राजेन्द्रलाई सूर्यको प्रश्न, सूर्यलाई उषाको जवाफ

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भाग्नका लागि हेलिकप्टर सुविधा दिने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनको प्रतिक्रियाले यतिखेर नेकपा एमालेभित्र खैलाबैला मच्चाएको छ । आगामी जेठ १५ गते आयोजित राजावादी आन्दोलनको तयारी सभामा बोल्दै लिङ्देनले एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले केही दिनअघि संसदमा सम्बोधनका क्रममा दिएको अभिव्यक्तिको जवाफ दिएका थिए ।
‘हामी त बुढो भयौं, तपाईं चाहिँ भाग्न मिल्छ’ भनेका प्रधानमन्त्री ओलीलाई जवाफ फर्काउँदै उनले भाग्न नसक्ने बुढा नेतालाई हेलिकप्टर दिने प्रस्ताव राखे । त्यसपछि एमालेका सांसद सूर्य थापाले सामाजिक सञ्जालमा स्ट्याट्स लेखेरै उनको भनाइको विरोध गरेका छन् । बहालवाला प्रधानमन्त्रीलाई भाग्नका लागि हेलिकप्टरको व्यवस्था गर्छु भनेकोप्रति आपत्ति जनाउँदै उनले ठूला कुरा नगर्न सुझाएका छन् ।




‘माननीय लिङ्देनजी, धेरै ठूलो कुरा गर्नुभएछ–थाहा भयो । अहिलेका प्रधानमन्त्री वा मन्त्रीहरु आन्दोलनबाटै आएकाहरु हुन्, जसले आन्दोलनमा लागेबापत आफूलाई दशकौं बिना कसूर, बिना मुद्दा कालकोठरीमा राख्ने, अङ्गभङ्ग गरायो, तिनै पात्रलाई समेत उनीहरुले आन्दोलन सफल भएपछि–‘फर्गिव नट फर्गेट’ अर्थात, ‘नबिर्स तर क्षमा गर’ को नीति अनुरुप ‘भागे भाग नत्र मार्छु’ भनेनन्’,उनले लेखेका छन् ।
जनताले पराजित गरेकाहरु संविधानको धारा २७० जपिरहेको भन्दै उनले लिङ्देनको खिल्ली उडाएका छन् । त्यसैगरी, लिङ्देन ‘नउम्रिँदै तीन पात देखिएको’ उनको टिप्पणी छ । अगाडि थपेका छन्,‘तपाईँको हेलिकप्टरवाला प्रस्तावलाई हामी पूर्वआन्दोलनकारीहरुले कसरी बुझौं ? प्रतिस्पर्धा–सहअस्तित्व–सहकार्यको रुपमा कि,‘कि तँ छैनस्–कि म छैन्’ को निषेधकारी दृष्टिकोणमा ? एकपटक ठण्डा दिमागले सोच्नुहोस्, जुनसुकै शर्त मञ्जुर छ । जनताले पराजित गरेकाहरु संविधानको धारा २७० जपिरहनुभएको छ । तपाईँको त उम्रिँदै होइन, नउमिँदै तीन पात देखिँदै छ !’
रोचक प्रसंग के भने, लिङ्देनलाई सोधेको प्रश्नको जवाफ पार्टीको कारबाहीमा परेकी नेतृ उषाकिरण तिम्सिनाले दिएकी छिन् । उनले थापाको स्ट्याट्समा कमेण्ट लेख्दै लिङ्देनले नढाँटेको धारणा व्यक्त गरेकी छिन् । उनी राजावादी भएको थाहा पाउँदापाउँदै आफूहरुले भोट हाल्न बाध्य बनाएकोप्रति तिम्सिनाले क्षमा मागेकी छिन् ।
‘लिङ्देनले आफू राजावादी हुँ भनेका थिए, ढाँटेका थिएनन्, घोषणापत्रमै लेखेका थिए, टक्क यिनलाई सूर्य चिन्हमा भोट हाल्न चाहनेहरुले भोट हाल्न बाध्य हामीले बनाएकोमा आत्माआलोचना मेरो भागमा परेजति गर्न चाहन्छु’,उनले लेखेकी छिन् ।
प्रतिक्रिया दिनुहोस्