मेलम्चीले दिएको खुसी काठमाडौं

दुई वर्षदेखि पानी नआएको धारामा आइतबार दिउँसोदेखि लगातार पानी आउँदा अनामनगरकी गृहिणी गीता त्रिताल दंग छिन् । ट्यांकी भरिसक्यो, भर्नुपर्ने भाडाकुँडा भरिइसके । ‘कहिल्यै धाराबाट पुग्ने गरी पानी आएन, अहिले  त २४ घण्टा नै आइरहेको छ’, कलकल बगिरहेको धारा खोलेर देखाउँदै उनले भनिन्, ‘सधैं त पानी के आउला र, आइदिए त गज्जब हुन्थ्यो ।’

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले आइतबारदेखि मेलम्चीको पानी वितरण गर्न थालेको हो । महांकाल, मीनभवन, खुमलटार, मैतिदेवी र अनामनगर क्षेत्रबाट अहिले मेलम्चीको पानी वितरण भइरहेको छ । अनामनगरमा क्षेत्रमा भने पाइलट प्रोजेक्टका रुपमा चौबीसै घण्टा पानी पठाइएको छ ।पानीको अभावकै कारण शहरमा सास्ती भोगेकी उनी अब त्यो कम होला भन्ने आशामा छिन् । ‘पानी नआउने ठाउँ त बस्न नै गाह्रो हुन्छ,’ उनले भनिन्, ‘दुई वर्षसम्म धारामा पानी नखस्दा कम्ता सास्ती थिएन, अब त्यस्तो नहोला कि ?’

frontline

‘२०७१ सालमा घर बनाएदेखि कहिल्यै राम्रोसँग पानी आएन, महिनामा ४५ सय खर्च गरेर ट्यांकरबाट नमगाई सुखै थिएन,’ उनले पुराना दुःखका दिन सम्झिँदै भने, ‘हिजोबाट त पानी आएको आयै छ, सधैं पानी आयो भने त पानी किन्ने झन्झट पनि सकिन्थ्यो ।’स्थानीय नारायणप्रसाद राईको सोमबार दिउँसो ट्यांकी भरिएपछि पानी बन्द गर्न भुइँतलामा झर्दा केयूकेएलका सहजकर्ताहरूसँग भेट भयो । राईले मुस्कुराएर धन्यवाद दिए र मेलम्चीको पानी आएपछि मरुभूमिमा वर्षात् भएजस्तै लागेको सुनाए ।

उनले सरकारलाई धन्यवाद मात्रै भनेनन्, मेलम्ची काठमाडौं ल्याउने सपना देखेका पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईलाई पनि सम्झिए । ‘किसुनजीले परिकल्पना नगरेको भए आउँथ्यो कि आउँथेन’, पूर्व बेलायती लाहुरेसमेत रहेका राईले भने, ‘आउँछ–आउँछ भन्दाभन्दै बुढेसकाल लाग्यो, ढिलै भएपनि आफ्नै जीवनकालमा मेलम्चीको पानी पिउन पाइयो ।’

केयूकेएलका अनुसार अनामनगर क्षेत्र नयाँ वितरण लाइनअन्तर्गत जडान भएका ५१० धारामा आइतबारदेखि र करिब २ सय धारामा सोमबारदेखि २४ सै घण्टा पानी दिन थालिएको छ । नयाँ वितरण लाइनअन्तर्गत जडान भएका १६ सय धारामा २४ घण्टा नै पानी दिएर परीक्षण गरिने आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना प्रबन्धक रवीन्द्र पोखरेलले बताए ।

‘लगातार पानी पाउँदा उपभोक्ताले कसरी पानी उपयोग गर्छन् भन्ने पनि हेर्दैछौं,’ उनले भने, ‘क्रमैसँग अन्य क्षेत्रमा पनि नयाँ पाइपलाइनबाट पानी पठाएर परीक्षण गर्छौं ।’

प्रतिक्रिया दिनुहोस्

poster-here