रिहा हुन मानेनन् चार्ल्स शोभराज,केन्द्रीय कारागारमै पाहुनाका रुपमा बस्ने

७ पुस, काठमाडौं । सिरियल किलर फ्रान्सेली नागरिक चाल्र्स शोभराज बिहीबार रिहा नहुने भएका छन् ।

उनलाई केन्द्रीय कारागारबाट बिहीबार अध्यागमन विभाग लैजाने तयारी थियो ।

frontline

तर अध्यागमनले जिम्मा जमानीमा छाड्ने भएपछि शोभराजले रिहा हुन नमानेका हुन् । शोभराजलाई कानुनी सहयोग गरिरहेका गोपाल शिवाकोटीका अनुसार उनी बिहीबार केन्द्रीय कारागारमै पाहुनाका रुपमा बस्नेछन् ।

केन्द्रीय कारागारबाट चाल्र्स रिहा हुने भएपछि अध्यागमनका कर्मचारीहरु छलफलमा बसेका थिए । उनीहरुले चार्ल्सलाई कसैको जिम्मामा छाड्ने तयारी गरेका थिए ।

तर चार्ल्सले आफू बाहिर (होटलमा) बस्न इन्कार गरेका शिवाकोटीले बताए । उनले नमानेपछि बिहीबार राति केन्द्रीय कारागारमै राखेर शुक्रबार मात्र अध्यागमन कार्यालयमा लैजाने तयारी भएको हो ।

बुधबार सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान र तिलप्रसाद श्रेष्ठको इजलासले उमेर र स्वास्थ्य स्थितिलाई कारण देखाउँदै उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो ।

कारागार नियमावली, २०२० को नियम २९ (२ क) ले ६५ वर्ष उमेर पुगेका कैदीहरुलाई असल चालचलनको आधारमा वा ओछ्यानमा परी निको हुन नसक्ने अवस्थामा ७५ प्रतिशतसम्मको कैद सजाय छोट्याउन सक्ने व्यवस्था गरेको छ ।

चार वर्षअघि नै शोभराज ७४ वर्ष पुगिसकेका थिए । कारागार नियमावलीअनुसार शोभराजले आफू छुट्नुपर्ने दाबी गर्दै यसअघि पनि पटकपटक बन्दी प्रत्यक्षीकरणको रिट दिने गरेका थिए ।

तर कारागार नियमावलीमा भनिएको यो सुविधा नेपाली नागरिकले मात्रै पाउने भन्दै अदालतले उनलाई रिहा गर्ने आदेश दिन इन्कार गर्दै आएको थियो ।

अदालतले १२ फागुन २०७५ मा मुटु सम्बन्धी रोगको नियमित उपचार समेत गराइरहेका शोभराजले ७५ प्रतिशत कैद भोगिसकेकाले किन कैद सजाय मिनाहा किन नगर्ने भन्दै सरकारलाई प्रश्न गरेको थियो ।

पछिल्लो पटक फेरि उनलाई रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट परेको थियो । चार्ल्सल् १९ वर्ष अर्थात् ९५ प्रतिशत जेल सजाय पनि भोगेका थिए ।

उक्त रिटको सुनुवाइका क्रममा बुधबार न्यायाधीश सपना मल्ल प्रधान र तिलप्रसाद श्रेष्ठको इजलासले उनलाई रिहा गरेर १५ दिनभित्र स्वदेश फर्काउन आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here