मच्छिन्द्रलाई पराजित गर्दै पुलिसले जित्यो जितपुरसिमरा गोल्डकप

नेपाल पुलिस क्लबले १४औँ जितपुरसिमरा गोल्डकपको उपाधि जितेको छ। सिमरा रंगशालामा सोमबार राति सम्पन्न प्रतिस्पर्धात्मक खेलमा मच्छिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै पुलिसले पहिलो पटक जितपुरसिमरा गोल्डकपको उपाधि जितेको हो।

निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा पुलिसले जित निकालेको हो। प्रशिक्षक चेतन घिमिरेले टाइब्रेकरलाई लक्षित गरी अतिरिक्त समयको अन्तिममा मैदान पठाएका गोलरक्षक अमित टमाटा पुलिसको जितमा नायक बने। अमितले मच्छिन्द्रका दुई प्रहार रोकेपछि पुलिस उपाधि उचाल्न सफल भयो।
मच्छिन्द्रका लागि विशाल तामाङ, सनिश श्रेष्ठ र दिवाकर चौधरीले गोल गर्दा सौरभ लिम्बु र चन्दन दासको प्रहार पुलिसका गोलरक्षकले सेभ गरेका थिए। पुलिसका लागि कप्तान रामचन्द्र वाजे, पूजन राई, सुजन मगर र आशिष राईले गोल गरे।

frontline

यसअघि भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले निकै आकर्षक अवसरहरू सिर्जना गरे पनि गोल हुन सकेको थिएन। मच्छिन्द्र निर्धारित समयको अन्त्य तिर ९ खेलाडीमा सीमित बनेको थियो। उत्सव राई ८४औँ मिनटमा रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिएका थिए भने खेलको ८८ औँ मिनटमा मनिष डाँगी दोहोरो पहेँलो कार्डको सामना गर्दै मैदानबाट बाहिरिए। ९ खेलाडीमा सीमित भए पनि मच्छिन्द्रले अतिरिक्त समयको खेलमा पुलिसलाई दबाबमा राखेको थियो।

पुलिसका गोलरक्षक अमित टमाटा फाइनल खेलको प्लेयर अफ दी म्याच घोषित भए। उनले १० हजार नगदसहित ट्रफी प्राप्त गरे। पुलिसकै सञ्चित श्रेष्ठ उत्कृष्ट गोलरक्षक घोषित भए। उनले २५ हजार नगदसहित ट्रफी प्राप्त गरे। पुलिसका उज्ज्वल राई र वीरगन्ज युनाइटेड क्लबका फागुराम चौधरी समान २ गोलका साथ प्रतियोगिताको उच्च गोलकर्ता बने। उनीहरूले २५ हजार नगदसहित ट्रफी प्राप्त गरे।

आयोजक नव जनजागृति युवा क्लब सिमराका प्रज्वल थापामगरले इमर्जिङ प्लेयर अफ दी टुर्नामेन्टको ट्रफीसहित १५ हजार प्राप्त गरे। प्रतियोगिताको फेयर प्लेको ट्रफी आयोजक टोलीले नै प्राप्त गर्‍यो।

मच्छिन्द्रका विमल घर्तीमगर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले टीभीएस स्कुटर प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here