राष्ट्रिय सभामा सांसदहरूले भने– ‘मसानघाट पुर्याएको राजतन्त्र फेरि कुर्लिन थाल्यो’

एकीकृत समाजवादी सांसद जयन्तीदेवी राईले नेपाली जनताको निम्ति अफापसिद्ध भनेर मसानघाट पुर्याएको राजतन्त्र फेरि कुर्लिरहेको छ भन्दै प्राप्त अधिकार नगुमाउन सबै सजग बन्नुपर्ने बताएकी छन् ।

२५ फागुन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिलाई लिएर राष्ट्रिय सभामा चर्को आलोचना भएको छ । सांसदहरूले राजवादी गतिविधिमा आपत्ति मात्रै जनाएका छैनन् । नियन्त्रणका लागि सरकारलाई आग्रह गरेका छन् ।




आइतबार राष्ट्रिय सभाको बैठकमा नेकपा एकीकृत समाजवादीकी सांसद जयन्तीदेवी राईले प्राप्त उपलब्धीको रक्षार्थ सबै परिवर्तनकारी शक्ति एक हुन आवश्यक रहेको बताइन् ।
‘हामीले परास्त गरेको, नेपाली जनताको निम्ति अफापसिद्ध छ भनेर मसानघाटमा पुर्याएको राजतन्त्र फेरि कुर्लिरहेको छ,’ उनले भनिन्, ‘प्राप्त अधिकार नगुमाउन सबै सजग बनौं ।’
संघीय लोकतान्त्रिक गणतन्त्र लामो संघर्ष गरेर प्राप्त भएको ख्याल गर्न र यसअनुसारको व्यवहार प्रदर्शन गर्न आवश्यक रहेको उनले बताइन् ।

‘फेरि पनि प्रतिगामी कुर्लंदैछन्, ब्युझँदैछन् र आज संविधानको उल्लंघन गर्न खोज्दैछन् । ६७/६८ वर्षसम्म लडेर प्राप्त गरेका उपलब्धी खोज्न चाहन्छन् । संघीय लोकतन्त्रमाथि धावा बोलिरहेका छन्,’ उनले सरकारको ध्यानाकर्षण गरिन् ।
नेकपा एकीकृत समाजवादीकै सांसद उदयबहादुर बोहरा लोकतन्त्रमाथिको प्रहार सैह्य नहुने चेतावनी दिए । ‘केही समययता काठमाडौं लगायत मुलुकका केही शहरहरूमा नाराजुलुस भइरहेका छन । उक्त जुलुसमा सरकार मात्रै होइन, लोकतन्त्रमाथि नै प्रहार भइराखेको छ,’ उनले भने ।
तर, सरकार गम्भीर नभएको भन्ने उनको आशंका छ । सरकार र मन्त्रीहरूको कार्यशैलीले प्रश्न उठाएको तर, त्यो प्रश्न व्यवस्थासँग सम्बन्धित नरहेको उनको भनाइ छ । सरकारले कार्यशैली सच्याएर गलत प्रवृतिलाई निरुत्साहित गर्नुपर्ने उनको आग्रह छ ।
पूर्वराजाको सक्रियता र व्यवस्था विरोधी आवाज कम गर्न संविधान हातमा नभएर माथमा धारण गरेर सरकारले सुशासन कायम गर्न सक्नुपर्ने बताउँछन् नेपाली कांग्रेसका सांसद युवराज शर्मा । यसो भए व्यवस्था विरोधी अभियान स्वतः निस्तेज भएर जाने उनको विश्वास छ । यसका लागि गणतन्त्रवादी दलहरूका बीचमा सहमति र सहकार्य आवश्यक रहेको उनको सुझाव छ ।
‘संविधानवादी राजनीतिक दलहरूबीच सहमतिको अधिकतम पहलको अपेक्षा राख्दछु,’ उनले भने । कांग्रेस सांसद शर्माले सरकारसँगै यस्तो अपेक्षा राखेका हुन् ।
माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले पनि राजावादीको नाममा भइराखेको गतिविधि नियन्त्रणमा लिन सरकारको ध्यानाकर्षण गरे ।
‘देशमा बढिराखेको अराजकता, संविधान विरोधी हर्कत सरकारले तुरुन्त नियन्त्रण गरोस् । कथित राजा फर्काउने नाममा जसले वंश विनाश गरे तिनैले जुन ढंगको नाटक मञ्चन गरिरहेका छन् त्यसको नियन्त्रण सरकारले गरोस्,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्