भारत र अस्ट्रेलिया च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा खेल्ने

१८ फागुन, काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको समूह ए को अन्तिम खेल सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।
सेमिफाइनलमा भारतको भेट अस्ट्रलियासँग हुनेछ भने न्युजिल्याण्डले दक्षिण अफ्रिकासँग खेल्ने छ । भारत समूह ए को विजेता तथा अस्ट्रेलिया समूह बी को उपविजेताका रूपमा सेमिफाइनल खेल्ने छन् ।




त्यस्तै न्युजिल्याण्ड समूह ए को उपविजेता र दक्षिण अफ्रिका समूह बी को विजेताका रूपमा सेमिफाइनल खेल्ने पक्का भएको छ ।
पहिलो सेमिफाइनल भारत र अस्ट्रेलियाको बीचमा मंगलबार दुबईमा हुनेछ भने दोस्रो सेमिफाइनल बुधबार न्युजिल्याण्ड र दक्षिण अफ्रिकाको बीचमा पाकिस्तानको लाहोरमा हुनेछ ।
दोस्रो सेमिफाइनलका लागि न्युजिल्याण्ड र दक्षिण अफ्रिका अब पाकिस्तान फर्कने छन् ।
वरुणको ५ विकेटमा भारतले न्युजिल्याण्डलाई हरायो
भारतले आइतबार न्युजिल्याण्डलाई ४४ रनले हरायो । भारतले दिएको २५० रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड ४५.३ ओभरमा २०५ रनमा अलआउट भयो । केन विलियमसनले सर्वाधिक ८१ रन बनाएपनि पर्याप्त हुन सकेन ।
भारतका वरुण चक्रवर्तीले १० ओभरमा ५२ रन दिएर ५ विकेट लिए । कूलदीप यादवले २ तथा हार्दिक पान्ड्या, अक्षर पटेल र रविन्द्र जडेजाले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाएर २४९ रन बनाएको थियो । श्रेयस अय्यरले सर्वाधिक ७९ रन बनाएका थिए । हार्दिक पान्ड्याले ४५ रन तथा अक्षर पटेलले ४२ रन बनाए ।
न्युजिल्याण्डका म्याट हेनरीले ८ ओभरमा ४२ रन दिएर ५ विकेट लिए । काइल जेमिसन, विलियम ओरोर्की, मिचेल सान्टनर र रचिन रविन्द्रले १-१ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्