफेन्स अफ डेमोक्रेसीज नामक संस्थाका रुस अनुसन्धान विश्लेषक जोन हार्डी मरेका मानिस पुटिनविरोधी नभएको बताउँछन् । उनीहरूलाई सुपारी दिएर हत्या गराइएको हुन सक्छ वा व्यापारिक समूहहरूले एकअर्काविरुद्धको प्रतिस्पर्धालाई हिंस्रक स्वरूप दिएका हुन सक्ने हार्डीको भनाइ छ ।
उनको भनाइलाई समर्थन पुग्ने गरी बेलायतको प्रख्यात थिंकट्यांक च्याथम हाउसका एसोसिएट फेलो जोन लोले एनबीसी न्युजसँग कुरा गर्र्दै तेल र ग्यास उद्योग क्षेत्रमा भइरहेको वित्तीय प्रवाहमा पहुँचका लागि झगडा चलिरहेको संकेत धनाढ्यहरूको मृत्युले देखाएको बताएका छन् ।
त्यसैले अहिले एकपछि अर्को गरी धनाढ्यहरूको मृत्यु हुनुमा एउटा मात्र कारण छैन । अनि अहिले आएर मात्र रुसमा यसरी प्रख्यात मानिसहरूको रहस्यमय मृत्यु भएको पनि हैन ।
पुटिनलाई चिढ्याएका कारण यिनीहरूलाई ठेगान लगाइएको भन्ने आशयमा पश्चिमी सञ्चारमाध्यममा आएका खबरलाई सोलोडोलो पत्याउन सकिन्न । युक्रेन युद्धपछि रुसका तेल र ग्यास कम्पनीहरूले गरेको कीर्तिमान कमाइले धनाढ्यहरूमा अस्वस्थ प्रतिस्पर्धा गराएकाले यी घटनाहरू भएको हुन सक्ने सम्भावनालाई पनि विचार गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्