मेलम्ची-हेलम्बू क्षेत्रको पुनर्निर्माणमा सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

१ असार २०७८ मा आएको बाढीले ठूलो धनजनको क्षति पुर्याएर मेलम्ची र हेलम्बू क्षेत्रको पुनर्निर्माण अझै अघि बढेको छैन ।
Quick Summary
AI-generated by OK AI. Editorially reviewed.




- ऊर्जामन्त्री दीपक खड्काले मेलम्ची र हेलम्बू क्षेत्रमा बाढीले पुर्याएको क्षतिको पुनर्निर्माण र सिंचाइ व्यवस्थापनमा सरकार प्रतिबद्ध रहेको बताएका छन्।
- बाढी र पहिरोले क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण र स्थानीय तहको स्रोत–साधन अभावको समस्या समाधान गर्न सरकारले चाँडो पहल गर्ने वाचा गरेका छन्।
- स्थानीय जनता र नेताहरूको माग अनुसार, बाढी र पहिरोबाट प्रभावित क्षेत्रको पुनर्निर्माण र विकासमा सरकारले सक्रियता देखाएको छैन ।
२९ वैशाख, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बू क्षेत्रमा बाढीले पुर्याएरको क्षतिको पुनर्निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
मेलम्ची र हेलम्बू क्षेत्रको सोमबार स्थलगत अनुगमन गर्दै मन्त्री खड्काले बाढी प्रभावित क्षेत्रको पुननिर्माणमा सरकारले काम गर्ने बताए ।
उनले मेलम्ची र हेलम्बू क्षेत्रमा सिंचाइ व्यवस्थापन गर्न विशेष योजना अघि बढाउने घोषणा गरे । ‘बाढीपछिको हेलम्बू, मेलम्चीको पुनर्निर्माणको लागि म प्रतिबद्ध छु, यो ऐतिहासिक ठाउँको विकासमा सबै मिलेर अगाडी बढौं,’ उनले भने ।
ऊर्जामन्त्री खड्काले पहाडी क्षेत्रका उर्वर भूमिको सदुपयोग गर्न सिंचाइ व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको बताए । ‘सिन्धुपालचोक इन्द्रावती गाउँपालिका–भीमटारमा रहेका २२ वटा टारमा इन्द्रावती नदीको पानी ल्याएर सिंचाइका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार अघि बढाइनेछ,’ उनले भने ।
पहाड़ी क्षेत्रमा कृषिको उत्पादनलाई बढावा दिन सिंचाइ व्यवस्थापन एकदमै महत्वपूर्ण भएको उनको भनाइ थियो । ‘यस क्षेत्रको सिंचाइका हाम्रो मन्त्रालय सक्रिय छ र म व्यक्तिगत रूपमा यसमा सहयोग गर्न तयार छु,’ मन्त्री खड्काले भने ।
१ असार २०७८ मा आएको बाढीले मेलम्ची र हेलम्बू क्षेत्रमा ठूलो धनजनको क्षति पुर्याएरको थियो । हालसम्म पनि पुनर्निर्माण हुन सकेको छैन ।
कांग्रेस नेता एवम् उक्त क्षेत्रका सांसद मोहन बस्नेतको सक्रियतामा ऊर्जामन्त्री खड्का, राज्यमन्त्री खमबहादुर गर्बुजा, सिंचाइसचिव सरीता दवाडी, जलस्रोत तथा सिंचाइ विभागका महानिर्देशक सञ्जीव बरालगायतको टोलीले सोमबार स्थलगत निरीक्षण गरेको हो ।
निरीक्षणका क्रममा स्थानीयले बाढीपहिरोले पुगेको क्षतिको पुनर्निर्माण गर्न माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र बुझाए ।

उनीहरूले बाढीले पुर्याएरको क्षतिको पुनर्निर्माणमा स्थानीय तहको पर्याप्त स्रोत–साधन नहुँदा जनता मारमा परेको भन्दै चाँडो पुननिर्माण गरिदिन आग्रह गरेका छन् ।
सोही क्रममा मन्त्री खड्काले बाढी र पहिरोबाट क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका लागि पहल गरिने बताएका हुन् । ‘क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सरकारले प्राथमिकता दिनेछ, यसका लागि सम्बन्धित निकायसँग समन्वय गरेर चाँडो काम अघि बढाउनेछौं,’ उनले भने ।
ऊर्जामन्त्री दीपक खड्का |मेलम्ची–हेलम्बू क्षेत्र
प्रतिक्रिया दिनुहोस्