माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

४ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ। पदाधिकारी टुङ्ग्याउनको लागि पेरिसडाँडामा बैठक सुरु भएको हो। 

पदाधिकारी छनोटका लागि पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बैठक बसेको थियो। तर पद बाँडफाँटमा सहमति नजुटेपछि अध्यक्ष प्रचण्डले पदाधिकारीको नाम घोषणा गर्न सकेनन्।  

frontline

सहमतिमै पदाधिकारी चयन गर्न प्रचण्डले प्रयास गरेका छन्। प्रचण्डले उपाध्यक्षमा दिनानाथ शर्मा, कृष्णबहादुर महरा, गणेश साह, पम्फा भुसाल र हरिबोल गजुरेलको सूची बनाएका छन्। महासचिवमा देव गुरुङलाई प्रस्ताव गर्ने तयारीमा प्रचण्ड छन्। 

उपमहासचिवमा वर्षमान पुन, जनार्दन शर्मा र गिरिराजमणि पोखरेलको सूची तयार भएको छ। तर, महासचिवमा वर्षमान र जनार्दनको दाबी कायमै रहेको नेताहरूले बताए।

केही नेताहरूले एक जना वरिष्ठ उपाध्यक्ष र एक जना उपाध्यक्ष बनाएर उपमहासचिवको पद बढाउनुपर्ने सुझाव दाहाललाई दिएका छन्। प्रचण्डले नारायणकाजी श्रेष्ठलाई वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिइसकेका छन्। 

१ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव, ५ सचिव, १ कोषाध्यक्षसहित १५ देखि २१ सदस्य पदाधिकारी चयन गर्ने तयारी छ।  

गत पुसको दोस्रो साता माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सम्पन्न भएको थियो। महाधिवेशनले १५ सदस्यीय पदाधिकारी हुने व्यवस्था गर्‍यो। तर पार्टीको सर्वोच्च निकाय महाधिवेशनलाई पदाधिकारी चयन गर्न दिइएन।

केन्द्रीय कमिटी सदस्यको नामलाई अनुमोदन गर्दै महाधिवेशन अन्त्य भएको थियो। त्यसरी बनेको केन्द्रीय कमिटीले प्रचण्डलाई पार्टी अध्यक्षमा चुन्यो। तर, ९ महिना बित्दा पनि अरू पदाधिकारी भने चयन भएनन्।   

महाधिवेशन भएको लामो समयसम्म पनि अध्यक्ष प्रचण्डले एकल रूपमा पार्टीको नेतृत्व हाँके। मुख्यगरी, महासचिवमा नेताहरूको हानथाप भएको बहानामा प्रचण्डले अरू पदाधिकारी चयन गरेनन्।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको घोषणापछि फेरि प्रचण्डले पदाधिकारी घोषणा गर्ने तयारी गरेका छन्। तर, अहिले पनि ‘कहिले के त कहिले के’ बहाना बनाएर पदाधिकारी घोषणा गरेका छैनन्। केन्द्रीय पदाधिकारीका पद खाली छन्।

नेताहरू जिम्मेवारीविहीन छन्। पार्टी अस्तव्यस्त छ। प्रदेश तहका नेताहरूको पार्टीले व्यवस्थापन नहुँदा पार्टी छोड्नेहरूको लहर नै चलेको माओवादीका नेताहरू बताउँछन्।   

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here