माग घटेसंगै काठमाण्डौ उपत्यकामा तरकारीको मुल्यमा गिरावट

फ्रन्टलाइन काठमाडौँ । काठमाण्डौ उपत्यकामा तरकारीको भाउ घटेको छ । उत्पादन बढ्नुको साथै निषेधाज्ञाको कारण माग पनि घट्दा तरकारीको भाउ घटेको हो । सबैजसो तरकारीको भाउ घटेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति श्रोतले जनाएको छ ।

अहिले धेरैजसो तरकारीको भाउ पाँचदेखि १० प्रतिशतसम्म घटेको छ भने केही तरकारीको भाउ निकै घटेको छ । १५ दिनअघि किलोको ८० देखि एक सय २० रुपैयाँसम्म रहेको सिमीको भाउ अहिले सिमीको प्रकार अनुसार २५ देखि ७० रुपैयाँँमा झरेको छ ।

frontline

घिरौँला ४० रुपैयाँँबाट घटेर २५ रुपैयाँँ खुद्रा मूल्यमा कारोबार भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । एक सय ५० देखि तीनसय रुपैयाँसम्म रहेको च्याउको मूल्य घटेर अहिले एक सयदेखि दुई सय २० रुपैयाँमा झरेको छ । यस्तै आलुको पनि मूल्य घटेको छ । अहिले कालीमाटी तरकारी बजारमा दैनिक ५ देखि ६ सय टन तरकारी भित्रिने गरेको छ ।

सामान्य समयमा दैनिक सातदेखि नौ सय टनसम्म तरकारी खपत हुने गरेको थियो । कोरोना सङ्क्रमणबाट जोगिन बिहान नौ बजेसम्म कारोबार गरिसक्नुपर्ने हुँदा खपत कमजोर भएको छ। कालीमाटीमा धादिङ, काभ्रे, मकवानपुर लगायत छिमेकी र तराईका जिल्लाबाट तरकारी भित्रिने गरेको छ ।

माग घटेर मूल्य घटे पनि बजारमा अहिलेसम्म तरकारी खेर जाने अवस्था भने नरहेको समितिले जनाएको छ । तर बर्खे तरकारीको सिजन सुरु भएकाले उत्पादन बढी हुने र खपत कम हुने हुँदा तरकारी कुहिएर जाने चिन्ता किसानलाई छ । फलफूलको भाउ भने खासै कम भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here