यस्तो बन्यो गगनको पदाधिकारी टिम, देउवा समूह छाड्ने तीनजना मात्रै

नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा १९ सदस्यीय पदाधिकारीको टिम छानिएको छ। वरिष्ठ उपभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित हुँदा सभापति थापासहित १७ पदाधिकारी प्रतिस्पर्धाबाट छानिएका हुन्।

विशेष महाधिवेशनबाट सभापति चयन भएका थापा नियमित महाधिवेशनमा श्यामकृष्ण खड्कीलाई भारी मतान्तरले हराएर दोहोरिए। थापाले ६ हजार ५८४ मत पाउँदा खड्कीले ३७५ मत मात्र ल्याए। खुला उपसभापतिको दुई पदमा ७ जनाबिचको प्रतिस्पर्धा हुँदा डा  चन्द्रकान्त भण्डारी र मधु आचार्य निर्वाचित भए। 

frontline

भण्डारी र आचायसँग गोविन्द भट्टराई, सुरेन्द्रराज पाण्डे, धनराज गुरुङ, दीपक गिरी र डा चन्द्रमोहन यादव पराजित भए। समावेशी उपसभापतिमा ५ जनाबिचको प्रतिस्पर्धामा उद्योगपति विनोद चौधरी निर्वाचित भए। जीवन परियार, फरमुल्लाह मन्सुर, सीता गुरुङ र रञ्जित कर्णलाई हराएर चौधरी कांग्रेसको नेतृत्व तहमा पुग्न सफल भए। 

महामन्त्रीमा दुई खुला पदका लागि ८ जनाबिच प्रतिस्पर्धा हुँदा प्रदीप पौडेल र उदय शमशेर राणाले जित निकाले। उनीहरुका प्रत्यासी डा सुनिल शर्मा, गुरुराज घिमिरे, नैनसिंह महर, अमरसिंह पुन मगर, शंकर तिवारी र डा सन्तोष उपाध्याय थिए।

महिला महामन्त्रीमा ३ जनाबिचको प्रतिस्पर्धाबाट डा डिला सङ्ग्रौला निर्वाचित भइन्। महालक्ष्मी उपाध्याय (डिना) दोस्रो हुँदा रिता खनाल तेस्रो भइन्।

विभिन्न १० कलस्टरका ११ सहमहामन्त्री निर्वाचित भएका छन्। सहमहामन्त्री खुलातर्फ दुई पदका लागि भएको निर्वाचनमा ९ जनाबिच प्रतिस्पर्धा हुँदा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित भए। उनीहरूसँग डिल्लीराम सुवेदी, देवेन्द्रराज कण्डेल, राजीव ढुङ्गाना, विकास कोइराला, अमृतकुमार अर्याल, रमेशप्रसाद धमला र विमलराज क्षेत्री प्रतिस्पर्धामा थिए। सहमहामन्त्री खस–आर्यतर्फ मनोजमणि आचार्य निर्वाचत भएका छन्। उनले जगदिश्वर नरसिंह केसी दिनेश कोइराला र शुभराम बस्नेतलाई हराए। 

यस्तै सहमहामन्त्री थारुतर्फ योगेन्द्र चौधरी निर्वाचित भए। उनले तेजुलाल चौधरी र सुरेन्द्र चौधरीलाई पराजित गरे। सहमहामन्त्री मधेसीतर्फ ८ जना प्रतिस्पर्धीलाई पन्छाएर अजयकुमार चौरसिया निर्वाचित भए। चौरसीयासँग महेन्द्र यादव, अभिषेक प्रताप शाह, किरण यादव, राम पल्टन साह, नगिना यादव, मुक्ता कुमारी यादव, मनिष कुमार मिश्र पराजित भए। 

सहमहामन्त्री महिलातर्फ प्रतिमा गौतम निर्वाचित भइन्। नानु मैया बास्तोला गौतमसँग पराजित भइन्। यस्तै सहमहामन्त्री (आदिवासी जनजाति)  बहादुर सिंह लामा तामाङ निर्वाचित भए। उनले ओमबहादुर घर्ती मगर, तारामान गुरुङ, दिलमान पाख्रिन र प्रशान्त मान सिंह मास्केलाई पराजित गरे। यता सहमहामन्त्री दलिततर्फ ३ जनाबिच प्रतिस्पर्धा हुँदा प्रकाश रसाइली स्नेही विजयी भए। 

मानबहादुर नेपाली र नरेन्द्र पासवान क्रमशः दोस्रो र तेस्रो भए। सहमहामन्त्री पिछडिएको क्षेत्रतर्फ ५ जनाबिच प्रतिस्पर्धा हुँदा जीवनबहादुर शाही निर्वाचित भए। 

शाहीसँग जनकराज गिरी, नारायणप्रसाद भट्टराई, राजन कुँवर र रामबहादुर विष्ट पराजित भए। सहमहामन्त्री मुस्लिमतर्फ डा फिर्दोश आलमले बाजी मारे। अब्दुल सत्तार र अतहर कमाल मुसलमानलाई हराएर सांसद आलमले सहमहामन्त्रीमा जित हात निकाले। 

सहमहामन्त्री अल्पसंख्यक र अपांगतातर्फ आंगेलु शेर्पा निर्वाचित भएका छन्। नगेन्द्र कुमार कुमाल र बाबुकृष्ण सापकोटालाई हराएर शेर्पा सहमहामन्त्री बन्न सफल भए। 

देउवा समूह छोड्ने तीन जना मात्रै 

१९ जना पदाधिकारीमा १६ जना विशेष महाधिवेशन पक्षधर आएका छन्। विशेष महाधिवेशनमा सहभागी नभएका तीन जना मात्र निर्वाचित भए। जसमा सहमहामन्त्रीहरूमा खुलातर्फ खतिवडा, पिछडिएको क्षेत्रतर्फ शाही र मधेसतर्फ निर्वाचित चौरसिया छन्। चौरसियाले गत वैशाखमा कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूह छाडेका थिए भने खतिवडा र शाहीले यही असोज १ मा सो समूह छाडेका थिए।

बाँकी १६ पद मध्ये सभापति, वरिष्ठ उपसभापति, उपसभापति र महामन्त्री गरी ९ प्रमुख पदाधिकारीमा विशेष महाधिवेशन पक्षधरको एकलौटी रह्यो। विशेष महाधिवेशनेका विपक्षमा उभिएर विभिन्न चरणमा जोडिएका नेताहरू नियमित महाधिवेशनमा मुख्य पदाधिकारी पदमा पुग्न असफल रहे।

सभापतिमा गगन थापा दोहोरिए, विश्वप्रकाश शर्माका लागि वरिष्ठ उपसभापतिको नयाँ पद सिर्जना गरिँदा सर्वसम्मत भए। महिला उपसभापतिको पद पनि थपिँदा पुष्पा भुसाललाई चुनौती दिन कोही उभिएन। उपसभापतिको दुई खुला पदमा चन्द्रकान्त भण्डारी र मधु आचार्य तथा एक समावेशी पदमा विनोदकुमार चौधरी निर्वाचित भए।

आचार्य विशेष महाधिवेशनका लागि देशभर अभियानमा सक्रिय थिए। चौधरी पनि विशेष महाधिवेशनमा सहभागी थिए। महामन्त्रीको दुई खुला पदमा पनि विशेष पक्षधर प्रदीप पौडेल र उदयशमशेर राणा तथा एक महिला पदमा डिला संग्रौला निर्वाचित भए। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here