महेन्द्रपुल गरिमा विकास बैंक अगाडिको सडक भासियो
सोमबार, पोखरा । कास्कीको पोखरास्थित महेन्द्रपुल सेलवेज गेटको पारी, गरिमा विकास बैंक अगाडिको सडक भासिएर भ्वाङ परेको छ ।
पोखरामा पानी परिरहेका बखत जमिन भासिएर भ्वाङ परेको हो । भ्वाङमा एउटा बिजुलीको पोल पनि परेको छ ।
नालाको मुख, पालिखे चोक हुँदै पानी पर्दा खोलाजस्तै भेल महेन्द्रपुलमै आइपुग्छ । त्यो भलले सडकसमेत भत्काउने गरेको छ ।
आइतबार राति भ्वाङ नै परेपछि महेन्द्रपुल क्षेत्रका मानिस त्रसित बनेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालका अनुसार पानीको भल त्यही भ्वाङबाट छिर्दा जोखिम बढेको छ ।
‘पानी परिरहेको छ र पानीको भल त्यसैबाट छिरिरहँदा अझै भासिने र महेन्द्रपुल क्षेत्रमा क्षति पुग्ने हो कि भन्ने डर छ’ उनले भने ।
अहिले भल तर्काउने र ढुंगा ल्याएर भ्वाङ पुर्ने काम जारी रहेको तर पानीले अवरोध गरिरहेको उनले बताए ।
पोखरामा बेला मौकामा यस्ता भ्वाङ देखिने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्