मुस्ताङमा बालबालिकाले लगाए मोडर्ना खोप

५ पुस, जोमसोम ।  मुस्ताङमा सोमबारदेखि मोडर्ना खोप अभियान सुरु भएको छ । जिल्लाको तल्लो क्षेत्रमा बालबालिकालाई अमेरिकन कम्पनीको ‘मोडर्ना’ खोप अभियान सञ्चालन गरिएको हो।

उपल्लो मुस्ताङमा मौसम प्रतिकुल रहेको र स्थानीय बालबालिका बेसी झरिसकेकाले खोप कार्यक्रम सुरु गरिएको छैन ।

frontline

स्वास्थ्य कार्यालय मुस्ताङले पहिलो चरणअन्तर्गत मुस्ताङको घरपझोङ र थासाङ गाउँपालिकामा १२ देखि १८ वर्ष मुनिका बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप अभियान सुरु गरिएको जनाएको छ ।

पहिलो चरणअन्तर्गत मुस्ताङमा ७ सय डोज खोप आएको स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टिकाराम भण्डारीले जानकारी दिए ।

सरकारले विद्यालय जाने र विद्यालय नजाने सबै बालबालिकालाई लक्ष्यगरी पुस ४ गते देखि १४ गतेसम्म पहिलो चरण र माघ २ गतेदेखि १२ गतेसम्म दोस्रो चरणको मोडर्ना खोप लगाउने कार्यक्रम तय गरेको स्वास्थ्य प्रमुख भण्डारीले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यतालिका बमोजिम पहिलो चरणअन्तर्गत सोमबारदेखि बुधबार ३ दिनसम्म मुस्ताङमा कोरोनाविरुद्ध मोडर्ना खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य प्रमुख भण्डारीको भनाइ छ ।

स्वास्थ्य कार्यालय मुस्ताङका अनुसार पुस ५ गते सोमबार थासाङ गाउँपालिका-१ को टुकुचे स्वास्थ्य चौकी्र र थासाङ-३ को लेते प्राथमिक स्वास्थ्य केन्द्रमा वालवालिकालाई पहिलो चरणको मोडन खोप लगाईदै छ ।

यस्तै, पुस ६ गते सोही पालिकाको वडा-२ कोवाङ,वडा-४ घाँसा र वडा-५ कुञ्जो स्वास्थ्य चौकीमा वालवालिकालाई मोडर्ना खोप लगाउने कार्यतालिका रहेको छ ।

मुस्ताङ सदरमुकाम समेत रहेको घरपझोङ गाउँपालिकामा पुस ६ र ७ गते पहिलो चरणमा मोडर्ना खोप लगाउने तयारी भइरहेको स्वास्थ्य प्रमुख भण्डारीले जानकारी दिए ।

मुस्ताङको जिल्ला अस्पताल जोमसोमबाट घरपझोङ ठिनी,स्याङ र जोमसोमका वालवालिकालाई र दोश्रोदिन घरपझोङ-२ को मार्फा स्वास्थ्य चौकीबाट मार्फा,छैरो र चिमाङका बालबालिकालाई खोप लगाउने कार्यक्रम रहेको उनले उल्लेख गरे ।

सरकारले बालबालिकालाई लक्ष्य गरी कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गर्ने भनिएपनि उपल्लो मुस्ताङको लोमान्थाङ, लोघेरक दामोदरकुण्ड र मध्य मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा बालबालिकालाई खोप लगाउने कार्यतालिका नरहेको स्वास्थ्य प्रमुख भण्डारीले बताए ।

हिउँदयामसँगै उपल्लो मुस्ताङका स्थानीय बेसी झरिसकेको र त्यहाँका अधिकांश विद्यालय घुम्ती कक्षाका रुपमा बेसी झरिसकेकाले खोप कार्यक्रम नहुने स्वास्थ्य प्रमुख भण्डारीले जनाए ।

यस्तै, वारागुङ मुक्तिक्षेत्रमा पनि पहिलो चरणको खोप कार्यक्रम राख्न असमर्थ रहेको स्वास्थ्य प्रमुख भण्डारीको भनाइ छ ।स्वास्थ्य प्रमुख भण्डारीले भने,‘ चिसोका कारण ३ वटा पालिकामा यसपटक खोप कार्यक्रम राखिएको छैन ।

गर्मीयाम सुरु भएपछि विद्यार्थीमाथि उक्लिन्छन् ,त्यसपछि खोप कार्यक्रम सुरु गछौं ।’

लोमान्थाङ,लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्रका बालबालिकालाई चैत्र वा वैशाख महिनामा मोडर्ना खोप प्रदान गरिने उनले जानकारी दिए ।

मुस्ताङमा हिउँदयामसँगै चिसो अत्यधिक बढेकाले यहाँका विद्यालयले पुस १ गतेदेखि विद्यार्थीलाई दुई महिनाका लागि नियमित हिउँदे बिदा दिइसकेका छन्

।‘मुस्ताङमा सबै विद्यालय बन्द भइसकेको छ, उनले भने ,‘यसैले सम्बन्धित पालिकालाई मात्र सूचना गरी स्वास्थ्य केन्द्रबाट खोप दिने व्यवस्था मिलाएका छौं ।’

पहिलो चरणअन्तर्गत लगाइने कोरोनाविरुद्धको मोडर्ना खोप ९४ प्रतिशत प्रभावकारी रहेको स्वास्थ्य कार्यालय मुस्ताङको भनाइ छ ।

पहिलो चरणमा खोप लगाएका बालबालिकाले २८ दिनपछि दोस्रो मात्रा पूरा गर्नुपर्ने हुन्छ ।

यसअघि हिमाली जिल्ला मुस्ताङमा १८ वर्षदेखि माथि उमेर समूहका शतप्रतिशत नागरिकले कोरोना बिरुद्धको खोप लगाइसकेका छन् ।

उनीहरुलाई विभिन्न चरणमा कोभिसल्ड, भेरोसिल्ड र जोन्सन एण्ड जोन्सन खोप लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here