मोरङमा बाढीमा मृत्यु तथा बेपत्ता भएकाका परिवारलाई राहत

३ मंसिर, विराटनगर ।  बेमौसमको वर्षासँगै कात्तिक पहिलो साता आएको भीषण बाढीमा परेर मृत्यु तथा बेपत्ता भएकाका परिवारलाई मोरङमा राहत रकम दिन थालिएको छ। सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत राहत रकम उपलब्ध गराउन थालेको हो। 

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार बाढीले बबन्डर मच्चाउँदा मोरङमा २ जनाको मृत्यु भएको थियो भने २ जना अझैसम्म बेपत्ता छन्। विराटनगरमा बाढीमा परेर ज्यान गुमाएकाका परिवारलाई बुधबार २ लाख रूपैयाँ हस्तान्तरण गरिएको छ।  

frontline

विराटनगर महानगरपालिका–१२ का ३६ वर्षीय ईशान भुजेलको परिवारले राहत रकम पाएको हो। प्रजिअ दाहालले ईशानका बुवा इन्द्रबहादुर भुजेललाई २ लाख रूपैयाँको चेक हस्तान्तरण गरेका हुन्। विराटनगर–१२ स्थित वडा कार्यालयमा आफै पुगेर कार्यक्रमको आयोजना गर्दै दाहालले चेक हस्तान्तरण गरे। रकम हस्तान्तरण कार्यक्रममा मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसी, वडाध्यक्ष हिरालाल कामतसहित मृतकका परिवारका सदस्य, स्थानीय बासिन्दालगायतको उपस्थिति थियो। 

भीषण वर्षापछि कात्तिक १, २ र ३ गते आएको बाढीमा परेर मृत्यु र बेपत्ता भएकाका परिवारलाई सरकारले २ लाख रूपैयाँ राहत रकम उपलब्ध गराउने घोषणा गरिसकेको छ। बाढीमै ज्यान गुमाएका विराटनगर–१ का २१ वर्षीय सञ्जीव कामतको परिवारलाई पनि राहत रकम उपलब्ध गराउने तयारी भइरहेको छ। ‘आवश्यक प्रक्रिया पूरा गरेर कामतका परिवारलाई पनि रकम हस्तान्तरण गरिने छ,’ प्रजिअ दाहालले भने, ‘बाढीमा परेर बेपत्ता भएकाका परिवारलाई पनि राहत उपलब्ध गराउने तयारी छ।’ 

उनका अनुसार मोरङमा बाढीमा परेर सुन्दरहरैँचा नगरपालिका–५ का ४० वर्षीय राजकुमार राई र सुनसरीको इटहरी उपमहानगरपालिका–९ का ४४ वर्षीय जीवन पराजुली बेपत्ता भएका छन्। बेपत्ता भएकाका परिवारका सदस्यलाई पनि राहत रकम हस्तान्तरणका लागि आवश्यक प्रक्रिया सुरु गरिएको जानकारी प्रजिअ दाहालले दिए। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here