राजावादी जोशिँदा गणतन्त्रका नेताहरूमा बढ्यो ‘चलखेलको भय’

सत्ता–प्रतिपक्षमा बाँडिएका गणतन्त्रवादी नेताहरूले सोमबार व्यक्त गरेका बोली र व्यवहारले राजावादी तथा हिन्दुत्ववादी शक्तिका गतिविधिप्रति उनीहरू आशंकित भएको देखाउँछ ।
२६ फागुन, काठमाडौं । राजावादीहरूको प्रदर्शनबाट ठूला दलका नेताहरूले आफू नतर्सिएको बताए पनि उनीहरूमा दक्षिणपन्थी शक्तिहरूको सम्भावित चलखेलको भय देखिएको छ । आइतबार पोखराबाट पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आउँदा विमानस्थलमा समर्थकहरू पुगेको विषयलाई उनीहरूले नोटिसमा लिएका छन् ।




सोमबार दिनभरिका उनीहरूका बोली र व्यवहारले राजावादी तथा हिन्दुत्ववादी शक्तिका गतिविधिप्रति आशंकित भएको प्रष्ट गरेका छन् ।
उसो त प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू राजावादीहरूको प्रदर्शनबाट नडराएको बताएका छन् ।
सोमबार अपराह्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको भेटवार्ता सकेपछि प्रचण्डले पत्रकारहरूसँग यस्तो बताएका हुन् । ‘राजावादीहरूको प्रदर्शनले मन मुटु हल्लिएको हो ?’ भन्ने प्रश्नमा प्रचण्डले भनेका थिए, ‘यो प्रदर्शनले केही हल्लिएको छैन । केही भएको छैन । केको डराउनु ! त्यस्तो लडाइँको बीचबाट त्यस्तो गर्दा त डराइएन, यहाँ त अहिले ।’
तर घटनाक्रम हेर्दा भने राजावादी गतिविधिबाट तुलनात्मक बढी सशंकित माओवादी केन्द्र नै देखिएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई उनका समर्थकहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वागत र्यालीसहित शीतलनिवास पुर्याउने सूचनापछि माओवादी केन्द्रले पार्टीको पूर्वनिर्धारित कार्यक्रम नै स्थगित गरेको छ ।
नेताहरूका अनुसार राजावादी गतिविधिको प्रतिरोधमा गणतन्त्रवादी प्रदर्शन गर्नेगरी प्रचण्डले पहलकदमी बढाएका छन् ।
गत १२ फागुनदेखि हुलाकी राजमार्गमा चलिरहेको ‘जागरण अभियान’ शनिबार, २४ फागुनमा स्थगित गरेर माओवादी नेताहरू काठमाडौं आएका हुन् । आइतबार दिउँसो राजावादी दल राप्रपा, केही समूह र व्यक्तिहरूले पोखराबाट फर्किएका ज्ञानेन्द्र शाहलाई पूर्वनिर्धारित योजना बमोजिम शितलनिवास पुर्याए ।
सुरक्षा रिपोर्ट अनुसार ज्ञानेन्द्र शाहलाई स्वागत गर्न झण्डै १५ हजार मानिस सडकमा उत्रिएका थिए । हिजो दिउँसोको यो दृश्यपछि सोमबार बिहानै पार्टीको पदाधिकारी बैठक राखेका अध्यक्ष प्रचण्डले दिउँसो समाजवादी मोर्चाको अनौपचारिक छलफल राखे भने साँझ माधव नेपालसँग भेटे ।
प्रचण्डसँग भेटेपछि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि गल्ती भए आफूहरू सच्चिन तयार हुने, तर राजावादी गतिविधि अस्वीकार्य हुने बताए । ‘यस्तो गतिविधि अस्वीकार्य छ । इतिहासको रथ पछाडि फर्किन सक्दैन’ माधव नेपालले भनेका छन्, ‘.. फेरि त्यो निरंकुश शासन जनता चाहँदैनन् । हामीले गल्ती गरेका छौं भने हामी सच्चिनुपर्छ ।’

एकीकृत समाजवादीले पनि सोमबार सचिबालय बैठक राख्यो । बैठकले राजावादी, पुनत्र्थानवादी शक्तिहरूको गतिविधिप्रति विमति जनाउने निर्णय गर्यो । ‘दुर्गा प्रसाईँहरूले खुलेरै राजतन्त्र फर्काउने भनिरहेका छन् । उनीहरूका पछि केही मानिस देखिन्छन् । तर सरकारले प्रतिगामी गतिविधि नियन्त्रण गर्ने कुनै पहल लिएको छैन । त्यसैले गणतन्त्र पक्षधर दलहरू एकताबद्ध हुनुपर्छ भन्ने निष्कर्षमा पुग्यौ’ उपाध्यक्ष प्रकाश ज्वालाले भने ।
पार्टी प्रचार विभाग प्रमुख समेत रहेका ज्वालाका अनुसार बैठकमा राजावादी अभियानमा मानिस जाने परिस्थितिबारे समेत छलफल भयो । ‘यस्तो परिस्थिति किन आयो भन्नेबारे पार्टीहरूले पनि आत्मसमीक्षा गर्नुपर्छ’, उनी भन्छन् । अर्थात् पार्टी बैठकमै भएको छलफल बमोजिम माधव नेपालले ‘गल्ती भए सच्चिन तयार हुने, तर राजावादी गतिविधि अस्वीकार्य’ हुने अभिव्यक्ति दिएका थिए ।
पार्टी बैठकमै भएको छलफल बमोजिम माधव नेपालले ‘गल्ती भए सच्चिन तयार हुने, तर राजावादी गतिविधि अस्वीकार्य’ हुने अभिव्यक्ति दिएका थिए ।
नेताहरूका अनुसार राजावादी गतिविधिको प्रतिरोधमा गणतन्त्रवादी प्रदर्शन गर्नेगरी प्रचण्डले पहलकदमी बढाएका छन् । ‘सडक र सदनबाट व्यवस्थाको पक्षमा माहोल बनाउँछौं । किनकि अहिलेको व्यवस्था ल्याएको त हामीले हो’ माओवादी सचिव देवेन्द्र पौडेल भन्छन्, ‘गणतन्त्रको पक्षमा माहोल बनाउँदा सकेसम्म गणतन्त्र पक्षधर जुट्ने भन्ने हो ।’
माओवादी बैठकले पनि सकेसम्म धेरै गणतन्त्र पक्षधर शक्ति जुटाउने निष्कर्ष निकालेको छ । तर सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले र नेपाली कांग्रेसलाई भने प्रदर्शनमा सहभागी गराइनेछैन । ‘कांग्रेस, एमालेसँग छलफल हुने कुरा भएन, समाजवादी मोर्चा एकठाउँ उभिने प्रयास हुन्छ, नभए माओवादी एक्लै प्रदर्शनमा उत्रन्छ’, सचिव पौडेलले भने ।
यद्यपि समाजवादी मोर्चामा आवद्ध अरू दलले पनि गणतन्त्र रक्षार्थ हुने प्रदर्शनमा सहमति जनाएका छन् । नेत्रविक्रम चन्द उपत्यका बाहिर भएकाले औपचारिक बैठक नभए पनि भोलि, मंगलबार बसेर मोर्चाको बैठकले प्रदर्शनबारे निर्णय गर्ने तयारी भइरहेको छ । नेताहरूका अनुसार, यसअघि २४ चैतमा सभा गर्ने भनिएपनि त्यो मिति अगाडि सार्ने निर्णय मोर्चाले गर्न सक्छ ।
तर गणतन्त्र पक्षधरको प्रदर्शन हुने कुरालाई राजावादीसँग डराएको रुपमा हेर्न नहुने मोर्चामा आवद्ध दलका नेताहरू बताउँछन् । ‘राजावादी, नवराजावादीहरूको नारा जस्तो सजिलो विषय होइन, राजतन्त्र फर्काउने कुरा’ नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठ भन्छन्, ‘लाखौं मानिस सडकमा उतारेर, रगतसँग साटिएर आएको गणतन्त्रको जग सोचेजस्तो कमजोर छैन ।’
यद्यपि डर
विपक्षी दलहरूले राजावादीको प्रतिवादमा सडक प्रदर्शनकै तयारी गरेपनि सत्तारुढ कांग्रेस–एमालेले भने कुनै ठोस निर्णय गरेका छन् । यद्यपि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा लगायत सत्तारुढ नेताहरूले अभिव्यक्ति मार्फत आपत्ति जनाइरहेका छन् ।

‘राजावादी गतिविधिको हामीले विरोध गरिरहेकै छौं । यसबारे संस्थागत निर्णय गरिहाल्ने अवस्थामा पुगेका छौं’, एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम भन्छन् । गत ६ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहले भिडियो सन्देश सार्वजनिक गरेपछि कांग्रेस–एमाले नेताहरूले आपत्तिमा अभिव्यक्ति निरन्तर दिइरहेका छन् ।
तर विपक्षमा रहेका माओवादी, एकीकृत समाजवादी, नेसपा लगायतले भने संस्थागत निर्णय गरेरै प्रतिवादमा उत्रने तयारी गरेका छन् । काउण्टर प्रदर्शनमै उत्रने परिस्थितिका पछाडि भने नेताहरूमा रहेको आशंका कारण देखिन्छ ।
पूर्व राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने क्रममा उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथको तस्वीर पनि प्रदर्शन गरिएको थियो । आदित्यनाथ, धर्मको आडमा भारतीय जनता पार्टीका उम्मेदवार बनेर मुख्यमन्त्री बनेका पात्र हुन् । नेपालको हिन्दूवादी–राजावादी गतिविधिमा आदित्यनाथको प्रायोजनबारे नेताहरूले पहिलेबाटै सशंकित थिए ।
तर प्रदर्शनमै ज्ञानेन्द्र शाहसँगै आदित्थनाथको तस्वीर पनि प्रदर्शन गरिएपछि माओवादी र एकीकृत समाजवादीको बैठकमा एजेण्डा नै बन्यो । ‘हिजो आदित्यनाथको तस्वीर टाँगियो, यसले राजावादीको गतिविधि कतैबाट प्रोटेक्टेट हुन सक्छ भन्ने विश्लेषण बैठकमा भयो’ एकीकृत समाजवादीका उपाध्यक्ष ज्वाला भन्छन् ।
आदित्यनाथ, धर्मको आडमा भारतीय जनता पार्टीका उम्मेदवार बनेर मुख्यमन्त्री बनेका पात्र हुन् । नेपालको हिन्दूवादी–राजावादी गतिविधिमा आदित्यनाथको प्रायोजनबारे नेताहरूले पहिलेबाटै सशंकित थिए ।
प्रचण्डले पार्टी पदाधिकारीहरूसँगको ब्रिफिङमै आदित्यनाथको प्रशंग उठाएका थिए । ‘परिस्थिति गम्भीर भएको छैन, डराइहाल्नुपर्दैन छैन’ प्रचण्डले भनेका थिए, ‘तर समीक्षा गर्नुपर्ने अवस्था आयो । किनकि व्यवस्था विरोधीहरूको चलखेल बढेको छ । हिन्दू भनेर बाह्य शक्तिको चलखेल (खासगरी यूपीका मुख्यमन्त्री आदित्यनाथको) बढेको छ ।’
प्रचण्डले बाह्य शक्तिको चलखेल बढ्नुमा सरकारको कार्यसम्पादन कारण रहेको पनि निष्कर्ष सुनाएका थिए । ‘प्रतिगामी शक्तिहरूको चलखेल बढ्नुमा सरकारको कमजोर कार्यसम्पादन मुख्य हो । सरकारप्रति चीन पनि खुशी छैन, सिंगो भारत पनि खुशी छैन’, बैठकमा प्रचण्डले भनेका थिए ।
बैठकमा सहभागी नेताहरूका अनुसार, प्रचण्डले बाह्य शक्तिको चलखेल बढेकाले त्यसको प्रतिवादमा पनि गणतन्त्र पक्षधरहरूको सभा गर्नुपर्ने निष्कर्ष सुनाएका छन् । र त्यसैअनुसार समाजवादी मोर्चाका नेताहरूसँग सम्वाद गरिहेका छन् ।
प्रतिक्रिया दिनुहोस्