युट्युबको खहरेले बगाएका कथित अभियन्ताका भविष्य

श्रोत : ईन्टरनेट

काठमाडौं । आफैलाई सामाजिक अभियन्ताका घोषणा गरि युट्युबको साहरामा समाजमा विकृति फैलाउनेविरुद्ध पछिल्लो समय व्यापक आलोचना भइरहेको छ । अघिल्लो अंकमा रबि लामिछानेबाट सुरु भएको कथित सामाजिक अभियन्ताको बिगबिगीबारे चर्चा गरिएको छ । यस अंकमा स्वघोषित सामाजिक अभियन्ताबारे थप चर्चा गरिएको छ ।  

बेरोजगारीको विकल्पमा अभियन्ता बनेकी एक पात्र हुन्, पवित्रा लामा । लामाले पनि प्रधानमन्त्री केपीशर्मा ओली नेतृत्वको सरकारलाई गाली गरेर आफूलाई अभियन्ता घोषणा गरेकी हुन् । बेवारिसे  शवहरुको व्यवस्थापन गरेर चर्चामा रहेका बिनयजंग बस्नेतको पक्षमा बोल्दै गर्दा सभापति शेरबहादुर देउवाको हातबाट नेपाली कांग्रेसको सदस्यता लिएपछि लामाले कहिले महिला नेतृ त कहिले अभियन्ताको रुपमा विभिन्‍न युट्युबर सञ्‍चालकहरुसँग अन्तर्वार्ता लिन लगाइन् । 

frontline

युट्युबमा भाइरल भएका तर किन भाइरल भए भन्‍ने बारेमा उनलाई थाहा नभएका भिडियोहरुको बारेमा भाइरल घटना आफैंले गराएकोझैँ गरि प्रतिक्रिया दिनेउनीमा वाद-प्रतिवाद गर्नसक्ने क्षमता भने छैन । युट्युबमा भाइरल भिडियोमा दर्शकका सकारात्मक प्रतिक्रिया भए सकारात्मक र कुनै पात्रलाई गाली गरिएको भए, त्यो पात्रलाई गाली गर्ने लामा प्राय: आलोचित भइरहने पात्र हुन् 

युट्युबले नै भाइरल बनाएका अर्का पात्र हुन्, बिनयजंग बस्नेत । उनले जुन कर्म गरेर आफूलाई चर्चामा ल्याए, त्योभन्दा पनि बढी संसद भवन अगाडि २५ वटा शव प्रदर्शन गर्छु भन्दै सरकारको कामविरुद्ध युट्युबमा बोलेपछि चर्चित भए । सरकारलाई चेतावनी दिँदै बेवारिसे शव प्रदर्शनमा राख्‍ने भनेको भए पनि उनले हालसम्म त्यो कार्य गरेका छैनन् । उनको उक्त अभिव्यक्ति भने निकै आलोचित भएको थियो ।  

बस्‍नेत सँगसँगै हिड्न थालेपछि एका-एक चर्चामा आएकी पात्र हुन्, सपना रोका मगर । उनी पनि बस्‍नेत सँग-सँगै बेवारिसे शव व्यवस्थापन र दाह संस्कारमा हिड्न थालिन् । बस्‍नेतको अघि-अघि हिँड्ने युट्युबरहरुलाई बाबुछोरीको साइनो लगाएर भिडियो बनाए । ती भिडियोहरु भाइरल मात्र भएनन् युट्युबको ट्रेन्डिङमा धेरै दिनसम्म रहे ।

बिनय र सपनाका भिडियोहरु यतिसम्म चर्चित भए कि तिनै भिडियोहरुको कारण विश्वको आँखा सपनाको काममाथि पर्‍यो । गत मंसिरमा सपनालाई बीबीसीले सन् २०२० को १०० प्रभावशाली महिलाको सूचीमा राख्यो । फिनल्याण्डकी प्रधानमन्त्री सान्‍ना मारिन्, अक्सफोर्ड विश्वविद्यालयले त्यतिबेला बनाइरहेको नोभेल कोरोना भाइरसविरुद्धको खोप विकासको नेतृत्व गरेकी सारा गिल्बर्टसहितको विश्वका १०० प्रभावशाली महिलाको सूचीमा सपनाको नाम समावेश हुँदा हरेक नेपालीले उनको वाहवाही गरेका थिए । 

सपनालाई त्यो स्थानसम्म पुर्‍याएको श्रेय पाएकोले सपनाभन्दा बिनयको चर्चा पनि कम थिएन । राम्रो काम गरेर बनेको उनीहरुबीचको सम्बन्ध र कर्मले आर्जेको प्रतिफल उनीहरुले जोगाउन सकेनन् । उनीहरुको विश्वमा चर्चा हुँदै गर्दा पनि भृकुटीमण्डप र पशुपतिमा जम्मा हुने युट्युबरहरुको घेराबाट आफूलाई मुक्त गर्न नसक्नु उनीहरुका लागि अभिशाप बन्यो । 

युट्युबरको भिडियोबाट नाम कमाएका उनीहरु युट्युबरकै कारणले बदनाम मात्र भएनन्, बाबुछोरीबीचको सम्बन्धको डोरी छिन्यो । युट्युबरकै उक्साहटमा बिनयजंगले ‘सपनाको नग्‍न तस्बिर सार्वजनिक गर्दिन्छु’ भन्ने हदसम्मको अभिव्यक्ति दिए । उनको उक्त अभिव्यक्तिकै कारण सपनाले प्रहरीमा उजुरी दिएपछि बिनयजंग करिब दुइ हप्तासम्म हिरासतमा थुनिए । नसालु पदार्थको अत्यधिक सेवनका कारण श्रीमतीले छोडेपछि सुधारगृहमा लामो समय बसेको बिगत भएका बिनयज‌ग फेरि त्यही अवस्थामा पुगे । उनको त्यो अवस्थाको भिडियो समेत युट्युबरहरुले फेला पारेर अपलोड गरे । 

युट्युबरको भिडियोको कारण विदेशबाट नेपाली नागरिकहरुले श्रम गरेको पैसाले सामाजिक अभियन्ता र समाजसेवी बनेका बस्नेत यतिबेला गुमनाम जस्तै बनिसकेका छन् । सबैतिरबाट गुमनाम हुने अवस्था आएपछि पवित्रा लामाले पनि बिनयसँगको अभियान छोडेको भन्दै फेरि युटुवमा आउने मेसो खोजेकी छिन् । 

बिनयजंगसँगको सम्बन्ध छुटेपछि पनि बेवारिसे शव व्यवस्थापनलाई निरन्तरता दिने बताएकी सपनाले उक्त कार्यलाई छोडेकी छन् । उनी बेलायती नागरिकसँग विवाह गरेकी इशा गुरुङले नेपालीहरुसँग चन्दा उठाएर सञ्‍चालनमा ल्याएको हाम्रो टिम नेपालमा आबद्ध भएर जीविको चलाइरहेकी छन् । उनीसहितको टिमले कब्जा गरेको अनामनगरको जग्गा केही दिन अगाडि काठमाडौं महानगरपालिकाले खाली गराउँदा झडप गराउने अवस्थामा पनि उनी नै अगाडि थिइन् । प्रहरीविरुद्ध चर्को गाली गलोज गरेकी उनी प्रहरीले दिनभर नेपाल पुलिस क्लबमा राखेर साँझ छोडेपछि महानगरले खाली गरेको जग्गामा रोएर युट्युबरलाई भिडियो बनाउन लगाएकी थिइन् । 

१६ वर्षको किशोरावस्थामा घर परिवारको सल्लाह बिना केटासँग भागेकी थिइन् । पछि त्यही केटाले छोडेपछि विचल्लीमा परेर सडकको जीवन समेत बिताएको विगत भएकी सपनाले पनि युट्युबकै घेरालाई चर्चाको माध्यम बनाइन् । उनको कसले कतिबेला के भिडियो सार्वजनिक गरेर सिध्याउँछ यसै भन्‍न सकिँदैन ।

त्यसैगरि इन्द्रेणीका सञ्‍चालन कृष्ण कँडेल कुनै बेला राम्रा पत्रकार मानिन्थे । आफूलाई क्रान्तिकारी बताउने कँडेल एबिसी टेलिभिजनमा आवद्ध थिए । टेलिभिजनमा आवद्ध हुँदै गर्दा कँडेलले इन्द्रेणी नामक कार्यक्रमको निर्माण सुरु गरे । नयाँ बानेश्वरको इन्द्रेणी फूडल्याण्डको प्रचारलाई लक्षित गरेर निर्माण गरिएको उक्त कार्यक्रम पछि युट्युबमा प्रसारण गर्न थालियो । जब युट्युबमा त्यो कार्यक्रमले दर्शक बटुल्न थाल्यो अनि कँडेलले आफ्नो विचारलाई नै तिलाञ्‍जली दिए । उनले सञ्चालन गर्ने दोहोरी परिवारसँग बसेर हेर्न समेत नमिल्ने उच्छृङ्खल बन्न थाले । 

चलेका र नयाँ कलाकार समेटेर दोहोरीको युट्युब भिडियो निर्माण गर्ने कँडेल बेला-बेलामा दु:ख पाएका केही पात्रहरु पनि ल्याउने गर्छन् । उनीहरुलाई केही बेर रोएको भिडियो पनि युट्युबमा राख्‍छन् र प्रसारण गर्छन् । उक्त भिडियोहरु हेरेपछि विदेशमा भएका नेपालीहरुले उनलाई पैसा पठाइ दिन्छन् । उनले त्यो पैसा ‘भिखारीलाई भिख दिए’झैं गरी ठाँटका साथ हस्तान्तरण गर्छन् र त्यसको पनि भिडियो बनाएर  युट्युबमा प्रसारण गर्छन् । उनी पहिले रोएको भिडिया अपलोड गरेर युट्युबको स्ट्रिमिङबाट पैसा कमाउँछन् भने विदेशमा रहेका नेपालीबाट सहयोगको नाममा पैसा संकलन गर्ने गरेका छन् । त्यसपछि रकम हस्तान्तरण गरेको भिडियो पनि युट्युबमा राखेर स्ट्रिमिङबाट पैसा कमाउने गरेका छन् । 

कँडेलले गरीबको आँसु बेचेर कति पैसा आर्जन गर्छन् र कति वितरण गरे, विस्तृत हिसाब-किताब सार्वजनिक गरेको स्तम्भकारको जानकारीमा छैन । उनले दोहोरीको भिडियोलाई स्थापित गरेपछि उनको शैली पछ्याउदै धेरै जनाले त्यस्ता कार्यक्रम गरिरहेका छन् । लोकदोहोरी नाम दिइने त्यस्ता कार्यक्रमले लोकलाई भने गिज्याइरहेका छन् । समाजलाई ‘अश्लिल’ बनाइ रहेका छन् । 

यिनै कँडेलले केही दिनअघि असार १५ को साँस्कृतिक कार्यक्रममा अहिलेसम्मकै ‘अश्लिल’ गतिविधि गराए । आफ्नो कार्यक्रम इन्द्रेणीबाटै चिनाएका छत्र शाही र आफूलाई अस्मिता जुरेली बताउने अस्मिता सुनारको हिलोमा पछारिएको तस्बिर र भिडियो सार्वजनिक भयो । धान दिवसको दिनमा हिलोमा गाडिएका छत्र र अस्मिताको उक्त तस्बिर र भिडियोले असार १५ को महिमा र महत्वमै हिलो छ्याप्‍ने काम गर्‍यो । यस्तो काम गर्ने पात्रहरुको शरीरको हिलो पखालिए पनि नेपाली संस्कृतिमाथि लागेको ‘अश्लिलता’को हिलो उनीहरले पखाल्न सक्दैनन् । उनको उक्त कदमकै कारण कँडेलको यतिबेला चौतर्फी आलोचना भइरहेको छ ।  

युट्युबरकै माध्यमबाट चर्चामा आएका अर्का पात्र हुन्, आफूलाई अघोरी बाबा बताउने विजय केसी । उनी युट्युबको ‘गरम मसला’ बनेपछि रातारात भाइरल भए । भाइरल भएपछि उनी ‘रक गायक’ समेत बनेर चिनिन खोजे । आफूलाई अघोरी भन्‍ने केसी मानव जीवनका कामवासना र यौन दर्शनका बारेमा प्रवचन दिन थाले । 

विजय केसी यतिमा मात्र अडिएनन् । युट्युबमा अश्लिल शब्दहरु बोल्न थाले । युट्युबरले हौस्याइ-हौस्याइ प्रश्‍न गर्दा उनले समाजले पचाउनै नसक्ने गरि सर्वाङ शरिरको व्याख्या गरेर बोले । उनको भिडियो यसरी नै भाइरल भइरहेका बेला अचानक उनकी श्रीमती बनेर देखा परिन्, चितवनकी शारदा पाण्डे । 

युट्युबरले दुई जनाको अन्तरंगदेखि, ‘यस्तो ठाउँमा सुत्छन् अघोरी आफ्नी श्रीमतीसँग’ भन्दै ओछ्यानसम्मका भिडियो बनाए । अघोरीलाई जीवनमा साथ दिएको भन्दै चर्चामा आएकी शारदालाई केही दिनमै प्रहरीले पक्राउ गर्‍यो । उनले अमेरिका पठाइदिने भन्दै चितवनकै एक महिलासँग ७५ लाख ठगी गरेको रहस्य खुल्यो । काठमाडौं जिल्ला अदालतबाट धरौटीमा छुटेकी उनी त्यसपछि कहाँ गइन्, विजयलाई छोडिन् कि साथमा छिन्, कसैलाई थाहा छैन ।

आमाले छोडेकी नौ महिने नानीलाई पिठ्युमा बाकेर रिक्सा चलाएको भिडियो युट्युबमा सार्वजनिक भएपछि कैलालीको घाडाघोडी नगरपालिका साँडेपानीका छित्ता भनिने अर्जुन बिक भाइरल भए । उनकी श्रीमतीले छोड्नुको कारण खोज्‍न थालियो । युट्युबका दर्शकहरुले वास्तविकता नै नबुझी भिडियो हेरेकै आधारमा अर्जुनकी श्रीमतीलाई गाली गर्न थाले । युट्युबरको एक झुण्ड उनको श्रीमतीसँग कुरा मिलाइदिने भन्दै अर्जुनको ससुरालीसम्मै पुग्यो । त्यहाँ पुग्दा थाहा भयो कि अर्जुनले दिएको यातना सहन नसकेर श्रीमती माइत गएर बसेकी रहिछन् । युट्युबरको प्रयास असफल भएपछि अर्जुन एक्लै काठमाडौं फर्किए । 
म्युजिक भिडियोहरुका निर्माताले उनलाई आफ्नो भिडियोमा खेलाउन हानथाप नै गरे । रक्सी पिएर श्रीमतीलाई घरबाट खेदाउँदा पनि बच्चाको कारण समाजको साथ पाएका अर्जुन राता-रात व्यस्त कलाकार बन्न पुगे । उनलाई आम्दानी पनि मनग्ये हुन थाल्यो ।

सानो दुधे बच्चालाई पिठ्युमा बोकेर कर्म गरेको देखेपछि विदेशमा रहेका धेरै नेपालीहरु कसैले युट्युबर‍मार्फत त कतिले सिधै अर्जुनलाई पैसा पठाए । छोरीको खानपान र पढाइलाई भन्दै त्यसरी पठाएको पैसाले अर्जुन ग्याङ जम्मा पारेर रक्सी पिउन थाले । उनी यतिमा मात्र अडिएनन् । बरु आफ्नै गृहजिल्लाकी एक १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परे । उनले ती बालिकालाई जिल्लाबाट काठमाडौं ल्याई शन्तिनगरस्थित आफ्नो कोठामा बन्धक बनाएर जबरजस्ती करणी गरेको आरोप लागेको थियो । कैलाली जिल्ला अदालतबाट छुटेका उनी त्यसपछि कता गए केही थाहा पत्तो छैन । 

युट्युबरकै माध्यमबाट चिनिएकी अर्की पात्र हुन्, आफूलाई सरस्वती काफ्लेका नामबाट चिनाएकी उमा जैशी । उनी पनि विभिन्‍न व्यक्तिहरुका बारेमा बनाइएका भिडियोहरु हेरेर हेर्ने दर्शकको कमेन्टको आधारमा व्यक्तिको टिप्पणी गर्छिन् । विषय र व्यक्तिको ज्ञान चाँहिदैन उनलाई । दर्शकले जसलाई नराम्रो मानेको हुन्छ, त्यलाई तथानाम गाली गर्छिन् । अनि त्यो युट्युबरले फटाहा बनाएको पात्रको प्रिय बन्ने प्रयास गर्छिन् । युट्युबको माध्यमबाट अरुलाई गाली गर्दागर्दै उनले पनि आफूलाई अभियन्ताको सूचीमा दर्ज गरिसकेकी छन् । जैसी पनि बेलाबेलामा विदेशीले पठाएको रकमबाट राहत बाँड्ने गर्छिन् । तर कसले कति रकम दिएको थियो र कति आफूलाई राखेर कति बाँडे भन्ने चाहिँ खुलाउँदिनन् ।

पुरुषलाई सबैभन्दा धेरै गाली गरेर आफूलाई अभियन्ता घोषणा गर्ने अर्की पात्र हुन्, सावित्री सुवेदी । २०७५ भदौ २ गते माइतीघर मण्डलामा पेटीकोट देखाएर चर्चामा आएकी उनी बेलाबेलामा विवादमा आइरहने गर्छिन् । बलात्कार आफैंमा क्षमायोग्य अपराध नभए पनि त्यसलाई उनी अतिरञ्‍जना गर्न रुचाउँछिन् ।

बलात्कारी पुरुषको लिंग काट्नुपर्छ भन्दै कानुनी राजलाई उनी सिधै चुनौती दिन्छिन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी लक्षित गरेर दिएको एक अव्यिक्तिलाई समाचार बनाएको कारण केही दिन अगाडि मात्र एक अनलाइन पोर्टल प्रेस काउन्सिलको कारबाहीमा पर्‍यो । आफूलाई अधिकारकर्मी समेत बताउने सुवेदीलाई देशका धेरै ठाउँहरुबाट ठगीका आरोपहरु लाग्‍ने गरेका छन् । आफ्नै परिवारविरुद्ध मुद्दा समेत हालेर ५ लाख लिएपछि परिवार छोडेको बताउने सुवेदीले विभिन्न महिलाका मुद्दा मिलाइदिन्छु भन्दै लाखौं रकम ठगेको र मिलाउने नाममा अनावश्यक दु:ख दिएर परिवारबीचको सम्बन्ध नै बिगार्दिने गरेको आरोप सुवेदीमाथि छ । 

यसरी युट्युबका माध्यमबाट सेलिब्रेटी बनाइएका पात्रहरु कुनै न कुनै रुपमा बदनाम भएका छन् । यो माध्यमबाट अभियन्ता, समाजसेवी, अधिकारकर्मी वा कलाकार जे बनाइए पनि ती व्यक्तिहरु साउनका खहरे हुन् । विदेशमा भएका मनकारी नेपालीहरुले पैसा नपठाइ दिने हो भने समाजसेवा त के यिनीहरुको चुल्हो पनि बल्दैन । युट्युबरले जसरी स्थापित गरे, त्योभन्दा पनि पत्तासाप गरिरहेको तथ्य यिनीहरुले बुझ्‍न सकेका छैनन् । यदि बुझ्‍न सकेका भए जवाफ मागौं न त अहिले कहाँ छिन् हेमा श्रेष्ठ ?  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here