माधव नेपाल समूहलाई पद दिएर रिझाउँदै ओली
काठमाण्डु । नेकपा एमाले विभाजित बनेर नेकपा (एकीकृत समाजवादी) पार्टी बनेपछि नेताहरुपनि विभाजित बनेका छन् । माधवकुमार नेपालले आफू पक्षीय नेताहरुलाई नयाँ पार्टीमा समेट्ने प्रयास गरिरहेका छन् भने एमाले अध्यक्ष ओलीले नेताहरुलाई एमालेमै टिकाउन हरसम्भव प्रयास गरिरहेका छन् ।
एमालेमा छँदा माधव नेपालको समर्थन गर्दै ओलीको खुलेर विरोध गर्ने नेताहरु पनि अहिले एमालेमै रहेका छन् । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा ५५ केन्द्रीय सदस्य र ३० सांसदले सनाखत गरेका छन् ।
नेकपा (एकीकृत समाजवादी) पार्टीमा एमालेमा रहँदा नेपाल पक्षमा लागेका सबै नेताहरु आउने नेकपा (एकीकृत समाजवादी)का नेता मेटमणी चौधरीले बताए । उनले अहिले पार्टीलाई आकार दिनेगरी मात्र आफुहरु आएको बताउँदै केही समयभित्र सबै नेताहरु माधव नेपालतिर आउने विश्वास व्यक्त गरे ।
योगेश भन्छन्ः पार्टी फुटाउन हुन्न भनेका थियौँ
माधव नेपाललाई एमालेमा रहँदासम्म साथ दिएका योगेश भट्टराई, भीम रावल, घनश्याम भुषाल लगायतका नेताहरु एमालेमै बसेका छन् । माधव नेपालसंगै बाहिरिने अपेक्षा गरिएका नेताहरु अहिले एमाले अध्यक्ष ओलीको दायाँ वायाँ देखिन थालेका छन् ।
उनीहरुले पार्टी विभाजन गरेर अलग पार्टी बनाउन आफुहरुको समर्थन नरहने बताउँदै आएका छन् । एमाले सचिव समेत रहेका प्रवक्ता योगेश भट्टराईले पार्टी फुटाउनका लागी नभई एकजुट बनाउन आफुहरुले नेता नेपाललाई सहयोग गरेको बताए । आफुहरुले यसबारेमा नेता नेपाललाई पहिला नै स्पस्ट पारेको स्मरण गरे । नयाँ पार्टीमा जाने सम्भावना नरहेको नेता भट्टराईले स्पष्ट पारेका छन् ।
उनले भने, ‘कमरेड माधव नेपालसँग पटक–पटक हामीले यो कुरा भन्दै आयौँ कि पार्टीभित्रका विमतिमा बहस गर्ने, पार्टी अध्यक्षका कार्यशैलीसँग विमति राख्न, बहस गर्न सबै हाम्रा बीचमा मत मिल्छन् । सँगै जान सकिन्छ । तर, पार्टी विभाजन गरेर अलग पार्टी बनाउने सम्बन्धमा हामी तपाईँसँग साथमा हुँदैनौँ । यो कुरा माधव कमरेडहरूलाई हामीले स्पष्टसँग भन्दै आएका हौँ ।’
नेपाल समूहलाई पद दिएर रिझाउँदै ओली
लामो समयसम्म २ जेठ २०७५ मा फर्कन राजी नभएका ओली माधव नेपालले एमाले छाडेसंगै एकाएक पुरानै कमिटीमा फर्कन तयार देखिए । माधव नेपालको पछाडी लागेका नेताहरुलाई रोक्ने रणनीति बनाएका ओलीले नेता नेपालले दल दर्ता गर्ने दिनमै एमाले पुरानै अवस्थामा फर्किएको घोषणामात्र गरेनन् ।
त्यसको झल्को दिनेगरी पत्रकार सम्मेलन समेत गरेका छन् । केन्द्रसंगै प्रदेशका नेताहरु रोक्न ओलीले नेपाल पक्षमा लागेकाहरुलाई रोक्न हदसम्मको कसरत गरेका छन् । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी चौधरीलाई हटाएर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाएका छन् ।
यसअघि मुख्यमन्त्री अष्टलक्षमी शाक्यलाइृ बनाउने भन्दा वरियता मिचेर नै आफु निकट पौडेललाई ओलीले मुख्यमन्त्री बनाएका थिए । यता ओलीका विश्वास पात्र शेरधन राईलाई पनि प्रदेश एक को मुख्यमन्त्रीबाट राजिनामा दिन लगाएर नेपाल पक्षमा खुलेर लागेका भिम आचार्यलाई मुख्यमन्त्री बनाइएको छ ।ओलीले नेपाल पक्षमा जानबाट रोक्न मुख्यमन्त्रीको जाल फालेको विश्लेषण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्