माओवादीद्वारा ८ बुँदे सर्कुलर, नेताहरूलाई जिम्मेवारीदेखि विद्यार्थी नेताको एक तह बढुवा स्थगितसम्म

काठमाडौँ । नेकपा माओवादी केन्द्रले मातहतका कमिटीमा ८ बुँदे सर्कुलर गरेको छ । चैत्र १८ र १९ गते अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको पार्टी केन्द्रीय कार्यालय (पदाधिकारी) को निर्णयअनुसार मातहतका कमिटीमा आइतबार ८ बुँदे सर्कुलर पठाइएको हो ।
अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङद्वारा हस्ताक्षरित सर्कुलरमा अध्यक्ष प्रचण्डबाट वर्तमान परिस्थितिको संक्षिप्त संश्लेषण गरेको गरेको विषय उल्लेख छ ।




माओवादीको निष्कर्ष : सरकारको नालायकीपनले गम्भीर चुनौती
यस्तै हालका लागि प्रदेशमा सह–इन्चार्जहरूको पद नराख्ने, सह–इन्चार्ज रहेकाहरूलाई प्रदेश समन्वय कार्यालयको सदस्यमा निरन्तर कायम राख्ने सर्कुलरमा उल्लेख छ । यस्तै सप्तरी जिल्ला इन्चार्जमा स्थायी समिति सदस्य विश्वनाथ साह, महोत्तरी इन्चार्जमा प्रकाश पोखरेल, बाजुरा इन्चार्जमा मनलाल खत्री (मिलन) र जाजरकोट इन्चार्जमा गणेश प्रसाद सिंहलाई तोक्ने निर्णय भएको सर्कुलरमा उल्लेख छ ।
यसैगरी पार्टी एकता प्रक्रियासँग जोडिएका नेताहरूको जिम्मेवारी निश्चित पनि गरिएको छ । जसअनुसार कोशी प्रदेशबाट जयराज संयोजक लिम्बू र प्रवीण चाम्लिङलाई वैकल्पिक केन्द्रीय सदस्य, मधेस प्रदेशबाट लक्ष्मी चौधरी (ज्योति)लाई केन्द्रीय सदस्य र प्रमोद साहलाई वैकल्पिक केन्द्रीय सदस्य बनाउने निर्णय भएको छ ।
यसैगरी बागमती प्रदेशबाट नवीन रिमाल र अर्जुन योगीलाई वैकल्पिक केन्द्रीय सदस्य, कर्णाली प्रदेशबाट तर्कबहादुर शाहीलाई केन्द्रीय सदस्य तथा भिमबहादुर मल्ल (सुवास) लाई वैकल्पिक केन्द्रीय सदस्य बनाउने निर्णय माओवादीले गरेको छ ।
यस्तै ‘विशिष्ट अवस्था’ भन्दै पूर्णसिँ राजवंशी केन्द्रीय सदस्य तथा पि.यल. श्रेष्ठ र हरिस ठकुल्ला वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । यस्तै नन्दबहादुर पुन (पासाङ) लाई पार्टी केन्द्रीय सदस्य र स्थायी समिति सदस्यमा मनोनयन गर्नुका साथै केन्द्रीय उपाध्यक्षको जिम्मेवारी निश्चित गरिएको सर्कुलरमा उल्लेख छ ।
पूर्वउपराष्ट्रपति पासाङलाई माओवादीले बनायो उपाध्यक्ष
यसैगरी विगतमा विद्यार्थी सम्बन्धी कार्यदलको सिफारिसको आधारमा उनीहरूको एक तह बढुवाको सिफारिसलाई स्थगित गरी स्थानान्तरणको सिफारिसलाई स्वीकार गरिएको सर्कुलरमा उल्लेख छ ।
‘उहाँँहरु विगतमा जुन तहमा रहँदै आउनु भएको थियो सम्बन्धित क्षेत्रको सोही तहका पार्टी कमिटीहरूमा संगठित गर्ने निश्चित गरिएको छ’, सर्कुलरमा भनिएको छ । यसैगरी केहीलाई केन्द्रीय प्रतिनिधि बनाइएकोमा त्यसको कार्य अवधि गत केन्द्रीय समितिको बैठकसम्म रहेको उल्लेख छ । जसअनुसार विद्यार्थी संगठनको जिम्मेवारीबाट पार्टी राजनीतिमा प्रवेश गरेकाहरूको बढुवा रोकिएको छ ।
यस्तै विभागहरूको बैठक बसी सबै विभागहरूलाई क्रियाशील गराउने, विभागहरूको सदस्यहरूमा थपघट गर्नुपर्दा सम्बन्धित विभागीय प्रमुखको सिफारिसमा केन्द्रीय कार्यालयले निर्णय गर्ने पनि सर्कुलरमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्