मरिण गाउँपालिका : एफआरएमा नेपालकै पहिलो, लिजामा बागमतीकै प्रथम
‘सुशासन र समयको सही व्यवस्थापनमा ध्यान दिँदै काम गरियो भने राम्रो रिजल्ट आउँछ । वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा देशकै टपर र स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन बागमती प्रदेश प्रथम भएको छ । यसले खुसीसँगै थप जिम्मेवारीबोध गराएको छ । जनप्रतिनिधि र कर्मचारीको एकीकृत प्रयासबाट सफल भएको हो ।’ मरिण गाउँपालिका अध्यक्ष विमर्स मोक्तान भन्छन्, ‘नतिजाले धेरै खुशी बनाएको छ ।’
मरिण गाउँपालिका स्थानीय तहको वित्तीय सुशासन जोखिम मूल्याङ्कन(एफआरए)मा देशकै प्रथम भएपछि गाउँपालिका अध्यक्षले खुशी भएको प्रतिक्रिया दिए । आर्थिक वर्ष २०७९/०८० को स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा मरिणले देश भरका ७५३ स्थानीय तह मध्येमा ९७.५ प्रतिशत अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गर्न सफल भएको उनले बताए ।
मूल्याङ्कनमा ५ वटा क्षेत्रलाई आधार मानी नम्बर प्रदान गरिने स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्यविधि, २०७७ मा उल्लेख छ । योजना कार्यक्रम तथा बजेट व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन मूल्याङ्कन तथा लेखापरीक्षण र राजस्व व्यवस्थापनलाई आधार मानी मूल्याङ्कन गर्ने गरिन्छ ।
त्यस्तै, मरिण गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)मा बागमती प्रदेशकै प्रथम भएको छ । ९४ दशमलव ७५ अंकका साथ स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा प्रथम भएको गाउँपालिका अध्यक्ष मोक्तानले बताए । लिजामा मरिण गाउँपालिका देशभरमा आठौं भएको गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्