युक्रेनका विभिन्न ठाउँमा भीषण सङ्घर्ष, पुटिनविरूद्ध अमेरिकी प्रतिबन्ध
१४ फागुन, काठमाडौं । रुसले आक्रमण गरेको तेस्रो दिन युक्रेनको राजधानी किएभमा विस्फोटन भएका विवरणहरू आइरहेका छन् भने युक्रेनका विभिन्न ठाउँमा भीषण सङ्घर्ष भइरहेको छ।
राजधानीमा मैदान स्क्वाएरनजिकै एउटा शक्तिशाली विस्फोटनको आवाज सुनिएको छ भने ट्रोइयस्चना क्षेत्रमा एउटाभन्दा बढी विस्फोटन भएका विवरण आएका छन्।
प्रत्यक्षदर्शीका अनुसार किएभमा गरिएका बमबारीको आवाज सहरको मध्यभागबाट कोसो टाढासम्म सुन्न सकिन्छ।
किएभ इन्डिपेन्डन्टका अनुसार सहरको चिडियाखाना र सुलियाभ्कानजिकै अवस्थित एउटा क्षेत्रबाट ५० वटाभन्दा बढी विस्फोटनहरू सुनिएको छ र मशीनगनबाट गोली प्रहार भइरहेेको सुनिन्छ।
फक्स न्यूजका एक संवाददाताका अनुसार राजधानीमा अहिले एकभन्दा बढी दिशाबाट आक्रमण भइरहेको छ।
ट्रोइयस्चना जिल्लाको सीएचपी-सिक्स ऊर्जा केन्द्रनजिकै लडाइँ भइरहेको युक्रेनी सेनाले जनाएको छ। सहरमा विद्युत् आपूर्ति बन्द गरिदिने उद्देश्यले उक्त आक्रमण गरिएको हुनसक्ने ठानिएको छ।
पिरिमोही एभिन्यूमा क्षतिग्रस्त गाडीसँग आगो बलिरहेका दृश्यहरू देखिएका छन्।भ्यासीलकिभनजिकै रहेको एउटा हवाईअड्डामा पनि भीषण सङ्घर्ष भएको विवरण आएको छ।
पाराट्रूपरहरूले उक्त क्षेत्रलाई किएभमा आक्रमण गर्न योजना बनाउने स्थलका रूपमा प्रयोग गर्न खोजिरहेको ठानिएको छ।
युक्रेनी सैनिकहरूले रुसीहरूलाई ब्ल्याक सीमा अवस्थित मिकोलिएभ सहरबाट पछाडि धकेलिदिएको दाबी गरेका छन्।
युक्रेनी सेनाले आफ्नो फेसबुक पेजमा शनिवार किएभस्थित सैनिक अड्डाले रुसी फौजको आक्रमणको आफूले प्रतिरोध गरेको जनाएको छ।
बीबीसीले पुष्टि गर्न नसकेको उक्त हमला पिरिमोही एभिन्यूमा भएको ठानिएको छ।
अमेरिकी अर्थमन्त्रालयले औपचारिक रूपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेइ लाभ्रोफविरुद्ध प्रतिबन्ध लगाएको छ। उसले लाभ्रोफलाई पुटिनका’प्रमुख प्रचारक’ भनेको छ।
विदेशी सरकार प्रमुखलाई अमेरिकाले प्रतिबन्ध लगाउनु दुर्लभ घटना हो र यो युरोपेली सङ्घ, यूके र क्यानडाले गरेका निर्णयपछि आएको छ।
प्रतिबन्ध सार्वजनिक गर्दै अमेरिकी अर्थ मन्त्रालयले भनेको छ, “राष्ट्रपति पुटिन किम जङ-अन, एलेक्सेन्डर लुकासेन्को र बसर अल असदजस्ता तानाशाह सम्मिलित एउटा सानो समूहमा परेका छन्।”
रुसी सुरक्षा परिषद्का अन्य सदस्यहरूमाथि पनि प्रतिबन्ध लगाइएको छ।
यसैबीच संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले शान्तिका लागि अर्को प्रयास गर्नुपर्ने बताएका छन्।युक्रेनमाथिको आफ्नो आक्रमणको निन्दा गर्ने एउटा प्रस्तावलाई राष्ट्रसङ्घको सुरक्षापरिषद्मा रुसले भिटो प्रयोग गरिदिएपछि उनी बोल्दै थिए।
भिटो शक्ति भएको रुस परिषद्को स्थायी सदस्य रहेकाले उक्त प्रस्ताव विफल हुने निश्चित थियो।
“राष्ट्रसङ्घ युद्धपछि लडाइँलाई अन्त्य गर्न जन्मिएको थियो। आज त्यो उद्देश्य हासिल भएन। तर हामीले प्रयास छाड्नु हुन्न। हामीले शान्तिका लागि अर्को प्रयास गर्नैपर्छ,” उनले ट्वीट गरेका छन्।
त्यसलगत्तै उनले युक्रेनमाथि आक्रमण गरेका रुसी फौजहरूलाई ब्यारेकमा फर्किन आग्रह गरेका थिए।
प्रतिक्रिया दिनुहोस्