राष्ट्रियसभाको टोलीले गर्‍यो कोरलानाकाको अनुगमन

श्रोत : ईन्टरनेट

१३ कार्तिक, जोमसोम : राष्ट्रियसभाको टोलीले बिहीबार कोरलानाकाको अनुगमन गरेको छ। राष्ट्रिय सरोकार तथा समन्वय समितिअन्तर्गतको राष्ट्रिय गौरवको आयोजना हेर्ने उपसमिति टोलीले उत्तर/दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक तथा कोरलानाको स्थलगत अवलोकन गरेको हो ।

राष्ट्रिय गौरवको पोखराको क्षेत्रीय विमानस्थलको अनुगमन गरी हवाई सेवामार्फत हिमाली जिल्ला मुस्ताङ आएको टोलीले कोरलानाका र जोमसोम-कोरला सडक दुबैको जानकारी लिएको हो ।

frontline

राष्ट्रियसभा सदस्य एवं नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठ, उपसमिति सभापति अनिता देवकोटा, राष्ट्रिय सभा सदस्य इन्दिरादेवी गौतमसहित सचिवालयका दुई कर्मचारीको टोली मुस्ताङ आइपुगेका हो।

उनीहरुले सडक र नाका अवलोकन गरे । यसअघि जोमसोमस्थित कालिगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम कोरला सडकको कार्यालयमा पुगेर पछिल्लो सडकको अवस्थाका बारेमा जानकारी लिएका छन् । राष्ट्रिय सभाको टोलीले बिहिबारनै जोमसोम-कोरला सडक र कोरलानाकाको अवलोकन गरी जोमसोम फर्किएको छ ।

टोली शुक्रबार बिहान प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ पुगेर फर्किएको छ। राष्ट्रिय गौरवको आयोजना हेर्ने उपसमितिको टोलीले उपल्लो मुस्ताङका स्थानीयसँग सडक र नाकाको पछिल्लो अवस्थाको बारेमा जानकारी लिए।

नाका अवलोकन गरी फर्किएको टोलीले मुस्ताङका स्थानीय पत्रकारहरुलाई भ्रमणको बारेमा जानकारी गराए । पत्रकार भेटघाटका क्रममा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रैष्ठले आफुहरुको अनुमगन भ्रमण उपलब्धिमुलक भएको जानकारी दिए। 

राष्ट्रियसभा सदस्य श्रेष्ठले जोमसोम-कोरला सडकसम्म सवारी साधन पुग्नसक्ने भएपनि सो सडकको स्तरोन्नतिलाई तीव्रता दिनुपर्नेमा जोड दिए । उनले जोमसोम-कोरला सडकको छैटौं प्याकेजको २५ किमी सडक लामो समयदेखि ठेकेदारका कारण अलपत्र परेको रहेछ ,यस विषयलाई के गर्न सकिन्छ भन्ने विषयमाथि कुरा उठाउने बताए ।

उनले राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकको अवस्थामाको बारेमा सम्पूर्ण रिपोर्ट करिडोरसँग बिफ्रिङ गरेर जानकारी लिएको जनाए।

चीन पक्षले उत्तरी नाका सञ्चालन गर्न आवश्यक तैयारी पूरा गरिसकेको र नेपाल पक्षबाट पनि आवश्यक तैयारी गर्नुपर्ने महशुस भएको श्रेष्ठ उल्लेख गरे ।

‘हाम्रो पक्षबाट तयारी भएको छैन, तत्कालै तयारी गर्नुपर्ने देखिन्छ, राष्ट्रियसभा सदस्य श्रेष्ठले भने, ‘चीनले नाका छेउ सुरक्षाकर्मी परिचालन गरेको छ ,हाम्रो पक्षबाट १३ किमी यता मात्र सुरक्षाकर्मी छन्, त्यो उपयुक्त छैन।’

उनले यसबारे सरकारसँग आवश्यक छलफल गर्ने र सरकारले नाका सञ्चालनको प्रक्रियालाई अघि बढाउने विश्वास व्यक्त गरे । सरकारले छिट्टै नाका सञ्चालनका निम्ति आवश्यक पूर्वाधार निर्माण गर्न जरुरी रहेको उनले बताए ।

राष्ट्रियसभा सदस्य श्रेष्ठले नेपाली सुरक्षा पोष्टलाई नाका छेउमाथि लैजान जरुरी रहेको र व्यक्तिगतरुपमै सरकार,गृह ,परराष्ट्र मन्त्रालयमा कुरा राख्ने जानकारी दिए । उनले विकासको सन्दर्भमा आफूहरुको सम्पूर्ण ध्यान केन्द्रित रहेको बताए ।

राष्ट्रियसभा सदस्य एवं माओवादी नेता श्रेष्ठले नेपाली जनताले राजनीतिक पार्टीबाट जे अपेक्षा गरेका थिए त्यो पूरा हुन नसकेको बताए । संविधान सभाबाट संविधान जारी गरिसकेपछि सविधान कार्यान्वयन प्रक्रियामा जनताले दिएको जनादेश, जनअपेक्षा र राष्ट्रको अपेक्षा थियो, त्यो तीनवटै कोणबाट हेर्दा सन्तुष्ट हुने अवस्था नरहेको श्रेष्ठले उल्लेख गरे ।

ओली सरकारले ऐतिहासिक उपलब्धिहरुलाई अपहरण गर्ने गरी प्रतिगमनको कदम चालियो ,त्यो सविधान र लोकतन्त्रका लागि दुरभाग्यपूर्ण रहेको उल्लेख गर्दै राष्ट्रियसभा सदस्य श्रेष्ठले प्रतिगमनलाई असफल पार्न र सविधान र लोकतन्त्रलाई ट्याकमा ल्याउने काम भएको र राष्ट्रिय हितका लागि अझै धेरै काम गर्न बाँकी रहेको बताए ।

उनले अहिले सरकारको ध्यान सबै नेपालीलाई कोभिड भ्याक्सिन दिने भन्नेमा रहेको र सरकारका तर्फबाट सकारात्मक कामहरु पनि सुरु भइरहेको उल्लेख गरे ।

राष्ट्रियसभा सदस्य श्रेष्ठ पाँच दलीय गठबन्धन चुनावका लागि नभइ प्रतिगमनको अवशेष अन्त्य नभएसम्म कायम रहने बताए । उनले प्रतिपक्षकै कारण संसद चल्न नसकेको र त्यो नेपाली जनता र लोकतन्त्रका लागि अत्यन्तै दुखद स्थिती रहेको टिप्पणी गरे ।

यसलाई नेपालका राजनीतिक पार्टीले गम्भीर भएर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको उनको भनाइ छ । हजारौं जनताको त्याग र बलिदानले अहिलेको परिवर्तन सम्भव भएको बताउँदै राष्ट्रियसभा सदस्य श्रेष्ठले त्यो परिवर्तनको माध्यमबाट जनताको जीवनस्तर माथि उठाउन, सामाजिक सन्देश र समृद्धमुलक कसरी बनाउने भन्ने दिशातर्फ आत्मसमीक्षा गर्दै नयाँ संकल्प गर्नुपर्ने बेला आएको बताए ।

‘अहिलेको गठबन्धन चुनावको लागि भनेर गरिएको होइन, प्रतिगमविरुद्ध हो, राष्ट्रियसभा सदस्य श्रेष्ठले भने,‘सविधान र लोकतन्त्रका लागि हामी एक मत छौं,सम्भव भएमा चुनावी गठबन्धन पनि हुन सक्नेछ ।’

उनले वर्तमान सरकारलेनै पूर्ण अवधि काम गरेर स्वच्छ र निश्पक्ष निर्वाचन गराउने बताए । नेपालमा प्रतिगनमको कदम असफल भएपनि अझै प्रतिगमनको अन्त्य भइनसकेको उनले उल्लेख गरे । 

उनले ओलीको कार्यशैली र प्रतिगामी कदमका कारण पार्टीमा विभाजन आएको बताए । उनले ओली प्रवृद्धि नसच्चिएसम्म एमालेसँग पार्टी एकता असम्भव रहेको बताए । 

राष्ट्रियसभामा नेपाली कांग्रेसकी मुख्य सचेतक एवं उपसमिति सभापति अनिता देवकोटाले राष्ट्रिय सरोकार तथा समन्वय समितिअन्तर्गत राष्ट्रिय गौरवको आयोजनाको अनुगमन गर्ने शिलशिलामा मुस्ताङ आएको जानकारी दिइन् ।

उनले जोमसोम-कोरला सडक स्तरोन्नति सन्तोषजनक भएपनि केही समस्याहरु रहेको बताइन् । जोमसोम-कोरला सडकको २५ किमी सडक ठेकेदार कम्पनीका कारण अलपत्र परेको र त्यसलाई कडाइका साथ अघि बढाउने जनाइन् ।

उनले नेपालकै उपहारको रुपमा रहेको सुन्दर मुस्ताङ पर्यटकीय र धार्मिकस्थलको रुपमा नेपालकै धरोहर भएको उल्लेख गरिन् । यसको उन्नति र प्रगतिका लागि सबै नेपाली र संसदमा काम गर्नेहरुको दायित्व रहेको बताइन् ।

उनले यसअघि कोभिडका कारण अध्ययन अलोकन भ्रमण गर्नुपर्नेमा ढिलै भएपनि अनुगमनकार्य सफल भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here