मिडियामा एआई प्रयोगबारे नेपाली विद्यार्थीलाई चीनमा प्रशिक्षण
त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका विद्यार्थीले चीनको सिचुआनमा एआई तथा डिजिटल सञ्चारसम्बन्धी साताव्यापी प्रशिक्षण तथा अध्ययन भ्रमण पूरा गरेका छन् ।

युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एन्ड टेक्नोलोजी अफ चाइना (युइएसटिसी)सँगको शैक्षिक सहकार्यअन्तर्गत भएको कार्यक्रममा सहभागीले समाचारकक्षमा एआईको प्रयोग, मानव-मेसिन सहकार्य, डिजिटल सामग्री उत्पादन, दृश्य कथा वाचन तथा मिथ्या र भ्रामक सूचना व्यवस्थापनबारे सैद्धान्तिक र व्यावहारिक ज्ञान हासिल गरेका थिए ।
भ्रमणका क्रममा सहभागीले सिचुआन न्यूजनेट ग्रुप, सिचुआन टिभी, छेंग्दु राष्ट्रिय सुपर कम्प्युटिङ केन्द्र, एआईजिसी कार्यशाला, भर्चुअल उत्पादन स्टुडियो तथा रोबोट पार्कलगायत संस्थाको अवलोकन गरेका थिए ।
कार्यक्रममा त्रिविसहित पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयका विद्यार्थी सहभागी थिए । त्रिविका उपप्राध्यापक डा ऋषिकेश दाहालले यस्ता शैक्षिक सहकार्यले नेपाली विद्यार्थीलाई सञ्चार प्रविधिमा भइरहेको परिवर्तन बुझ्न सहयोग पुग्ने बताए । युइएसटिसी र त्रिविबीचको चीन-नेपाल युवा शैक्षिक आदानप्रदान कार्यक्रमको यो दोस्रो वर्ष हो ।
नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई सरकारदेखि सरकारमात्र नभइ जनस्तरसम्म जोड्न विभिन्न गतिविधि हुँदै आएको र आगामी दिनमा पनि प्राज्ञिक क्षेत्रमा सहकार्य जारी रहने युइएसटिसीका प्राध्यापक चाङ स्युनले जानकारी दिए ।
कार्यक्रममा केन्द्रीय विभागका अनुषा काफ्ले, दीक्षा राई, मोनिका वाइबा, लक्ष्मण गिरी र प्रियङ्का सुनार सहभागी थिए । नेपाली टोलीको नेतृत्व केन्द्रीय विभागका उपप्राध्यापक डा ऋषिकेश दाहालले गरेका थिए ।
भ्रमणमा त्रिविबाट सात जना सहभागी थिए भने पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका दुई–दुई जनाको सहभागिता थियो । काठमाडौँ विश्वविद्यालयबाट एक जनाले सहभागिता जनाएका थिए ।
नेपाल–चीनबीच प्राज्ञिक सहकार्यले आगामी दिनमा पनि निरन्तरता पाउने केन्द्रीय विभागका डा दाहालले जानकारी दिए । पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख प्रा डा कुन्दन अर्यालले युइएसटिसीसँगको सहकार्यले निरन्तरता पाइरहँदा आगामी वर्षमा थप विद्यार्थीले अवसर पाउने बताए ।






प्रतिक्रिया दिनुहोस्