मन्त्री हटाउनुअघि प्रधानमन्त्री कार्यालयमा ग्यास उद्योगीसँग भएको त्यो छलफल
बुधबार दिउँसो उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले प्रतिनिधिसभाको उद्योग समितिमा उद्योगीलाई पाता कस्नुपर्ने अभिव्यक्ति दिएपछि एलपी ग्यास उद्योगीहरू रिसले आगो भएका थिए।
त्यति मात्रै होइन, उद्योगमन्त्रीले ग्यास उद्योगको लाइसेन्स समेत खारेज गर्नुपर्ने भनेकी थिइन्।
संसदीय समितिमा यादवले दिएको अभिव्यक्तिको भिडिओ सञ्चारमाध्यममा आएपछि नेपाल एलपी ग्यास उद्योग संघमा आबद्ध उद्योगीहरूले सोही भिडिओ प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालय सदस्यलाई फरवार्ड गरे र भने, ‘यस्तो अपमानित भएर हामी व्यवसाय गर्न सक्दैनौँ। ग्यास आपूर्ति नियमित हुन सक्दैन।’
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, नीति प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल, स्वकीय उपसचिव विशाल अधिकारी लगायतलाई उद्योगीहरूले मन्त्रीले बोलेको भिडिओ फरवार्ड गरेर आपत्ति व्यक्त गरेका थिए।
प्रतिनिधिसभाको उद्योग समितिको छलफलमा यादवले भनेकी थिइन्, ‘५८ वटा ग्यास उद्योग किन चाहियो? करोडौँ रुपैयाँ लिएर लाइसेन्स दिएको छ, उद्योगीहरूलाई पाता नफर्काएसम्म ग्यास सहज हुँदैन।’
उद्योगीहरूले भनेका थिए, ‘ग्यास आपूर्तिमा हामीले सकेको प्रयास गरेका छौँ। मन्त्रीको अभिव्यक्तिले अपमानित महसुस गरेका छौँ। यसरी अपमानित भएर व्यवसाय गर्न सकिँदैन।’
उद्योगीलाई मात्रै होइन, उनले कर्मचारीलाई पनि दोष लगाउँदै आफ्नो अक्षमता लुकाउने प्रयास गरेकी थिइन्।
उनले भनेकी थिइन्ु, ‘देश कर्मचारीतन्त्रले चलाएको छ। यस्तो बलियो सरकार हुँदा त कर्मचारीले केही गर्न दिँदैनन् भने अरू सरकारले के गर्न सक्थे? कर्मचारीले यति दुःख दिएका छन्, म केही गर्न सक्दिनँ। यहाँभन्दा बढी गर्न सक्दिनँ भनेर सिधै जवाफ फर्काउँछन्। उद्योगधन्दा खोल्ने वातावरण बनाउनुपर्छ। उद्योगीको फेवरमा नियम–कानुन बनाइएको छ। धेरै चेन्ज गर्न खोजिरहेकी छु, तर गर्न सकिरहेको छैन।’
मन्त्रीको यस्तो अभिव्यक्तिको भिडिओ उद्योगीले पठाउन थालेपछि प्रधानमन्त्री कार्यालयले एलपी ग्यास उद्योग संघका अध्यक्ष दीवान बहादुर चन्द, पूर्वअध्यक्ष शिवप्रसाद घिमिरे र पूर्वअध्यक्ष एवं सल्लाहकार गोकुल भण्डारीलाई छलफलका लागि बोलायो।
साँझ करिब ५ बजे उनीहरू सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका थिए। प्रधानमन्त्रीको सचिवालयसँग उनीहरुले सोही कुरा दोहोर्याए।
एलपी ग्यास उद्योगी र प्रधानमन्त्रीको सचिवालयका बीचमा करिब साढे २ घण्टा छलफल भएको उद्योगीहरुले बताए।
त्यहाँ उनीहरुले उद्योगमन्त्री यादवले समितिमा दिएको अभिव्यक्ति फिर्ता लिएर माफी माग्नुपर्ने अड्डी कसेका थिए।
ती उद्योगीले भने, ‘मन्त्रीको अभिव्यक्ति ठीक छैन। उहाँलाई ग्यास होइन, ताली चाहिएको रहेछ। त्यसकै लागि बोल्नुभयो। उहाँको अभिव्यक्ति फिर्ता लिनुपर्छ र सार्वजनिक रुपमा क्षमायाचना गर्नुपर्छ भनेका थियौँ।’
त्यति मात्रै होइन, उद्योगीहरुले खाना पकाउने ग्यासको सहज आपूर्तिका लागि विभिन्न उपायका बारेमा उद्योगमन्त्रीसँग पटक पटक छलफल भएको तर समस्या समाधानका ध्यान नदिएको गुनासो पनि त्यो छलफलमा सुनाए।
पछिल्लो समय काठमाठौंमा खाना पकाउने ग्यास अभाव हुनुको मुख्य कारण कृष्णभीरमा बाटो बगेका कारण पृथ्वी राजमार्ग अवरूद्ध हुनु नै हो।
कृष्णभीरमा पहिरो गएर बाटो अवरुद्ध भएकै दिन भदौ १४ गते ग्यास उद्योगीहरू उद्योग मन्त्रालयमा पुगेर ग्यासको सहज आपूर्तिबारे उद्योगमन्त्रीसँग छलफल गरेका थिए।
लाइफलाइन मानिएको पृथ्वी राजमार्ग अवरुद्ध भएपछि उद्योगले काठमाडौं ग्यास ल्याउन नसक्ने र त्यसको विकल्प खोज्नुपर्ने भन्दै उद्योगीहरुले मन्त्री यादवसँग छलफल गरेका थिए






प्रतिक्रिया दिनुहोस्