रसुवामा थोरै पानी पर्दा पनि विध्वंस मच्चिनुका हुन सक्छन् ३ कारण

विपद् व्यवस्थापन विज्ञहरूका अनुसार, तिब्बतमा पहिरो गएर नदी थुनिनु, हिमताल विष्फोटन हुनु वा हिमपहिरोमध्ये एउटा रसुवा विपद्को कारण हुनसक्छ ।

२४ असार, काठमाडौं । सोमबार बिहान ४ बजेतिर रसुवामा विध्वंस मच्चिने गरी बाढी आउनुभन्दा २४ घन्टा पहिले रसुवागढी क्षेत्रमा खासै पानी परेको थिएन ।

frontline

मौसम पूर्वानुमान महाशाखाका बाढीविज्ञ विनोद पराजुलीका अनुसार, रसुवाको क्याञ्जिङ मौसमी केन्द्र र सदरमुकाम धुन्चेमा रहेको मौसमी केन्द्रमा फाटफुट मात्र वर्षा मापन भएको थियो ।

‘विश्व मौसम संगठनको ‘फ्याल्स फ्लड गाइडेन्स सिस्टम’को ग्लोबल हाइड्रो स्टिमेटरअनुसार पनि भोटेकोशीको जलाधार क्षेत्रमा २४ घण्टामा वर्षा भएको देखिँदैन,’ पराजुली भन्छन् ।

तर, मंगलबार बिहान ३ बजेपछि भोटेकोशी नदी आसपासमा क्षेत्रबाट एक्कासी ठूलो बाढी आएको स्याफ्रुबेसीका बुद्ध लामा बताउँछन् । ‘एक्कासी ठूलो झट्का महसुस भएपछि भूकम्प आएको हो कि भनेर उठेका थियौं, तर भोटेकोशी उर्लिएको रहेछ,’ उनले भने ।

बाढीले रसुवागढी सुख्खा बन्दरगाहमा क्षेत्रमा कार्यरत मजदूरसहित १८ जना बेपत्ता छन् । बेपत्ता भएकामध्ये ९ नेपाली र ६ चिनियाँ नागरिक भन्सार यार्डमा काम गर्ने व्यक्ति हुन् ।

उद्दारका लागि गएका इलाका प्रहरी कार्यालय टिमुरेका ३ प्रहरी कर्मचारीसमेत बेपत्ता छन् । बेपत्ता हुनेमा प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा छन् ।

नुवाकोटको त्रिशूली किनारमा २ जनाको शव भेटिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले मंगलबार अबेरसम्ममा ५५ जनाको उद्धार गरेको छ ।

बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ भने बन्दरगाहमा राखिएका ट्यांकरसहित १०० सवारी साधन बगाएको आशंका गरिएको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, भन्सार कार्यालय, रसुवाको यार्डमा राखिएको ८/९ वटा लोडेड कन्टेरको डिब्बा समेत बगेको छ ।

‘रसुवागढी हाइड्रोपावरको ड्याममा पनि क्षति पुगेको छ भने टिमुरेमा रहेको इभी चार्जिङ स्टेसनमा पनि क्षति पुगेको छ । ७/८ वटा इभी गाडी समेत बगाएको छ,’ उनले भने, ‘बाढीका कारण सडक कटान भएर पहिरो जाँदा स्याफ्रुबेसीदेखि रसुवागढीसम्म १४ किमी सडकमा ठाउँ-ठाउँमा पहिरो गएको छ ।’

पहिले र अहिले 

https://cdn.knightlab.com/libs/juxtapose/latest/embed/index.html?uid=e809347c-5c00-11f0-bb24-0936e1cb08fb

जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूका अनुसार, बाढीले स्याफ्रुबेसीमा जडान गरिएको बाढी मापन उपकरण नै बगाएको छ ।

बाढी पूर्वानुमान महाशाखाका असिस्टेन्ट हाइड्रोलोजिस्ट दिपेन्द्र रिजालका अनुसार स्याफ्रुबेसीमा मंगलबार बिहान ३ बजेर ४० मिनेटमा पानीको सतह ५.३७ मिटर पुगेको थियो । त्यसपछि बाढी मापन नभएकाले उपकरण नै बगेको उनले बताए ।

‘स्याफ्रुबेसीमा बाढीको वार्निङ लेभल ५.७ मिटर हो तर ५.३७ मिटर पुगेपछि थप तथ्यांक प्राप्त भएन, यसको मतलब हाम्रो बाढी मापन गर्ने उपकरण नै बगायो,’ रिजालले भने ।

बाढीका सम्भावित ३ कारण

बेत्रावती नदीमा मंगलबार बिहान ५ बजे पानीको सतह १.६ मिटर मात्र थियो । तर ५ बजेर ५० मिनेट जाँदा पानीको सतह ह्वात्तै बढेर ४.१८ मिटर पुगेको देखिएको छ ।

रिजालका अनुसार बिहान ८ बजेर १० मिनेटमा भने बाढीको सतह केही घटेर ३.६ मिटर पुगेको थियो । यो पृष्ठभूमिले बाढी आउनु पछाडि मुख्यगरी ३ वटा कारण हुनसक्ने विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्राविधिक उपसचिव एवं बाढीविज्ञ राजेन्द्र शर्मा बताउँछन् ।

उनका अनुसार, पहिलो कारण तिब्बतको क्षेत्रमा कतै हिमपहिरो गएर नदी थुनिँदा एक्कासी बाढी आएको हुनसक्छ ।

‘यसलाई हामी प्राविधिक भाषामा ल्यान्ड साइड ड्याम आउटब्रस्ट फ्ल्ड (एडीओएफ) भन्छौं,’ उनले अनलाइनखबरसँग भने, ‘तिब्बततिर कतै कृत्रिम बाँध भएकाले पनि एक्कासी बाढी आएको हुनसक्छ, यद्यपि त्यो अध्ययनपछि मात्र थाहा हुन्छ ।’

कतिपयले त्यहाँ ड्याम नभएको समेत बताएको उनी सुनाउँछन् । प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल पनि रसुवामा पहिरो जानु पछाडि हिमपहिरो समेत कारण हुनसक्ने सुनाउँछन् ।

‘माथि कतै पहिरो गएर खोला थुनिएको हुनसक्छ, बाढीको जोखिम अझै कायम रहेकाले चीन सरकारसँग समेत समन्वय काम गर्नुपर्छ,’ उनी भन्छन्, ‘उत्तरी छिमेकसँग समन्वय गरेर मानिस गएर त्यसको उद्गम पत्ता लगाउनु जरुरी छ ।’

दोस्रो कारण चाहिँ तिब्बती क्षेत्रमा भएको हिमताल विष्फोटनले समेत ठूलो क्षति हुनेगरी रसुवामा बाढी आएको हुनसक्छ ।

‘अहिलेसम्म अनौपचारिक रुपमा बुझ्दा तिब्बती क्षेत्रमा हिमतालहरू पनि छन् भन्ने आएको छ, तर स्याटलाइट तस्वीर नआई त्यो पुष्टि हुँदैन,’ उपसचिव शर्मा भन्छन्, ‘नेपालसँग स्याटलाइट नभएकाले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) सँग सहयोग मागेका छौं ।’

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार, चीनले समेत तिब्बत क्षेत्रमा मुहान भएर रसुवामा प्रवाह हुने नदीमा बहाव बढ्न सक्ने भन्दै पूर्वसूचना दिएको थियो । त्यसअनुसार, १४ दिन अगाडि नै प्रशासनले पूर्वतयारी गर्न र सावधानी अपनाउन भन्दै सूचना जारी गरेको थियो ।

उपसचिव शर्माका अनुसार, रसुवा बाढीको तेस्रो कारण भनेको उद्गम क्षेत्रमा गएको हिमपहिरो पनि हुनसक्छ । ‘विगतमा माथिल्लो क्षेत्रमा हिमपहिरो जाँदा यता ठूलो क्षति भएको उदाहरण समेत छन्,’ उनी थप्छन्, ‘यकिन कारण चाहिँ स्याटलाइट तस्वीर आएपछि मात्र थाहा हुन्छ ।’

रसुवागढी नाकाको स्थिति

बाढी गएको रसुवागढी नाका क्षेत्र सदरमुकाम धुन्चेबाट करिब ३३ किलोमिटर उत्तरमा पर्छ । धुन्चेबाट करिब ९ किलोमिटर अघि बढेपछि स्याफ्रुबेसी हुँदै भोटेकोशी किनारैकिनार लाग्दा रसुवागढी पुगिन्छ ।

रसुवागढीमा चीनतिरबाट आएका दुई खोला मिसिन्छन् । बायाँतिरबाट केरुङ खोला र दायाँबाट लेन्दे खोला रसुवागढी नाकामा मिसिन्छन् ।

लेन्दे खोलामाथिको मितेरी पुलले नेपाल र चीन जोड्थ्यो । त्यही पुल मंगलबारको बाढीले बाढीले बगाएको छ ।

पुलको दुवै छेउमा नेपाल र चीनले तारबार लगाएर सवारी आवतजावत नियन्त्रण गर्दै आएका थिए । मितेरी पुल बगे पनि चीनतर्फको अध्यागमन र भन्सार कार्यालयको संरचना केही उचाइमा खासै क्षति पुगेको देखिँदैन ।

नेपालतर्फ भने तुलनात्मक रूपमा होचो भागमा रहेको सुख्खा बन्दरगाहमा क्षति पुगेको छ । गत १२ असोजमा आएको बाढीले पनि चीनको केरुङ बजारदेखि रसुवागढी नाकासम्मको सडकमा क्षति पुर्‍याएको थियो ।

नेपाल-चीन सीमाको करिब एक किलोमिटर क्षेत्रमा १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना पनि छ । अहिले रसुवागढी नाकाको केही तल भन्सार कार्यालय निर्माण भइरहेको थियो ।

रसुवागढी नाका वरपर विस्तार हुँदै गएका बजार र व्यापारिक भवनहरू भोटेकोशी खोला किनारमा थिए ।

बाढीमा को-को छन् बेपत्ता ? (सूची)

सशस्त्र प्रहरी बलका अनुसार, बेपत्ता हुनेमा नेपाल प्रहरी अन्तर्गत इलाका प्रहरी कार्यालय, टिमुरेमा कार्यरत प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा छन् ।

बेपत्ता हुनेमा ६ जना चिनियाँ नागरिक छन् । सशस्त्र प्रहरीबाट उपलब्ध सूचीअनुसार, बेपत्ता हुने चिनियाँ नागरिकमा YU YUE, LI HUAQING, YANG CHUAN, YU HAI HANG, YOU XIAO QIU र JOU YONG छन् ।

बेपत्ता हुने नागरिकमा बर्दिया स्थायी घर भएका जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारु, लक्ष्मीनारायण थारु, सुरेश थारु, बाग्लुङका नरेन्द्र विक, कन्टेनर चालक फुर्वा लामा, मिक्चर चालक गोविन्द मोक्तान, हाइलक्स चालक लोकमान तामाङ छन् ।

बाढी |रसुवा

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here