युरोपमा कोभिडको नयाँ लहर आउनसक्ने भन्दै त्यसका लागि तयार रहन आग्रह
५ असोज, एजेन्सी । युरोपियन मेडिसिन एजेन्सी (ईएमए) ले युरोपमा कोभिड–१९ को नयाँ लहर आउनसक्ने भन्दै त्यसका लागि तयार रहन आग्रह गरेको छ ।
एजेन्सीले कोभिड–१९ को महामारी पूर्ण रूपमा टरेको नभएर अहिले केही कम मात्र भएको भन्दै युरोपमा अर्काे लहर आउन सक्ने भएकाले तयार रहन भनेको हो ।
मंगलवार युरोपियन मेडिसिन एजेन्सीले युरोपका देशहरूमा अहिले महामारी कम भएको देखिएको छ भन्दै महामारी अहिले घटेको भए पनि यहाँका नागरिकमा यसको प्रकोप भने नघटेको बताएको हो ।
युरोपियन मेडिसिन एजेन्सीका प्रमुख म्याक्रो क्याबलेरीले सो कुरा बताए । उनले भने, ‘यहाँका देशहरूमा अहिले कोभिडको संक्रमण घटेको पाइएको छ । युरोपियन देशहरूले आगामी दिनमा यो महामारीको अर्काे लहर आउन सक्छ भनेर यसबाट बच्ने उपायहरूको तयारीमा लाग्नुपर्छ ।’
उनले युरोपमा आगामी शरद ऋतुमा यसको प्रकोप थप बढ्न सक्ने पनि बताए । उनले गत २ वर्षदेखि यो ऋतुमा कोभिडको महामारी बढेको पाइएकाले अब आउने सो ऋतुमा पनि महामारीको प्रकोप बढ्न सक्छ भन्ने हिसाबको तयारी गर्नुपर्ने बताए ।
उनले पहिलेका वर्षहरूको तुलनामा पछिल्लो समयमा विकसित भएका कोभिडका नयाँ प्रजातिहरूको प्रभाव झन् धेरै देखिएकाले पनि यो प्रकोपबाट हुन सक्ने क्षतितर्फ सचेत रही तयारीका साथ रहन आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्